
काठमाडौं । सरकारले २५ अर्ब रुपैयाँको लगानीमा मधेश प्रदेशको सप्तरीमा ३ सय शय्याको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल निर्माण गर्ने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले २०७५ पुस १३ गते यो प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको रामराजाप्रसाद सिंह स्वास्थ्य प्रतिष्ठान विज्ञान प्रतिष्ठानको अवधारणा पत्र सरकारले गठन आदेशमार्फत २०७५ स्वीकृत गरेपछि स्थापना भएको थियो ।
यो प्रतिष्ठान स्थापना गर्न सरकारले ६१ विगहा ६ कठ्ठा जग्गा ३० वर्षको लागि लिजमा उपलब्ध गराउने विषयमा २०७८ जेठ ३१ गते निर्णय गरेको थियो ।
सरकारले यो अस्पताल सप्तरी जिल्लाको राजविराज वडा नम्बर १० स्थित दिघवामा निर्माण गर्ने तयारी गरेको छ । ४ लाख १९ हजार ३ सय ७५ वर्गमिटर क्षेत्रफलमा यो अस्पताल निर्माण हुने भएको छ ।
यसमध्ये ३२ हजार २ सय ३९ वर्गमिटरमा मनोरञ्जनात्मक तथा हरियाली क्षेत्र, २६ हजार ११ वर्गमिटरमा पार्किङ क्षेत्र र २ लाख ४० हजार ३ सय ६८ वर्गमिटर खुला क्षेत्र रहने सूचनामा उल्लेख छ ।
यो शिक्षण अस्पतालमा एमबीबीएसतर्फ १ सय, बीडीएसतर्फ ७५, एमडी, एमएस, एमडीएसतर्फ ५० र बीएनएसतर्फ ७५ सिट कोटा सहित ३ सय कोटाको शैक्षिक कार्यक्रम निर्धारण गरिएको छ । यसका साथै नर्सिङ्गसम्बन्धी कक्षा पनि सञ्चालन हुनेछ ।
यो शिक्षण अस्पतालअन्तर्गत कलेज अफ पव्लिक हेल्थ, कलेज अफ मेडिकल इमेजिङ टेक्नोलोजी, कलेज अफ फार्मेसी एण्ड फर्माकोलोजी, कलेज अफ मेडिकल ल्यावोटरी साइन्स र कलेज अफ साइकोथेरापी एण्ड रिहाबिलेसन सञ्चालनमा आउने छ ।
शिक्षण अस्पतालअन्तर्गत आकस्मिक सेवा, बहिरंग सेवा, सुरक्षित मातृत्व, एक्स रे, सिटी स्क्यान, अल्ट्रा सोनोग्राफी, प्रयोगशाला, खोप, डट्स क्लिनिक, फिजियोथेरापी, आँखा जाँच, स्वीमिङ पुललगायतका सुविधा उपलब्ध हुने छ ।
यो शिक्षण अस्पतालमा विशेषज्ञ चिकित्सक १०, चिकित्सा अधिकृत १२, नर्सिङ जनशक्ति ५०, पारामेडिक ६०, प्राविधिक १६, प्रशासन तथा लेखा १२, कार्यालय सहयोगी १६, सफाई कर्मचारी १७ र सवारी चालक ४ सहित अन्य कर्मचारी गरी १ हजार जनशक्ति काम गर्ने ईआइए प्रतिवेदनमा उल्लेख छ ।
अस्पतालमा शिक्षण कलेज भवन, प्रशासनिक भवन, अस्पताल भवन, आवासीय भवन, व्यवसायिक भवन, सेवा प्रवाह भवन, मनोरञ्जनात्मक भवन रहने व्यवस्था गरिएको छ ।
अस्पतालमा जम्मा ७५ वटा भवनहरु निर्माण हुनेछ । यसका साथै ८२ वटा चार पाग्रे र १ सयवटा दुई पाग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ रहने व्यवस्था भएको प्रतिवेदनमा उल्लेख छ ।
एनआईसीयु, आईसीयु, एसआईसीयुसहितको यो अस्पतालमा जनरल वार्ड (१ सय ६० शय्या), क्याविन सिंगल शय्या( २८ वटा), क्याबिन डबल शय्या(३२ वटा) रहने व्यवस्था गरिएको छ ।
यो शिक्षण अस्पतालमार्फत जनरल रोग, बाल रोग, स्त्री रोग, हाड तथा जोर्नी, डेन्टल, यौन तथा छाला, मानसिक, इएनटी, नेत्र, प्याजोलोजिष्ट, प्लास्टिक सर्जरी, नवजात रोगलगायतका सेवा उपलब्ध हुने भएको छ ।
अस्पताल निर्माण गर्न ६ हजार ६ सय २६ मेट्रिक टन सिमेन्ट, ७५ हजार ९ सय १० घन मिटर बालुवा, १ लाख ५२ हजार ६ सय ३१ घन मिटर गिट्टी, २ करोड ८६ लाख ५९ हजार ३ सय ४६ गोटा इट्टा र २६ हजार ५ सय ४५ मेट्रिक टन डण्डि आवश्यक पर्ने आयोजनाको विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
सम्पूर्ण रुपमा प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माण गर्न २४ देखि ३० महिना लाग्नेछ । यो प्रतिष्ठान पूर्ण रुपमा पारोरहित रहने प्रतिवेदनमा उल्लेख छ ।








प्रतिक्रिया