तेस्रो पटक फुट्यो कांग्रेस, चारतारे झण्डा र रुख लिएर को बन्ला ‘असली’ कांग्रेस ?


काठमाडौं । ८ दशक लामो इतिहास बोकेको मुलुककै पुरानो दल नेपाली कांग्रेस पुनः एकपटक विभाजित भएको छ । संस्थापन पक्ष र रूपान्तरण पक्षबीचको लामो रस्साकस्सीले अन्ततः पार्टीलाई दुई टुक्रा पारेको हो ।

सभापति शेरबहादुर देउवा पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेपछि बीपी कोइरालाले स्थापना गरेको ‘रुख’ चिह्न अंकित पार्टी औपचारिकरुपमा विभाजित भएको हो ।

चुनावमा नयाँ नेतृत्व लिएर जान खोज्दा विभाजित

विवादको चुरो जेनजी आन्दोलन हो भन्दा फरक पर्दैन । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि कांग्रेसमा नयाँ नेतृत्वको बहस सुरू भएको थियो ।

नगरिकले दलहरूमा लामोसमयदेखि नेतृत्वमा रहेकामाथि असन्तुष्टि पोखेकाले देउवा पार्टीबाट बिदा हुनुपर्ने माग महामन्त्रीद्वय पक्षको थियो । केन्द्रीय समितिबाट विशेष महाधिवेशनको निर्णय गराउन नसकेका महामन्त्रीले विशेष महाधिवेशन सुरु गरेपछि कांग्रेस आधिकारिक रुपमा फुटमा पुगेको हो ।

पार्टी विधानको धारा १७(२) लाई आधार मान्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित महामन्त्रीद्वयले भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु गरेपछि देउवा पक्षले त्यसलाई ‘अवैध’ ठहर गरेको छ ।

जवाफमा देउवा नेतृत्वको केन्द्रीय समितिले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा विद्रोही नेताहरूलाई ५ वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको छ । संस्थापन पक्षले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका रहेकाले अहिलेको भेलालाई विधान विपरीतको गतिविधि भनेको छ ।

विवादको समाधान अब कानुनी लडाइँ

अबको लडाइँ राजनीतिकभन्दा बढी कानुनी हुने देखिएको छ । गगन-विश्व पक्षले विधानको धारा २२ लाई मुख्य अस्त्र बनाएका छन्, जसले महाधिवेशनलाई ‘सर्वोच्च र सार्वभौम’ अङ्ग मान्दछ ।

उनीहरूको तर्क छ, जब ५४ प्रतिशत प्रतिनिधि सडकमा उत्रिन्छन्, तब ‘अधीनस्थ’ केन्द्रीय समितिले उनीहरूलाई रोक्न मिल्दैन । अर्कोतर्फ, देउवा पक्षले पार्टीको आधिकारिक छाप र केन्द्रीय समितिको बहुमतलाई आफ्नो वैधानिकताको आधार बनाएको छ।

अब यसको निर्क्यौल गर्ने काम निर्वाचन आयोगको टाउकोमा पुगेको छ । निर्वाचनमा केन्द्रित हुनुपर्ने आयोगले अब देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विभाजनको आधिकारिकतामा केन्द्रित हुनु पर्ने भएको छ ।

कारबाहीपछि भृकुटीमण्डमा प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले आफूहरुले आयोगमा पत्र पठाइसकेको र कांग्रेसको चारतारे झन्डा र रुख चुनाव चिह्न कसैले लैजान नसक्ने दाबी गरे पनि त्यो त्यति सहज भने छैन ।

आयोगमा देउवा पक्षले पनि पार्टीले विशेष महाधिवेशन नगरेको भन्दै त्यसलाई अस्वीकार गर्दै आयोगमा पत्र पठाइसकेको छ ।

गन समूहले राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार ‘अभिलेख अद्यावधिक’ गर्न माग गरेको छ भने देउवा पक्षले दफा ४४ अनुसार आधिकारिकताको मुद्दा अघि सारेको छ। आयोगले अब विवाद हुनुअघिको केन्द्रीय समिति र दलको समग्र संरचनालाई हेरेर निर्णय दिनुपर्ने चुनौती छ ।

संकटमा आयोग, को बन्ला असली कांग्रेस ?

चुनाव आउन अब ५० दिन मात्र बाँकी रहँदा निर्वाचन आयोग निर्वाचन लक्षित गतिविधिमा व्यस्त हुनुपर्ने अवस्था छ । तर आयोगलाई अर्को संकट आइपरेको छ ।

निर्वाचनको मुखैमा भएको यो विभाजनले निर्वाचन आयोगलाई ठूलो अन्योलमा पारेको छ । आगामी माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने कार्यतालिका छ । यदि त्यसअघि आयोगले कुनै एक पक्षलाई आधिकारिकता दिएन भने देशभरका १६५ निर्वाचन क्षेत्रमा कांग्रेसका दुईवटा मनोनयन दर्ता हुने जोखिम छ ।

समानुपातिकतर्फका मतपत्र छापिसकिएको अवस्थामा यो विवादले प्राविधिक जटिलता थपेको छ । आयोगका पदाधिकारीहरू अहिले दलको विधान र कानुनको छिद्रहरू अध्ययन गरिरहेका छन्, तर समयको दबाबले उनीहरूलाई ‘रनभुल्ल’ बनाउने निश्चित छ । अब ‘असली कांग्रेस’ कसले पाउँछ र ‘रुख’ चिह्न कसको हुन्छ भन्ने फैसला निर्वाचन आयोगको इजलास र सम्भवतः सर्वोच्च अदालतको फैसलामा निर्भर रहनेछ।

कांग्रेसमा इतिहासको पुनरावृत्ति: विभाजनमा देउवा साइनो

कांग्रेसको इतिहासमा यो तेस्रो फुट हो । रोचक कुरा के छ भने, पछिल्ला दुई विभाजनमा शेरबहादुर देउवा नै यसका मुख्य पात्र बनेका छन् । अर्थात भनौ दुई पटकको कांग्रेस विभाजनको ‘कलंक’को टीका देउवाले बोकेका छन् ।

२०१० सालमा बीपी र मातृकाप्रसाद कोइरालाको टकरावले कांग्रेसमा पहिलो फुट ल्याएको थियो । २०५९ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको विवादपछि प्रधानमन्त्रीमा बहाल रहेका देउवा आफैँले पार्टी फुटाका थिए । फुटेको पार्टीको नाम ‘नेपाली कांग्रेस (प्रजातान्त्रिक)’ राखिएको थियो ।

त्यतिबेलै देखि पार्टी र सरकारको सत्तामा बारम्बार रहँदै आएका देउवाले जेनजीको मागको वेवास्ता गर्दै कार्यवाहक दिइसकेको पार्टीमा फेरि सक्रियता बढाउँदै आउँदा युवा पुस्ताको विद्रोह बीच पार्टी विभाजित भएको हो ।

भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनको प्रक्रिया जारी छ भने बूढानीलकण्ठमा कारबाहीको पत्र तयार भइरहेको छ ।

कांग्रेसको चारतारे झण्डामा गोलबद्ध भएका आम कार्यकर्ता भने यतिबेला अलमलमा छन्। चुनावको मुखमा भएको विभाजनले आधिकारिकता पाउने कांग्रेसको अवस्था अवस्य कमजोर हुने कुराले उनीहरू चिन्तित देखिएका छन् । अब असली कांग्रेसको बन्छ भन्ने चासो कांग्रेसी कार्यकर्तासहित राजनीतिप्रति चासो हुनेहरूमा देखिएको छ ।