
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८औँ वार्षिक साधारणसभा कम्पनी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ।
सभामा अध्यक्ष प्रेमा सिंहले समीक्षा वर्ष आर्थिक वर्ष २०८१/८२ को आर्थिक अवस्था, विश्व अर्थतन्त्र र नेपालको आर्थिक वृद्धिदरबारे जानकारी दिँदै विविध चुनौतीका बाबजुद विश्व अर्थतन्त्र लचिलो स्थितिमा रहेको र कोभिड महामारी तथा भूराजनीतिक कारणले बढेको मुद्रास्फीतिको अवस्था घट्दै गएको उल्लेख गरिन्।
उनले नेपालमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक वृद्धि दर ४।६१ प्रतिशत रहे पनि आगामी वर्ष बढ्दो राजनीतिक र सामाजिक अनिश्चितताका कारण वृद्धिदरमा संकुचन आउन सक्ने सम्भावना रहेको बताइन्।
कम्पनीको व्यापार समीक्षा वर्षमा सन्तोषजनक रहेको छ। कम्पनीको कूल बीमाशुल्क १०.२६ प्रतिशतले वृद्धि भई २,२५९.३७ करोड पुगेको छ। समीक्षा वर्षको संचालनबाट जम्मा रु। १,४९८।५९ करोड बीमा करार दायित्वमा सारिएको र कूल बीमा करार दायित्व १८.८३ प्रतिशतले वृद्धि भई वर्षान्तमा रु. ९,४५८।७७ करोड पुगेको छ।
यसैगरी कम्पनीले मृत्यु दाबी, अवधि समाप्ति एवं आंशिक अवधि समाप्ति दाबी, सर्मपण मूल्य र अन्य दाबीमा रु। ९४८।६५ करोड भुक्तानी गरेको छ।
कम्पनीले आफ्ना लगानी योग्य रकम नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार अधिकतम दीर्घकालीन र सुरक्षित लगानीमा लगानी गर्दै आएको छ। समीक्षा वर्षमा कूल लगानी ११.०४ प्रतिशतले वृद्धि भई ७,७९०.२० करोड पुगेको छ। लगानीमा वार्षिक औसत प्रतिफल दर ८.७६ प्रतिशत कायम रहेको छ।
कम्पनीले आफ्नो लगानी विविधिकरणतर्फ पनि कदम चाल्दै हिमालयन बैंक लिमिटेडमा १३।६१ प्रतिशत सेयर स्वामित्व हासिल गरेको छ। साथै कम्पनीको सहायक कम्पनी नेशनल क्यापिटल लिमिटेडले आवश्यक अनुमति प्राप्त गरी सञ्चालनमा आएको र पहिलो पटक ७ प्रतिशत नगद लाभांश वितरण गरेको छ।
कम्पनीले इटहरी शाखाका लागि नयाँ आधुनिक व्यावसायिक भवन निर्माण, प्रविधि मैत्रीकरण र कर्मचारी प्रशिक्षणमा पनि लगानी गरिरहेको छ।








प्रतिक्रिया