बारामा निर्माण भइरहेको नेपोभिट सेरामिकको लागत बढ्यो, कति पुग्यो ?


काठमाडौं । बारा जिल्लाको सिमरामा निर्माण भइरहेको नेपोभिट सेरामिक कम्पनीको लागत बढेको छ । विशेष आर्थिक क्षेत्रमा निर्माण भइरहेको कम्पनीको लागत सुरुको अनुमानित लागतभन्दा बढेको हो ।

कम्पनीले सुरुमा १ अर्ब १० करोड रुपैयाँ लागतमा आयोजना निर्माण गर्ने योजना बनाएको थियो । तर, अहिले उक्त लागत बढेर १ अर्ब ५२ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले लगानीको अनुपात ७५:२५ राखेको छ । जसमा कम्पनीले ७५ प्रतिशत कर्जा लिई लगानी गर्ने भएको छ भने २५ प्रतिशत लगानीकर्ताको हुनेछ । कम्पनीअनुसार हालसम्ममा लगानीकर्ताले जनाएको प्रतिबद्धतामा ३० करोड २० लाख रुपैयाँ लगानी गरिसकेको छ । साथै, कर्जा पनि व्यवस्थापन भइसकेको उल्लेख छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५४ करोड ४३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले भित्ताको टायल उत्पादन गर्ने उद्देश्यसहित निर्माण भइरहेको छ ।

कम्पनीले वार्षिक ४५ लाख ९० हजार बक्सेस क्षमतामा टायल उत्पादन गर्ने भएको छ कम्पनीले २४×१२ इन्च, १२×१२ इन्च र १८×१२ इन्चको टायल उत्पादन गर्ने जनाएको छ ।

कम्पनीले यसअघि वार्षिक २८ लाख ५० हजार बक्सेस उत्पादन गर्ने योजना बनाएको थियो । कम्पनीले दैनिक ७ हजार ५ सय बक्सेस उत्पादन गर्ने योजना बनाएकोमा अहिले बढेर दैनिक १५ हजार बक्सेस उत्पादन गर्ने योजनासहित उद्योग निर्माण भइरहेको छ ।

हालसम्ममा उद्योगको निर्माण कार्य र मेसिनको कार्य सम्पन्न भइसकेको छ । कम्पनीले अब छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

सन २०२३ मा स्थापना भएको कम्पनीको अध्यक्ष सम्भुनाथ झा हुन् । कम्पनीमा असियन ग्रानिटो इन्डियाको लगानी छ । कम्पनीअनुसार भारतीय कम्पनीसँग उत्पादनका लागि सम्झौता गरेको उल्लेख छ ।

उक्त कम्पनी भारतको ठूला ग्रुपमध्ये एक हो । कम्पनीको विश्वका सयभन्दा बढी देशमा उपस्थिति छ । कम्पनीले एजीएल ब्रान्ड प्रयोग गरी उतपादन टायल बेच्ने भएको छ ।