कांग्रेस आधिकारिकता विवाद: आयोग पुगे देउवा पक्षका नेता


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले निर्वाचन आयोग घेराउ गरेका छन् ।

विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति चयन भएपछि दबाबमा परेको देउवा समूह पार्टीको वैधानिकता सुनिश्चित गर्न शुक्रबार बिहान कान्तिपथस्थित निर्वाचन आयोग पुगेको हो ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, बिमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जीतजंग बस्नेतलगायत तरुण दलका नेताहरू सहभागी छन् ।

गगन–विश्व समूहले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसभित्र आधिकारिकताको विषय पेचिलो बनेको छ। यसै सन्दर्भमा देउवा समूहले आयोगमार्फत आफ्नो पक्षलाई वैधानिक मान्यता दिलाउन पहल गरिरहेको छ ।

यसअघि, विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका गगन थापाको पक्षले बिहीबार निर्वाचन आयोगमा आधिकारिकता माग्दै निवेदन दर्ता गरिसकेको छ । पार्टीको आधिकारिकताका लागि दुवै पक्षले आयोगमा दबाब बढाएका छन्।