एनजीसीसीआईले लगानी बोर्डमा पेस गर्‍यो नेपालमा मल कारखाना स्थापना गर्ने प्रस्ताव


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपाली उत्पादनहरूले गुणस्तरका आधारमा विश्वास जितेको बताएका छन् ।

नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) को ३० औँ तथा ३१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री सिन्हाले नेपाल र जर्मनीबीचको दीर्घकालीन व्यवसायिक साझेदारीलाई थप सुदृढ बनाउँदै ‘पिपुल टु पिपुल कनेक्सन’ लाई अझ प्रभावकारी रूपमा अघि बढाउन आवश्यक रहेको बताए ।

मन्त्री सिन्हाले स्वदेश तथा युरोपेली मुलुकहरूमा व्यापार, लगानी, आर्थिक सम्बन्ध प्रवर्द्धन, व्यापार मेला आयोजना तथा नेपाली उद्यमीहरूलाई नवीन सोचसहित अन्तर्राष्ट्रिय बजारमा जोड्ने कार्यमा एनजीसीसीआईले खेलेको भूमिकाको उच्च प्रशंसा गरे।

कार्यक्रममा नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले नेपाल र जर्मनीबीचको व्यापारिक सहकार्यलाई अझ विस्तार गर्न आफू उत्साहित रहेको बताए ।

उनले दुई देशबीचको दीर्घकालीन मैत्री सम्बन्धलाई आर्थिक साझेदारीमार्फत थप मजबुत बनाउन सकिने धारणा व्यक्त गरे।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले स्वतन्त्र, पारदर्शी तथा स्वस्थ व्यवसाय गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए। उनले निजी क्षेत्रको सक्रिय सहभागिताबिना दिगो आर्थिक विकास सम्भव नहुने बताए।

एनजीसीसीआईका अध्यक्ष सन्तोषचन्द्र कुँवरले नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु अपरिहार्य रहेको जानकारी दिए।

‘नेपाललाई न्यूनतम सात लाख मेट्रिक टन युरिया मल आवश्यक छ, तर हाल तीन लाख मेट्रिक टन पनि आयात गर्न सकेका छैनौँ,’ उनले भने।

उनले जर्मनीको सहकार्यमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी नेपालमा मल कारखाना स्थापना गर्ने प्रस्ताव लगानी बोर्डमा पेस भइसकेको जानकारी दिँदै यसलाई सबै सरोकारवालाले मिलेर कार्यान्वयनमा लैजानुपर्ने बताए ।

Skip This