अमेरिकाको केन्द्रीय बैंकका अध्यक्ष पावलविरुद्ध फौजदारी अनुसन्धान सुरु


एजेन्सी । अमेरिकाका संघीय अभियोजनकर्ताहरूले केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावलविरुद्ध फौजदारी अनुसन्धान सुरु गरेका छन् ।

वाशिङटन डीसीमा रहेको केन्द्रीय कार्यालयलाई २.५ अर्ब डलर लागतको पुनर्निर्माणका सम्बन्धमा गत जुन महिनामा संसद् समक्ष दिएको गवाहीलाई लिएर अनुसन्धान थालिएको हो ।

स्वायत्त रहेको फेड विरुद्धको यो स्तब्धकारी कदमको जवाफमा पावलले आइतबार राति एक भिडियोमार्फत उत्तिकै असाधारण वक्तव्य जारी गरेका छन् । त्यसमा उनले यो अनुसन्धान ब्याजदरका विषयमा प्रशासनसँग चलिरहेको आफ्नो संघर्षको प्रत्यक्ष परिणाम भएको बताएका छन् । पावलले यो ट्रम्प प्रशासनको व्यापक धम्की र निरन्तर दबाबको नतिजा भएको बताए ।

‘फौजदारी अभियोगको धम्की संघीय रिजर्भले राष्ट्रपतिको चाहना पालना गर्नुको साटो जनताको हितमा के हुनेछ भन्ने हाम्रो उत्तम मूल्यांकनका आधारमा ब्याजदर निर्धारण गरेको परिणाम हो,’ पावलले आइतबार ढिलो गरी जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

यस अनुसन्धानले पावल र फेडको आगामी नेतृत्व गर्ने जो कोहीलाई पनि एउटा भयानक सन्देश दिएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले फेडका अध्यक्ष (जसलाई राष्ट्रपतिले पुनः नियुक्त नगर्ने बताइसकेका छन्) माथि गरेको निरन्तर आक्रमणले फेडको परम्परागत राजनीतिक स्वतन्त्रतामा प्रहार गरेको छ । ट्रम्पले ब्याजदरको निर्णयमा आफ्नो पनि भूमिका हुनुपर्ने समेत बताएका छन् ।

तर, यस फौजदारी अनुसन्धानले फेडसँग ट्रम्पको लडाइँलाई एउटा नयाँ उचाइमा पुर्याएको छ । मे महिनामा पावलको कार्यकाल सकिएपछि ट्रम्पले उनको स्थानमा जसलाई छाने पनि उनले ब्याजदर घटाउन प्रशासनबाट निरन्तर दबाबको सामना गर्नुपर्ने यसले देखाउँछ ।

विश्वभरका लगानीकर्ता र अर्थशास्त्रीहरू फेडको स्वतन्त्रतालाई धेरै महत्त्व दिन्छन् । यस स्वतन्त्रताका कारण नीतिनिर्माताहरूले अर्थतन्त्र सञ्चालन गर्दा अल्पकालीन राजनीतिक सनकको साटो मौद्रिक नीति निर्धारणका दीर्घकालीन असरहरूबारे सोच्नेछन् भन्ने कुराको ग्यारेन्टी गर्छ ।

आइतबार पावलले यस अनुसन्धानलाई फेडको स्वतन्त्रता र राजनीतिक हस्तक्षेप बिना ब्याजदर निर्धारण गर्ने यसको क्षमताको प्रश्नसँग प्रत्यक्ष रूपमा जोडेका छन् ।

‘यो फेडले प्रमाण र आर्थिक अवस्थाका आधारमा ब्याजदर निर्धारण गर्न जारी राख्न सक्षम हुनेछ कि छैन वा यसको साटो मौद्रिक नीति राजनीतिक दबाब वा धम्कीबाट निर्देशित हुनेछ भन्ने बारेमा हो,’ उनले बताए ।

न्याय मन्त्रालयका प्रवक्ता चाड गिलमार्टिनले अनुसन्धानका बारेमा टिप्पणी गर्न अस्वीकार गरे । तर, महान्यायाधिवक्ताले करदाताको पैसाको कुनै पनि दुरुपयोगको अनुसन्धानलाई प्राथमिकता दिन चाहेको बताएका छन् ।

आइतबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले अनुसन्धानबारे जानकारी भएको कुरा अस्वीकार गर्दै भने, ‘मलाई यसबारे केही थाहा छैन तर उनी पक्कै पनि फेडमा राम्रो काम गरिरहेका छैनन् र भवनहरू बनाउन पनि धेरै सिपालु छैनन् ।’

ट्रम्प र उनका सहयोगीहरूले राष्ट्रपतिको चाहना अनुसार ब्याजदर नघटाएको भन्दै गत वर्षभरि पावेलको पटक–पटक कडा आलोचना गरेका थिए । फेडले गत वर्षको पछिल्लो ६ महिना लगातार तीनपटक ब्याजदर घटाएको थियो । तर, अधिकारीहरूले हालै केही समयका लागि पुनः ब्याजदर घटाउने सम्भावना नरहेको बताएका छन् ।

ट्रम्पको दबाब अभियानमा पावलमाथि व्यक्तिगत अपमानको वर्षा समेत सामेल छ । अहिले फेड अध्यक्षलाई बर्खास्त गर्ने धम्की पनि दिइएको छ । यद्यपि, पावल ट्रम्पसँग आफूलाई बर्खास्त गर्ने अधिकार नभएको कुरामा अडिग रहेका छन् ।

सन् २०२५ को अन्त्यतिर ट्रम्पले तत्कालीन राष्ट्रपति जो बाइडनद्वारा नियुक्त फेड गभर्नर लिसा कुकलाई निशाना बनाए । राष्ट्रपति र उनका सहयोगीहरूले कुकलाई मोर्टगेज (धितो) ठगीको आरोप लगाए ।

कुकलाई कुनै फौजदारी अभियोग नलगाइएको भए पनि ट्रम्पले अगस्टमा उनलाई बर्खास्त गर्दा तिनै आरोपहरू उद्धृत गरेका थिए । ट्रम्पले कुकलाई हटाउन सक्छन् कि सक्दैनन् भन्ने बारेमा सर्वोच्च अदालतले यसै महिनाको अन्त्यमा मौखिक बहस सुन्नेछ ।

फेडको पुनर्निर्माण पनि निरन्तर विवादको स्रोत बनेको छ । पावलले जुन महिनामा संसदमा गवाही दिँदै पुनर्निर्माण विभिन्न निकायहरूसँगको सहकार्य भएको र समयसँगै लागतमा परिवर्तन आएको बताएका थिए ।

ट्रम्पले पुनर्निर्माणको विषयलाई लिएर पावेलमाथि मुद्दा हाल्ने धम्की दिएका छन् । गत महिना राष्ट्रपतिले अक्षमताका लागि पावलविरुद्ध मुद्दा हाल्ने विचार गरिरहेको बताएका थिए ।

फेडरल हाउजिङ फाइनान्स एजेन्सीका निर्देशक बिल पुल्टे र व्यवस्थापन तथा बजेट कार्यालयका निर्देशक रस भाउट जस्ता ट्रम्पका सहयोगीहरूले आयोजनाको कुव्यवस्थापन भएको दाबी गरेका छन् । तर, फेडले दशकौं पुराना भवनहरूमा एस्बेस्टोस हटाउने र विद्युतीय तथा भेन्टिलेसन प्रणालीहरू सुधार गर्ने लगायतका अपग्रेडहरू आवश्यक रहेको बताएको छ ।

यो कटुता जुलाईमा सार्वजनिक रूपमा देखापरेको थियो । त्यतिखेर ट्रम्प पावलसँग आयोजनाको भ्रमणमा सामेल भए । पावलले पत्रकारहरूकै अगाडि आयोजनाको लागतको बारेमा ट्रम्पलाई सच्याए । त्यसले गर्दा दुई व्यक्तिबीचको तनाव स्पष्ट रूपमा महसुस गर्न सकिन्थ्यो ।

ट्रम्प मे महिनामा पावलको कार्यकाल सकिएपछि उत्तराधिकारी घोषणा गर्ने तयारीमा छन् । यही समयमा संघीय अनुसन्धान थालिएको छ । यस निर्णयले विश्व अर्थतन्त्रकै सम्भवतः सबैभन्दा प्रभावशाली भूमिकाका लागि महिनाौंदेखि चलिरहेको खोजी प्रक्रियालाई टुंग्याउनेछ ।

ट्रम्पले आगामी फेड अध्यक्ष राष्ट्रिय आर्थिक परिषद्का निर्देशक केभिन ह्यासेट हुन सक्ने संकेत गरेका छन् । तर, उनले हालै पूर्व फेड गभर्नर केभिन वार्ससँग पनि अन्तर्वार्ता लिएका छन् र ब्ल्याकरकका ग्लोबल फिक्स्ड इनकम प्रमुख लगानी अधिकारी रिक रिडरसँग अन्तर्वार्ता लिने अपेक्षा गरिएको छ ।

ट्रम्पले केही दिनभित्रै आफ्नो रोजाइ घोषणा गर्ने बताएका छन् ।