
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनको मनोनयन समयसीमा नजिकिएकाले पार्टीको विवरण चाँडो अध्यावधिक गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।
बिहीबार दिउँसो सभापति थापा नेतृत्वको टोली निर्वाचन आयोग पुगेर कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई विशेष महाधिवेशनपछि भएका राजनीतिक र संगठनात्मक घटनाक्रमको विवरण बुझाएको हो । उनले माघ ६ गते प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै त्यसलाई ख्याल गरी शीघ्र निर्णय गर्न अनुरोध गरिएको बताए ।
‘माघ ६ गते निर्वाचनका लागि मनोनयन दर्ता गर्नुपर्ने समयसीमा छ । त्यसलाई मध्यनजर गर्दै छिटो निर्णय गर्न अनुरोध गर्यौं,’ थापाले भने, ‘यसले पार्टीभित्र र बाहिर देखिएको दुविधा हटाउन पनि मद्दत पुग्छ ।’
सभापति थापाका अनुसार पार्टीको केन्द्रीय समिति परिमार्जन भएको पुष्टि गर्ने तथ्य, प्रमाण र आवश्यक कागजात आयोगमा बुझाइएको छ । वरिष्ठ अधिवक्ता हरिहर दाहालसहित कानुनविज्ञहरूको टोलीले आयोगका पदाधिकारीसँग छलफलसमेत गरेको उनले जानकारी दिए ।
यसअघि सभापति थापाको नेतृत्वमा ललितपुरको कुपन्डोलमा कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक बसेको थियो । बैठकले निर्वाचन आयोगमा सभापति, पदाधिकारी तथा केन्द्रीय समितिको विवरण हस्ताक्षरसहित अध्यावधिक गराउने निर्णय गरेको थियो ।
उक्त निर्णयअनुसार प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवारको मनोनयन–पत्रमा प्रयोग हुने आधिकारिक हस्ताक्षर परिवर्तन गर्न आयोगमा निवेदन दिइएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले अब उम्मेदवारको मनोनयन पत्र तत्कालीन सभापति शेरबहादुर देउवाको सट्टा सभापति गगनकुमार थापाको हस्ताक्षरबाट जारी हुने स्पष्ट पारेको छ ।
यसअघि भने शेरबहादुर देउवाको हस्ताक्षर मात्र मान्य हुने गरी आयोगमा निवेदन परेको थियो, जसकै आधारमा आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची र राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको नाम स्वीकार गरिसकेको थियो ।
विशेष महाधिवेशनपछि नयाँ नेतृत्व आएको भन्दै थापा नेतृत्वको कांग्रेसले आफूहरू आधिकारिक रहेको दाबी गर्दै पार्टीको अध्यावधिक विवरण निर्वाचन आयोगमा औपचारिक रूपमा बुझाएको हो । आयोगको तर्फबाट भने तत्काल कुनै निर्णय सार्वजनिक गरिएको छैन ।








प्रतिक्रिया