गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको मान्यता, ‘रुख’ चिह्न र झण्डा गगन पक्षकै

1.6k
Shares

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता विवाद टुङ्ग्याएको छ । आयोगले विशेष महाधिवेशनबाट सभापति चयन गगनकुमार थापा नेतृत्वको पक्षलाई आधिकारिकता प्रदान गरेको हो।

आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम विवरण अद्यावधिक गरेको छ ।

आयोगको यो निर्णयसँगै नेपाली कांग्रेसको आधिकारिक चुनाव चिह्न ‘रुख’ र ‘चारतारे झण्डा’ प्रयोग गर्ने वैधानिक अधिकार अब गगन थापा नेतृत्वको कार्यसमितिले पाएको छ ।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा निर्वाचित गरेको थियो । सोही महाधिवेशनको निर्णयअनुसार विवरण अद्यावधिक गर्न सभापति थापासहितका पदाधिकारीहरूले बिहीबार निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

यद्यपि, पार्टीभित्रको आन्तरिक विवादका बीच पूर्णबहादुर खड्का पक्षका नेताहरूले शुक्रबार बिहान आयोग पुगेर आफूहरू नै आधिकारिक भएको दाबी गर्दै निवेदन दिएका थिए । दुवै पक्षको दाबी परेपछि आयोगले नवनिर्वाचित पदाधिकारीहरूलाई छलफलका लागि बोलाएको थियो ।