
एजेन्सी । सन् १९७९ मा अमेरिकाका तत्कालीन राष्ट्रपति जिमी कार्टरको प्रशासन २०औं शताब्दीको सबैभन्दा विनाशकारी रणनीतिक गल्तीहरूमध्ये एक मानिने घटना बेहोर्न बाध्य भयो ।
त्यो वर्ष इरानका राजा पहलवीको पतन र इरानमा धर्मतन्त्रात्मक शासनको उदय भयो । त्यसको ४७ वर्षपछि सम्झौता गर्न सिपालु र स्थापित मान्यताहरूलाई चुनौती दिन रमाउने डोनल्ड ट्रम्प लामो समयदेखिको यस गल्तीलाई सच्याउन तयार देखिन्छन् ।
अमेरिका तेलमा ८०–८५ प्रतिशत आत्मनिर्भर छ । उसको बाँकी निर्भरता क्यानडामाथि छ । भूराजनीतिक रूपमा अस्थिर क्षेत्रहरूमा उसको निर्भरता छैन । अमेरिकाका लागि तेलमाथिको नियन्त्रण रणनीतिक कारणले गर्दा हो ।
तेल इन्धन मात्र होइन । यो त आधुनिक संसारको जग हो । यसले यातायात सञ्चालन गर्छ, घरहरू तताउँछ, पेट्रोकेमिकल्स मार्फत बालीहरूलाई मल प्रदान गर्छ र प्लास्टिक, औषधि, कपडा, सडक र अनगिन्ती दैनिक उत्पादनहरूका लागि कच्चा पदार्थको काम गर्छ ।
८ अर्बभन्दा बढी पुगेको विश्व जनसंख्याको वृद्धि सस्तो र प्रचुर मात्रामा उपलब्ध तेल बिना सम्भव थिएन ।
छोटकरीमा भन्नुपर्दा जसले तेललाई नियन्त्रण गर्छ उसैले विश्वव्यापी शक्तिका धमनीहरूलाई नियन्त्रण गर्छ ।
भेनेजुएला एउटा असफल नार्को–स्टेट (लागूऔषध तस्करहरूको राज्य) मात्र होइन । यो एक रणनीतिक खेलाडीको प्रारम्भिक चाल समेत हो । विश्वको सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार भएको यस देशले सन् २००६ देखि ह्युगो चाभेज र त्यसपछि निकोलस मदुरोको अधीनमा समाजवादी विचारधाराका कारण पतन भोग्यो । यसले गर्दा चीनले सस्तो मूल्यमा तेल पाउन थाल्यो ।
वर्षौंदेखि चीन चुपचाप इरान र भेनेजुएलाको प्रतिबन्धित तेलको प्राथमिक खरिदकर्ता र आर्थिक मेरुदण्ड बनेको थियो । भेनेजुएला र इरान दुवैले अमेरिकी डलर प्रणालीभन्दा बाहिर चीनको ऊर्जा सुरक्षालाई इन्धन दिइरहेका छन् । त्यही नै वास्तविक खतरा हो ।
अमेरिकाले भेनेजुएलालाई भत्काएको होइन । उसले त चीनको पहुँचलाई भत्काएको हो ।
भेनेजुएलाको तेललाई नाकाबन्दी गरेर अमेरिकाले त्यहाँको राष्ट्रपतिलाई मात्र हटाएको होइन । उसले तेलका ब्यारेलहरूको प्रवाह रोकिदियो । आपूर्ति श्रृंखलामा अवरोध पुर्यायो । ऊर्जा प्रवाहमा आफ्नो पकड पुनः कायम गर्यो । यो सैन्य चाल मात्र थिएन । यो प्रणालीगत चाल थियो ।
तेल ऊर्जा मात्र होइन । यो त मुद्रा पनि हो । तेल प्रभाव कायम गर्ने साधन हो । तेल शक्ति हो । भेनेजुएलाविरुद्ध ट्रम्पको चालले चीनको ताइवान आक्रमणको समयतालिकालाई विफल पारिदिएको हुन सक्छ ।
चीनलाई अमेरिकाको नियन्त्रणमा नरहेको तेल चाहिन्छ । अर्थात् इरान, भेनेजुएला र रुसको तेल हो । इरान र भेनेजुएलाबाट मात्र चीनको तेल आयातको झण्डै ३०–३५ प्रतिशत हिस्सा आउँछ । अर्को ३५ प्रतिशत अरब आपूर्तिकर्ताहरूबाट आउँछ । उनीहरू अमेरिकी दबाब बिना पाइला चाल्दैनन् ।
अमेरिकाले भेनेजुएला र इरानी तेलको आवागमन नियन्त्रण गर्न सक्यो भने चीनको तेल आपूर्तिको ७० प्रतिशतसम्म अमेरिकी प्रभावमा पर्नेछ । तपाईंको ऊर्जाको प्राणवायु जुनसुकै बेला बन्द भएमा तपाईं ताइवान युद्ध सुरु गर्न सक्नुहुन्न ।
मदुरोविरुद्धको फौजदारी अभियोग वास्तविक हो । तर, यो सुविधाजनक पनि छ । फेन्टानाइल नामक लागूऔषध मार्फत अमेरिकीहरूलाई विष खुवाउने शासनलाई हटाउनु र भेनेजुएलाको तेललाई चीनबाट टाढा मोड्नुले एकै चालमा दुईवटा लक्ष्यहरू पूरा गर्छ । यो शास्त्रीय बहुआयामिक रणनीति हो । यसको सतहमा नैतिक औचित्य छ तर भित्र निर्णायक भूराजनीतिक पुनर्गठन छ ।
इरान अमेरिकाको वास्तविक पुरस्कार हो । इस्लामी गणतन्त्र इरान अहिले मस्को र बेइजिङलाई एकै ठाउँमा उभ्याउने पश्चिमविरोधी धुरीको मुख्य कडी बनेको छ ।
त्यसलाई हटाउँदा युक्रेनमा रुसको युद्ध अर्थतन्त्रलाई अपांग बनाउनेछ । इजरायलको अस्तित्वमाथिको खतरा हटाउनेछ । चीनको सबैभन्दा भरपर्दो मध्यपूर्वी ऊर्जा मार्ग काटिदिनेछ । सन् १९७९ पछिको राजनीतिक इस्लाममाथि सबैभन्दा ठूलो प्रहार गर्नेछ ।
चीन विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातक हो । उसले प्रतिदिन झण्डै १ करोड १० लाख देखि १ करोड २० लाख ब्यारल तेल आयात गर्दछ । रुस यसको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो ।
संयुक्त अरब अमिरात (यूएई), इराक र साउदी अरबले मिलेर चीनको तेल आवश्यकताको ३५ प्रतिशत आपूर्ति गर्छन् । अमेरिकासँग यी तीन मध्यपूर्वी देशहरूलाई प्रभाव पार्ने शक्ति छ ।
यी देशहरूले अमेरिकालाई सहयोग गर्नेछन् किनकि यी व्यावहारिक विदेशनीति अपनाउने राष्ट्र हुन् र अब्राहमिक एकर्ड्स तथा इजरायलसँगको सम्बन्धको सफलतामा इच्छुक छन् । भूराजनीतिक चेस बोर्ड र रणनीतिक स्थानहरूलाई हेरेमा साउदी अरबसँग पाकिस्तानको रक्षा सहयोग सम्झौता र अमेरिकी उदारताको अर्थ अझ प्रस्ट हुन्छ ।
सन् २०१२ देखि शक्तिशाली सांस्कृतिक र आध्यात्मिक आन्दोलन ‘इरानी पुनर्जागरण’ ग्रेटर इरानमा चुपचाप फैलिरहेको छ । नव–जरथुस्त्रवाद र इस्लाम आउनुअघिको फारसी पहिचानले नाटकीय पुनरुत्थान अनुभव गरिरहेको छ । १४ सय वर्षमा पहिलोपटक फारसी र कुर्दहरू अरब–इस्लामिक उपनिवेशवादको लामो छायाँबाट बाहिर निस्किरहेका छन् र आफ्नो जरामा फर्किने प्रक्रियाका लागि तयार छन् ।
भेनेजुएला, इरान र ग्रीनल्यान्ड एउटै रणनीतिक नक्साका जोडिएका बिन्दुहरू हुन् । ऊर्जाको नियन्त्रण, आर्कटिक जलमार्ग र व्यापारका मुख्य बिन्दुहरू यस नक्सामा छन् । यसैबीच सामूहिक बसाइँसराइको कारण युरोपमा मुस्लिमहरूको संख्या अन्य धर्मावलम्बीको भन्दा बढी हुने स्थिति आउन लागेको छ ।
अमेरिकी राजनीतिशास्त्री स्यामुअल हन्टिङटनले भविष्यवाणी गरेअनुसार यस सभ्यतागत टकरावमा इस्लामले सबैभन्दा ठूलो उत्प्रेरक भूमिका खेलिरहेको छ । यहाँ तीन पक्षहरू छन्– कम्युनिस्ट चीन, इस्लाम र पश्चिमी सभ्यता ।
कम्युनिस्ट चीन र इस्लामको विरुद्धमा पश्चिमी सभ्यता विजयी भयो भने पृथ्वी शान्त हुनेछ । यस सम्बन्धमा इरानले निर्णायक स्थान राख्छ । ठूला युरोपेली देशहरू निद्रामा छन् । उनीहरूको नेतृत्वको आत्मालाई ईयू गुट, डाभोस समूह, विश्वविद्यालयहरू र वामपन्थी नियन्त्रित सञ्चारमाध्यमहरूले कब्जा गरेका छन् ।
विश्वव्यापी चेस बोर्ड बदलिएको छ । नैतिक देखिने चालहरू विरलै संयोगवश हुन्छन् । ती प्रायः गहिरो रूपमा रणनीतिक हुन्छन् । अमेरिका लोभका कारण नभई आवश्यकताका कारण काम गरिरहेको छ । शक्ति अझै पनि ऊर्जाबाटै चल्छ । यो पाठ बिर्सनेले चुपचाप आफ्नो प्रभाव गुमाउँछन् । त्यतिखेरसम्म धेरै ढिलो भइसकेको हुन्छ । हामी एक गहिरो पुनर्गठनको प्रारम्भिक चरणहरू देखिरहेका छौं ।
इरान इस्लामको चंगुलबाट निश्चित रूपमा मुक्त हुनेछ तर यो सजिलो हुनेछैन । मुल्लाहरू लडाइँ नगरी छोड्ने छैनन् । खमेनी देश छोडेर भाग्ने छैनन् । उनी शहीद भएर मर्न चाहनेछन् ।
इरानमाथि अरब बेदुआँहरूको १४०० वर्ष पुरानो कब्जा इस्लामी गणतन्त्रको निर्णायक पराजयसँगै समाप्त मात्र हुने छैन । यो पश्चिमी सभ्यतालाई बचाउने अन्तिम अवसर पनि हुनेछ।








प्रतिक्रिया