ग्रीनल्यान्ड आक्रमणको योजना बनाउन ट्रम्पले दिए सैन्य कमान्डरहरूलाई निर्देशन


एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना विशेष बलका कमान्डरहरूलाई ग्रीनल्यान्डमा आक्रमण गर्ने योजना तयार पार्न आदेश दिएका छन् । तर, वरिष्ठ सैन्य अधिकारीहरूले यस योजनाको विरोध गरेका छन् ।

द डेली मेलले स्रोतहरूलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार, ट्रम्पले जोइन्ट स्पेसल अपरेसन कमान्डलाई आक्रमणको योजना तयार गर्न आग्रह गरेको छ । तर, जोइन्ट चीफ्स अफ स्टाफले यो गैरकानूनी हुने र कांग्रेसले यसलाई समर्थन नगर्ने भन्दै विरोध गरिरहेका छन् ।

‘उनीहरूले ट्रम्पको ध्यान मोड्नका लागि कम विवादास्पद उपायहरूको बारेमा कुरा गर्ने प्रयास गरेका छन् । जस्तै, पश्चिमी प्रतिबन्ध छल्न मस्कोद्वारा सञ्चालित सयौं जहाजहरूको गोप्य सञ्जाललाई रोक्ने वा इरानमाथि आक्रमण गर्ने विकल्पमा कुरा भइरहेका छन्,’ एक स्रोतले जनायो ।

स्रोतहरूका अनुसार, राजनीतिक सल्लाहकार स्टिफन मिलरको नेतृत्वमा रहेको यो योजना भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्ने अभियानको सफलतापछि बनाइएको हो । रुस वा चीनले कुनै कदम चाल्नुअघि नै उक्त टापु कब्जा गर्ने अमेरिकीहरूको लक्ष्य छ ।

तर, द डेली मेलले बेलायती कूटनीतिकर्मीहरूलाई उद्धृत गर्दै ट्रम्प यसै वर्षको अन्त्यमा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी अर्थतन्त्रको अवस्थाबाट मतदाताहरूको ध्यान अन्यत्र मोड्ने इच्छाबाट प्रेरित रहेको जनाएको छ । उक्त निर्वाचनपछि संसदमा डेमोक्रेटहरूको नियन्त्रण कायम हुन सक्छ ।

यो घटना ट्रम्पले सो क्षेत्रमाथि कब्जा जमाउने आफ्नो धम्की नवीकरण गरेको केही दिनपछि आएको हो ।

शुक्रबार ह्वाइट हाउसमा तेल र ग्यास उद्योगका कार्यकारीहरूसँगको बैठकमा बोल्दै राष्ट्रपतिले खनिज भरपूर भएको यो टापु अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि नितान्त आवश्यक रहेको आफ्नो हालैको दाबीलाई थप जोड दिए । उनले कूटनीतिक रूपमा खरिद प्रक्रिया सफल हुन नसकेमा अमेरिका कडा कदम चालेर हस्तक्षेप गर्न बाध्य हुन सक्ने संकेत गरे ।

ट्रम्पले विश्वको सबैभन्दा ठूलो टापु वरपरको समुद्री क्षेत्र हाल रुसी र चिनियाँ जहाजहरूले घेरिएको दाबी गरे । त्यसैलाई आधार बनाएर उनले त्यहाँको सार्वभौमसत्तामा छिटो परिवर्तनको आवश्यकतालाई पुष्टि गर्ने प्रयास गरे ।

‘हामीले यसो गरेनौं भने रुस वा चीनले ग्रीनल्यान्ड कब्जा गर्नेछन्,’ उनले कार्यकारीहरूलाई भने, ‘अनि हामी रुस वा चीनलाई छिमेकीको रूपमा स्वीकार गर्ने छैनौं ।’

उनका यी टिप्पणीहरूले पश्चिमी गोलार्धमा अमेरिकी प्रभुत्व सुनिश्चित गर्ने प्रशासनको व्यापक रणनीतिको झलक दिन्छ । त्यो भावना हालै भेनेजुएलामा भएको अमेरिकी सैन्य अभियानपछि अझ तीव्र भएको छ ।

ग्रीनल्यान्ड डेनमार्क अधिराज्य अन्तर्गतको एक स्वायत्त क्षेत्र भए पनि ट्रम्प प्रशासनले त्यस टापुको रक्षा गर्ने कोपेनहेगनको क्षमतामाथि लगातार प्रश्न उठाउँदै आएको छ । उपराष्ट्रपति जेडी भान्सले हालै डेनमार्कले यो रणनीतिक रूपमा महत्त्वपूर्ण भूभागलाई जोगाउन नसकेको आरोप लगाउँदै यस मुद्दालाई क्षेप्यास्त्र रक्षा र आर्कटिकको सभ्यतागत महत्त्वसँग जोडेर प्रस्तुत गरे ।

अमेरिकाको प्रस्तावको कडा विरोध भएको छ । अमेरिकाले बल प्रयोग गरेर ग्रीनल्यान्ड कब्जा गर्ने कुनै पनि प्रयासले नेटोको अन्त्यको संकेत गर्ने डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडरिक्सनले चेतावनी दिएकी छन् । यसलाई अमेरिकामा विलय गर्ने विचारलाई हास्यास्पद एवं ग्रीनल्यान्डको सार्वभौमसत्ताको घोर अपमान भनेकी छन् ।

ग्रीनल्यान्डको रणनीतिक महत्त्व बहुआयामिक छ । त्यसमा जीआईयूके (ग्रीनल्यान्ड–आइसल्यान्ड–यूके) ग्याप महत्त्वपूर्ण जलसैनिक मार्ग हो । यसको अवस्थिति र उच्च प्रविधि एवं सैन्य सामग्रीका लागि आवश्यक दुर्लभ खनिजहरूको विशाल र अहिलेसम्म उपयोग नभएको भण्डार समावेश छ ।

अमेरिकाले ग्रीनल्यान्डमा सन् १९५१ को सन्धि अन्तर्गत पहिलेदेखि नै (पहिले थुले भनिने) पिटुफिक स्पेस बेस सञ्चालन गर्दै आएको छ । तर, ट्रम्पले अहिले पहुँच मात्र पर्याप्त नहुने कुरामा जोड दिइरहेका छन् ।