
काठमाडौं । बौद्ध धर्मको प्रमुख विशेषता भनेकै त्याग र वैराग्य हो । सम्पूर्ण प्राणीमाथि करुणा राख्ने शिक्षा यसले दिन्छ । तर, कतिपय बौद्ध धर्मावलम्बी मुलुकहरूमा अहिले यो उग्रराष्ट्रवादको माध्यम बन्दै गएको दाबी गर्दै सोनिया फालेरोले सन् २०२५ मा ‘द रोब एन्ड द सोर्डः हाउ बुद्धिस्ट एक्सट्रिमिजम इज शेपिङ मोडर्न एसिया’ शीर्षकको पुस्तक प्रकाशन गरेकी छन् ।
कोलम्बिया ग्लोबल रिपोट्र्सद्वारा प्रकाशित यस पुस्तकले श्रीलंका, म्यान्मार र थाइल्यान्डमा बौद्ध धर्मलाई धर्मगुरुहरूले कसरी राजनीतिक शक्ति सुदृढ गर्न तथा अल्पसंख्यकहरूलाई सीमान्तीकृत गर्न उपयोग गरिरहेका छन् भन्ने कुरा उजागर गर्छ ।
फालेरोले पत्रकारिताको खोजमूलक बिटलाई अँगाल्दै तीन देशको भ्रमण गरी वस्तुगत यथार्थ बुझ्ने प्रयास गरेकी छन् । बौद्ध पहिचानका ऐतिहासिक र पौराणिक जरोबाट उनी पुस्तकको आरम्भ गर्छिन् । उनले भगवान् बुद्धको मध्यमार्ग अर्थात् विलासिता र अभावबीचको बाटोबाट अहिले देखिएका बौद्ध आन्दोलनहरू तर्फको दुःखद रूपान्तरणलाई पछ्याएकी छन् । तीन देशका प्रभावशाली बौद्ध धर्मगुरुहरूले आध्यात्मिक निर्वाण भन्दा पनि सांसारिक प्रभुत्वलाई अँगालिरहेको देखिन्छ ।
श्रीलंकामा फालेरोले गालागोदा अत्थे ज्ञानसार नामक बौद्ध धर्मगुरुको नेतृत्वमा रहेको बोदु बाला सेना (बीबीएस) को उदयको समीक्षा गरेकी छन् । उनले गेहान गुनतिल्लेकेद्वारा रचित शब्द सिंहली–बौद्ध अधिकारबोधको जटिलताबारे चर्चा गरेकी छन् । त्यसले श्रीलंका बुद्ध स्वयंले आशीर्वाद दिएको धर्मद्वीप हो भन्ने विश्वासलाई जनाउँछ ।
छैटौं शताब्दीको ‘महावंश’ नामक इतिहासग्रन्थले सुदृढ बनाएको यस कथनले ऐतिहासिक रूपमा तमिल हिन्दु र पछिल्ला दिनमा मुस्लिम अल्पसंख्यकलाई आगन्तुक भन्ने गरेको छ । आगन्तुकको त्यस खतरनाक भाष्यले अन्य धर्मका मानिसलाई बाह्यकरण गर्छ ।
फालेरोले सन् २०१४ मा अलुथगामा नामक स्थानमा भएको दंगालाई त्यस बाह्यकरणको खतरनाक उदाहरणका रूपमा प्रस्तुत गरेकी छन् । त्यहाँ धर्मगुरु ज्ञानसारको उत्तेजक भाषणले भीडलाई मुसलमानहरूको घर र व्यवसाय जलाउन उक्साएको थियो । पहेंलो वस्त्रधारी बौद्ध धर्मगुरुहरू श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजापक्षे जस्ता राष्ट्रवादी राजनीतिकर्मीहरूको संरक्षणमा दण्डहीनताका साथ उग्र बन्दै गएका छन् भन्ने विषयमा फालेरोले भयावह चित्र प्रस्तुत गरेकी छन् ।
पुस्तकको दोस्रो भाग म्यान्मारमा केन्द्रित छ । टाइम पत्रिकाले सन् २०१३ मा बौद्ध आतंकको अनुहार भनी प्रस्तुत गरेका अशिन विराथु म्यान्मारको बौद्ध उग्रवादका मुख्य पात्र हुन् ।
फालेरोले विराथुको ९६९ आन्दोलन र त्यसको उत्तराधिकारी मा बा था ले फैलाएको यौन रणनीति षड्यन्त्रको विवरण दिएकी छन् । मुस्लिम पुरुषहरूले बौद्ध महिलालाई फसाएर जनसांख्यिक परिवर्तन गराउन खोज्दैछन् भनी विराथुले दाबी गर्ने गरेका छन् । त्यही भाषणले रोहिंग्याको नरसंहार र विस्थापनका लागि वैचारिक आधार बनाएको फालेरो दाबी गर्छिन् । रोहिंग्यालाई टिक्न नदिनका लागि ‘स्कोर्च्ड अर्थ’ अभियान चलाएर सात लाखभन्दा बढी मानिसको विस्थापन गरिएको आँकडालाई फालेरोले प्रस्तुत गरेकी छन् । (त्यही विषयमा द गाम्बियाले अन्तर्राष्ट्रिय न्याय अदालतमा दायर गरेको मुद्दामा हाल सुनुवाइ चलिरहेको छ र म्यान्मारले प्रतिरक्षा गरिरहेको छ ।)
महत्त्वपूर्ण रूपमा, फालेरोले म्यान्मारमा यस्ता उग्रवादी पात्रहरूको विपरीत चरित्र भएका एबट जिरोलाई प्रस्तुत गरेकी छन् । उनी विराथुका पूर्व समर्थक र असन्तुष्ट भिक्षु हुन् । उनी नरसंहारका बेला संघ (अर्थात्, मठीय व्यवस्था) को नैतिक असफलता देखेपछि हिंसाविरुद्ध उभिन थालेका थिए । बाल्यकालमा मुसलमानहरूलाई कालार र बंगाली भन्दै गरिने गालीहरूलाई पत्याउने गाउँले केटा एबट जिरो पछि गएर सेनाले गरेको मानवअधिकार उल्लंघनको अभिलेखन गर्न कैदको जोखिम उठाउने अभियन्ता बनेको जीवनयात्रालाई फालेरोले समेटेकी छन् । यसक्रममा आफ्नो आलोचना बौद्ध धर्मप्रति नभई तरवार लुकाउनका लागि गेरुवा वस्त्र दुरुपयोग गर्नेहरूप्रति लक्षित रहेको फालेरो स्पष्ट पार्छिन् ।
थाइल्यान्डमा राष्ट्र, धर्म र राजतन्त्रको सञ्जालका विषयमा फालेरोले चर्चा गरेकी छन् । त्यहाँ फालेरोले श्रीलंका र म्यान्मारको भन्दा फरक किसिमको समस्या देखाएकी छन् । त्यहाँ राजनीतिक स्वायत्तता खोसिएको तर व्यावसायीकरण र भ्रष्टाचारमा फसेका धर्मगुरुहरूको विकृत तस्बिर प्रस्तुत भएको छ ।
उनले बैंकक बाहिर रहेको वाट फ्रा धम्मकाया अभियानको मुख्यालय भ्रमणको वर्णन गरेकी छन् । त्यसलाई विशाल सुनौलो गुम्बज आन्दोलनका रूपमा चिनिन्छ । आस्थावानहरूलाई दान दिन लगाउने र त्यसो गर्दा सम्पत्ति प्राप्त हुने वाचा गर्ने धनलोलुप पन्थ भनेर पुस्तकमा आलोचना गरिएको छ ।
पुस्तक पढ्दै जाँदा फालेरो बौद्धहरूप्रति पूर्वाग्रही छिन् र उनीहरूलाई अपमान गर्ने उद्देश्य राख्छिन् कि जस्तो लाग्छ । बौद्ध धर्म उग्रवादीहरूको कब्जामा परेको तस्बिर प्रस्तुत गरेर त्यस धर्मप्रति वितृष्णा फैलाउने एजेन्डाका साथ फालेरोले यो पुस्तक लेखेको हो कि भन्ने आभास पनि पाठकलाई हुन्छ
यसको ठीक विपरीत शान्ति अशोक पन्थ छ । त्यसले उपभोक्तावाद र पुँजीवादलाई अस्वीकार गर्दै वानप्रस्थमा आधारित जीवनशैली अपनाउने गरेको छ । फालेरोले बैंककको सुदूर कुनामा रहेको शान्ति अशोक मन्दिर परिसरको भ्रमणको वर्णन पनि गरेकी छन् ।
फालेरोले थाइल्यान्डमा विद्यमान लेसे–मजेस्टे कानुनको पनि चर्चा गरेकी छन् । त्यस कानुनअनुसार, राजा वा राजपरिवारको आलोचना फौजदारी अपराध हो । सहारत सुखामला जस्ता लोकतन्त्रका पक्षमा बोल्ने भिक्षुहरू कैद गरिएको र वस्त्र त्याग गर्न लगाइएको कटुसत्यलाई उनले उजागर गरेकी छन् । राज्य शक्तिप्रति भिक्षुहरूको आत्मसमर्पणको विषयलाई यहाँ खुलस्त रूपमा चर्चा गरिएको छ । राजतन्त्रको वैधता मजबुत पार्ने शर्तमा भिक्षु वर्गलाई कर छुट र निःशुल्क स्वास्थ्य सेवा जस्ता सुविधा दिइएको छ र कतिपय भिक्षुले त्यसको दुरुपयोग गरेर विलासी जीवनशैली अपनाइरहेका छन् ।
उपनिवेशकालीन नीतिहरूको दीर्घकालीन प्रभाव पुस्तकको केन्द्रीय विषय हो । भारत, सिलोन र बर्मामा ब्रिटिश उपनिवेश शासनले जातीय मर्यादाक्रम र जनगणनामार्फत धार्मिक विभाजनलाई गहिरो बनाएको फालेरोको तर्क छ । श्रीलंकामा अमेरिकी मूलका हेनरी स्टिल ओल्कटका शिष्य अनागारिक धर्मपालाले क्रिस्चियन मिशनरी प्रभावको प्रतिक्रियामा बौद्ध धर्मलाई सिंहली पहिचानको केन्द्रमा राखेका थिए । यो रक्षात्मक राष्ट्रवाद कालान्तरमा आक्रामक बहुसंख्यकवाद बन्दै गयो । भिक्षुहरूले विदेशी प्रदूषणबाट धर्मलाई जोगाउनका लागि हिंसाको औचित्यलाई पुष्टि गर्न थाले ।
फालेरोले पुस्तकमा थेरवाद परम्पराभित्रको पितृसत्तात्मक संरचनाको गहिरो आलोचना गरेकी छन् । उनी श्रीलंकामा भिक्षुणीहरूलाई महिला परिचयपत्र नदिने जस्ता प्रणालीगत अधिकार उल्लंनलाई उजागर गर्छिन् । त्यस्तो परिचयपत्रको अभावमा भिक्षुणीहरूलाई मतदान वा स्वास्थ्य सेवाबाट वञ्चित गर्छ ।
थाइल्यान्डमा फालेरोले शताब्दियौंपछि पूर्ण दीक्षा प्राप्त गर्ने पहिलो महिला भिक्षुणी धम्मानन्दासँग अन्तर्वार्ता लिएकी छन् । धम्मानन्दाले पुरुषप्रधान संघ परिषद्को निरन्तर प्रतिरोध झेलिरहेकी छन् । उनले बौद्ध धर्म पितृसत्तात्मक छैन तर यसले पितृसत्तालाई समर्थन गर्छ भनी टिप्पणी गरेकी छन् । धार्मिक संस्थाहरू विशुद्ध आध्यात्मिक भन्दा पनि शक्ति–राजनीतिको पकडमा परेको फालेरोको तर्कलाई धम्मानन्दाको भनाइले प्रमाणित गर्छ ।
पुस्तक पढ्दै जाँदा फालेरो बौद्धहरूप्रति पूर्वाग्रही छिन् र उनीहरूलाई अपमान गर्ने उद्देश्य राख्छिन् कि जस्तो लाग्छ । बौद्ध धर्म उग्रवादीहरूको कब्जामा परेको तस्बिर प्रस्तुत गरेर त्यस धर्मप्रति वितृष्णा फैलाउने एजेन्डाका साथ फालेरोले यो पुस्तक लेखेको हो कि भन्ने आभास पनि पाठकलाई हुन्छ ।
त्यसका अतिरिक्त, तीनवटा देशमा नजानिँदो गरी बढेको इस्लामी अतिवादलाई फालेरोले पूरै बेवास्ता गरेको अनुभव हुन्छ । सन् २०१९ मा ईस्टर सन्डेको दिन आतंकवादी समूह आईसिससँग आबद्ध स्थानीय अतिवादीहरूले शृंखलाबद्ध बम विस्फोट गरी २६० भन्दा बढी मानिसको हत्या गरेको घटनालाई फालेरोले उल्लेखै गरेकी छैनन् । थाइल्यान्डको दक्षिणी भागमा बेग्लै पटानी राज्य माग्ने मुस्लिम पृथक्तवादीहरूको आन्दोलनका बारेमा सामान्य चर्चा गरेकी फालेरोले त्यहाँको मले राष्ट्रवादी भावनालाई जिहादसँग जोड्ने बारिसान रिभोलुसी नेसनाल जस्ता लडाकु समूहको कुरै गरेकी छैनन् ।
तर, पुस्तकलाई मसिनो गरी अध्ययन गर्दा फालेरोको सूक्ष्म दृष्टिकोण उजागर हुन्छ । फालेरोले भारतको हिमाचल प्रदेशमा रहेको धर्मशालामा र विभिन्न बौद्ध तीर्थस्थलमा अनुभव गरेको दीर्घ शान्तिलाई स्पष्ट रूपमा स्वीकार गरेकी छन् । उनी नेपालका कुङ फु ननहरू र शिक्षा तथा वातावरणवादलाई प्रगतिका रूपमा हेर्ने तेन्जिन कुन्सेल जस्ता अभियन्तालाई सम्मानका साथ पुस्तकमा प्रस्तुत गर्छिन् ।
यसका साथै, फालेरोले उग्रवादका आलोचक बौद्धहरूको भनाइलाई पुस्तकमा स्थान दिएकी छन् । उनले गेसे लाकडोरलाई उद्धृत गरेकी छन् जसले मार्टिन लुथर किङ जुनियरलाई स्मरण गर्दै उग्रवादको सामना गर्दा देखिने बहुसंख्यकको मौनतामाथि शोक व्यक्त गरेका छन् ।
श्रीलंकाकी मुस्लिम शिक्षिका फजिना फिहार वा म्यान्मारका इमाम सोए ने ओ जस्ता पीडितहरूको कथामा केन्द्रित हुँदै फालेरोले धर्मलाई हतियार बनाउँदा निम्तिएको मानवीय संकटलाई अभिलेखीकरण गरेकी हुन् । उनको परियोजनालाई धार्मिक राष्ट्रवादको आलोचनाका रूपमा बुझ्नुपर्छ ।
कथात्मक शैलीमा विषयवस्तुलाई प्रस्तुत गर्नु फालेरोको सबलता हो । उनी कोरा ऐतिहासिक विवरणभन्दा अघि बढेर पाठकलाई भिक्षुहरूको सोच र दंगापीडितहरूको वेदनाको तस्बिर देखाउँछिन् । धरातलीय यथार्थमा आधारित यस विवरणले पाठकलाई विश्वस्त तुल्याउँछ ।








प्रतिक्रिया