
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले देशैभर आफ्नो विद्युतीय सवारी साधन (ईभी) को पूर्वाधार र सेवा केन्द्रहरूको सञ्जाललाई व्यापक रूपमा विस्तार गरेको छ ।
ईभी प्रयोगकर्ताहरूलाई सहज, झन्झटमुक्त र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले आफ्नो संरचनामा उल्लेख्य वृद्धि गरेको हो ।
हाल सिप्रदीको सञ्जालमा नेपालभर १८५ भन्दा बढी चार्जिङ स्टेशनहरू सञ्चालनमा आइसकेको कम्पनीले जनाएको छ ।
यसले लामो दूरीको यात्रा गर्ने ईभी चालकहरूलाई चार्जिङको समस्याबाट मुक्त गराउने कम्पनीको विश्वास छ । यसका साथै, ईभीकै लागि मात्र समर्पित १६ भन्दा बढी विशेष सेवा केन्द्रहरूमार्फत कम्पनीले ग्राहकहरूलाई गुणस्तरीय मर्मत सम्भारको सुविधा दिँदै आएको जनाएको छ ।
प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै सिप्रदीले एउटा ‘ब्याट्री डायग्नोस्टिक एन्ड रेस्टोरेशन’ सुविधा समेत सञ्चालनमा ल्याएको छ । यस सुविधाले ईभीको मुख्य हिस्सा मानिने ब्याट्रीको अवस्था सुक्ष्म रूपमा जाँच गर्ने र आवश्यकता अनुसार पुनः मर्मत गरी ब्याट्रीको आयु र कार्यक्षमता बढाउन मद्दत पुर्याउँछ ।
‘एक्सचेन्ज क्याम्प’हरूमा सवारी साधन बुकिङ गर्ने ग्राहकहरूले सिप्रदीको नेटवर्कमा आजीवन निःशुल्क चार्जिङको सुविधा पाउने कम्पनीले जनाएको छ । यो योजनाले ईभी खरिद गर्न चाहनेहरूलाई थप प्रोत्साहित गर्ने कम्पनीको अपेक्षा छ ।
नेपालमा विद्युतीय सवारीको इकोसिस्टम निर्माणमा अग्रणी भूमिका खेलिरहेको सिप्रदीले आगामी दिनमा पनि चार्जिङ सञ्जाल र सेवा केन्द्रहरूलाई अझै विस्तार गर्दै लैजाने लक्ष्य राखेको छ ।








प्रतिक्रिया