
एजेन्सी । चीनले जीरा र खुर्सानी खेती गरी निर्यात थालेको छ ।
यी भारतका दुई प्रमुख मसला निर्यात हुन् र प्रायः यी चिनियाँ उत्पादनहरूको मूल्य कम हुने गरेको छ । यस विकासक्रमले विश्वकै सबैभन्दा ठूलो मसला आपूर्तिकर्ताको रूपमा भारतको वर्चस्वलाई चुनौती दिन सक्ने उद्योगका कार्यकारीहरूले बताएका छन् ।
भारतबाट कच्चा पदार्थ आयात गरी स्थानीय रूपमै प्रशोधन गर्दा पनि चिनियाँ मसलाहरू सस्तो हुने उनीहरूले बताएका छन् ।
‘चीनले विगत दुई वर्षदेखि जीरा र खुर्सानी खेती गर्न थालेको छ र केही बजारहरूमा भारतको स्थान लिइरहेको छ,’ बिग हाटका उपाध्यक्ष सन्दीप वोडेपल्लीले भने ।
खुर्सानी भारतको मसला निर्यातको मेरुदण्ड हो । त्यसले कुल मात्रा र मूल्यको एक चौथाइभन्दा बढी हिस्सा ओगट्छ ।
सन् २०२४–२५ मा खुर्सानीको धुलोको निर्यात वार्षिक रूपमा ३५ प्रतिशतले बढेर ८ करोड ६ लाख केजी पुगेको छ जबकि कुल खुर्सानी निर्यात १९ प्रतिशतले बढेर ७ लाख टन नाघेको छ ।
तर, यो वर्ष निर्यात आम्दानी ११ प्रतिशतले घटेको छ । त्यसले मूल्यमा परेको दबाबलाई प्रस्ट पार्छ । सन् २०२३–२४ मा खुर्सानीको निर्यात अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बढेको थियो ।
जीरा निर्यातमा पनि मात्रात्मक रूपमा बलियो वृद्धि रेकर्ड गरिएको छ । अघिल्लो आर्थिक वर्षको १ लाख ६५ हजार २६९ टनको तुलनामा सन् २०२४–२५ मा निर्यात ३९ प्रतिशतले बढेर २ लाख २९ हजार ८८१ टन पुगेको छ । जीराको प्रयोग व्यापक रूपमा तरकारी, मासु र विश्वव्यापी खाद्य प्रशोधनमा स्वाद बढाउने तत्त्वको रूपमा गरिन्छ ।
व्यापारीहरूका अनुसार, चीनले दुई प्रकारका खुर्सानीमा ध्यान केन्द्रित गरिरहेको छ । पाप्रिका, जुन मुख्य रूपमा रंग र हल्का स्वादको लागि प्रयोग गरिन्छ । र, तेजा उच्च पिरो प्रजाति जसको प्रयोग दुखाइ कम गर्ने मलम जस्ता औषधिजन्य उत्पादनहरूमा पनि हुन्छ ।
यसका साथै चीनले भारतबाट ठूलो मात्रामा खुर्सानी आयात गर्ने, त्यसलाई स्वदेशमै प्रशोधन गर्ने र तयारी वस्तुलाई तेस्रो मुलुकमा निर्यात गर्ने गरिरहेको छ ।
मौसम सम्बन्धी बाली नोक्सानी र निर्यात बजारमा न्यून मूल्यका कारण भारतका किसानहरू सिजनमा खुर्सानी र जीरा फलाउनबाट हतोत्साहित भएका छन् । भारतका प्रमुख उत्पादक राज्यहरू आन्ध्र प्रदेश, तेलंगाना र कर्नाटकमा खुर्सानी खेती गरिएको क्षेत्रफल गत वर्षको तुलनामा करिब ३५ प्रतिशतले घटेको छ भने जीरा खेती गरिएको क्षेत्रफल ७–८ प्रतिशतले घटेको छ ।








प्रतिक्रिया