पेट्रोडलर पुनःस्थापित गर्नका लागि इरानमा सत्तापरिवर्तनको प्रयास ?


एजेन्सी । अमेरिकाको गुप्तचर निकाय सीआईएले हालै प्रकाशन गरेका रिपोर्टहरू अनुसार, आर्थिक पतन र मुद्रास्फीतिका कारण इरानमा चर्किएको विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूको मृत्यु, हजारौंको पक्राउ र इन्टरनेट ब्ल्याकआउटका बावजुद शासन ढाल्न सक्ने पर्याप्त गतिको अभाव देखिएको छ ।

तर, इरान इन्टरनेशनल र अलजजीरा जस्ता स्रोतहरूले शासनमा गहिरो विभाजन परेको उल्लेख गरेका छन् । त्यसमा शासनप्रति वफादार मानिने बजारका व्यापारीहरू समेत सामेल भएका छन् जसले शासनको आधार कमजोर हुँदै गएको संकेत गर्छ ।

प्रचारबाजीका शैलीहरू फरक छन् । पश्चिमी सञ्चारमाध्यमहरूले अशान्तिलाई प्राथमिकताका साथ उजागर गरेका छन् भने इरानी सरकारी सञ्चारमाध्यमहरूले यसलाई कम आँकेका छन् । समग्रमा, इरानी शासन छोटो अवधिमा लचिलो देखिए पनि भित्रबाट बढ्दो दबाबको सामना गरिरहेको छ ।

इरानी शासन तब मात्र ढल्न सक्छ जब इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) विभाजित हुन्छ र मजदुर युनियनहरूले व्यापक हडताल गर्छन् जुन परिवर्तनको संवाहक बन्नेछ । इरानका पूर्व युवराज रेजा पहलवीले इरानी प्रदर्शनकारीहरूलाई हडताल र विद्रोह गर्न खुला आह्वान गरेका छन् भने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई आयातोल्लाहको शासन ध्वस्त पार्न इरानमा बमवर्षा गर्न आग्रह गरेका छन् ।

इजरायल र अमेरिकाले प्रायोजन गरेका यी विरोध प्रदर्शनहरूलाई नियन्त्रण गर्न इरानी शासनले इन्टरनेटमा प्रतिबन्ध लगाएको थियो । अमेरिकी डीप स्टेटका लागि काम गर्दै इलोन मस्कले इरानमा सत्तापरिवर्तनमा मद्दत गर्न हजारौं तस्करी गरिएका स्टारलिंक टर्मिनलहरू तैनाथ गरेका छन् । तिनलाई प्रदर्शनकारीको सहयोगका लागि सक्रिय पारिएको थियो ।

इरानले स्टारलिंकको ३० प्रतिशत अपलिंक ट्राफिक जाम गर्न र ८० प्रतिशत अवरोध पुर्याउन सफल भएको छ । यो अभूतपूर्व सफलता सम्भवतः रुस वा चीनले उपलब्ध गराएको प्रविधिबाट सम्भव भएको हो ।

एक्सिओसका अनुसार, केही दिन अघिसम्म अमेरिकाका गुप्तचर निकायहरूले प्रदर्शनमा शासन ढाल्ने सामर्थ्य नरहेको विश्वास गर्थे । त्यहाँ शासनको समर्थनमा पनि प्रदर्शनहरू भएका थिए । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र ट्रम्पले आईआरजीसीलाई कमजोर बनाउन र त्यहाँ विद्रोह गराउन सैन्य हमला गर्नेबारे सोचिरहेका छन् ।

इजरायली गुप्तचर निकायले पृथक्तावादी आन्दोलन सुरु गर्न इराकबाट कुर्द मिलिसियाहरूलाई इरानमा घुसपैठ समेत गराएको थियो । तर, टर्कीको गुप्तचर निकायले त्यस्तो कुनै पनि योजना विफल पार्न आईआरजीसीसँग मिलेर काम गर्यो । साउदी र टर्कीले यसमा इरानलाई साथ दिइरहेका छन् । रुसले इरानलाई हतियार दिएको छ भने चीनले उनीहरूलाई समर्थन गरेको छ ।
इरान समर्थक इराकी मिलिसियाहरूले चार दिन अघिदेखि इरानमा भइरहेको प्रदर्शन दबाउन इस्लामिक गणतन्त्रको सेनालाई मद्दत गर्न लडाकुहरू भर्ती गर्न थालेका छन् ।

अहिलेसम्म करिब ८०० इराकी शिया मिलिसियाहरू तैनाथ गरिएका छन् । तीध्ये लगभग सबै कताइब हिजबुल्लाह, हरकात अल–नुजाबा, सैयद अल–शुहदा र बदर संगठनका सदस्य हुन् ।

इरानमा हुने कुनै पनि सत्तापरिवर्तनबाट सबैभन्दा बढी घाटा चीनलाई हुनेछ किनभने रुसले अराकमा आफ्नो नागरिक आणविक सहयोग कायम राख्नेछ भने भारतको चाबहार बन्दरगाह परियोजनामा खासै असर पर्ने सम्भावना छैन ।

तर, शासन भित्रबाटै ढल्छ र पश्चिमको कठपुतली सरकारको द्रुत उदय हुन्छ भने इरानी तेल र चीनसँगको व्यापार जारी त रहन सक्छ तर त्यो युआनको साटो डलरमा हुनेछ । यसले अमेरिकाको वित्तीय प्रभुत्वलाई चुनौती दिने बेइजिङको प्रयासलाई ठूलो धक्का पुर्याउनेछ ।

समग्रमा, यसले ब्रिक्सको द्रुत गैरडलरीकरण व्यापारको लक्ष्यलाई असर गर्नेछ । तर, डलरको अवमूल्यनको ठूलो विश्वव्यापी प्रवृत्ति भने अप्रभावित रहनेछ । भेनेजुएला र विशेषगरी इरानबाट हुने तेल र वस्तुहरूको गैर–डलर व्यापार ठप्प हुनेछ ।
चीनको तेल आयातमा भेनेजुएलाको हिस्सा मात्र ४ प्रतिशत रहेकाले भूराजनीतिक हिसाबले यो त्यति महत्त्वपूर्ण थिएन । तर, इरानको ९५ प्रतिशत तेल चीन जान्छ र यसको भुक्तानी डलरको साटो युआनमा हुने गर्छ ।