निर्बाचनमा खटिने सवा दुई लाख कर्मचारीलाई जनही २० लाख रुपैयाँबराबरको दुर्घटना बीमा


काठमाडौं। आसन्न निर्बाचनमा खटिने जनशक्तिको लागि २० लाख रुपैयाँबराबरको दुर्घटना बीमा गरिएको छ ।

निर्वाचन आयोगका अनुसार निर्बाचनमा खटिने कर्मचारीसहित अन्य जनशक्तिहरुको हकमा पुस १३ गते राष्ट्रिय बीमा कम्पनीसँग दुर्घटना बीमा सम्झौता गरिएको छ ।

निर्बाचन आयोगका सचिब कृष्णबहादुर राउतका अनुसार निर्वाचनमा खटिने करिब २ लाख १३ हजार १ सय ६१ कर्मचारीका लागि १५ दिनदेखि ९० दिनसम्मको लागि जनही २० लाख रुपैयाँबराबरको दुर्घटना बीमा गरिएको छ।

निर्वाचन अधिकृतको कार्यालय र जिल्लास्थित निर्वाचन कार्यालयहरुलाई आवश्यक पर्ने थप जनशक्ति जिल्लास्थित सरकारी कार्यालयबाट काजमा ल्याई काममा लगाइने व्यवस्था गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भइसकेको छ। मतदान केन्द्रमा खटिने कर्मचारीहरूलाई जिल्ला निर्वाचन कार्यालयमार्फत प्रशिक्षण दिइनेछ। ट्रेड युनियनमा आवद्ध कर्मचारी र शिक्षकलाई निर्वाचन कार्यमा नखटाउने नीति लागू गरिएको छ।

आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित निर्वाचन सम्पन्न गराउने संवैधानिक दायित्व पूरा गर्न व्यापक तयारी अघि बढाएको छ। निर्वाचन घोषणापछि आयोगले दैनिक कार्यतालिका बनाई निर्वाचन सञ्चालनसँग सम्बन्धित सबै क्षेत्रलाई समेटेर कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याएको जनाएको छ।

आन्तरिक अध्ययन र तयारीपछि आयोगले मिति २०८२ कार्तिक ३० गते पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका छुट्टाछुट्टै निर्वाचन कार्यक्रम सार्वजनिक गरी लागू गरेको हो।

आयोगका अनुसार निर्वाचन घोषणा भएयता हालसम्म मतदाता नामावली, कानुनी आधार, निर्वाचन सामग्री, जनशक्ति व्यवस्थापन, बजेट, सुरक्षा, मतदाता शिक्षा र समन्वयका क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ।

मतदाता नामावली अद्यावधिक, करिब १ करोड ८९ लाख मतदाता

निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावली ऐन, २०६३ लाई अध्यादेशमार्फत संशोधन गरी २०८२ असोज १० देखि मंसीर ५ गतेसम्म थप मतदाता नामावली संकलन गरिएको थियो। यस अवधिमा ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता नामावलीमा समावेश भएका छन्।

अनलाइन प्रणाली तथा राष्ट्रिय परिचयपत्र प्रणालीसँग आवद्ध गरी मतदाता संकलन कार्यलाई सहजीकरण गरिएको आयोगले जनाएको छ। मंसीर ५ सम्म संकलित नामावली र साविकको नामावली एकीकृत गरी दाबी–विरोध कार्यक्रम सञ्चालनपछि २०८२ पुस १२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हो।

निर्वाचन कार्यक्रमअनुसार २०८२ पुस १३ र १४ गते बन्दसूची पेश गर्दा ६४ वटा दलले ५८ निर्वाचन चिन्हमार्फत ३,४२४ जना उम्मेदवारको बन्दसूची पेश गरेका छन्।

आयोगले सूची रुजु गरी त्रुटि सच्याउन पुस २७ गतेसम्म समय दिएको छ। बन्दसूचीमा नाम परे पनि उम्मेदवार हुन नचाहनेले पुस २८ गते नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ।

दाबी–विरोध प्रक्रिया सम्पन्न भएपछि २०८२ माघ २० गते उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरिने आयोगले जनाएको छ। समानुपातिक प्रणालीतर्फ ५८ निर्वाचन चिन्ह रहने गरी मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट सुरु भइसकेको छ।

पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ २०८२ माघ ६ गते उम्मेदवारी मनोनयन हुने कार्यतालिका रहेको छ। यसका लागि आवश्यक तयारीस्वरूप पुस २५ देखि लागू हुने गरी सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त भइसकेका छन्।

त्यसैगरी, २०८२ माघ २ गते सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने आयोगले जनाएको छ।

बजेट र सामग्री व्यवस्थापन

निर्वाचनका लागि आयोगले ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार बजेट माग गरेकोमा हालसम्म ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँ प्राप्त भइसकेको छ। प्राप्त बजेट विभिन्न शीर्षक र कार्यालयगत रूपमा बाँडफाँट गरी परिचालन भइरहेको छ।

निर्वाचन सामग्री व्यवस्थापनमा विकेन्द्रित प्रणाली अपनाउँदै आयोगले पुनः प्रयोग गर्न सकिने सामग्रीको अधिकतम उपयोग गर्ने नीति लिएको छ। ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकार जिल्लास्तरमै खरिद गरिने र बाँकी १४ प्रकार आयोगबाट व्यवस्थापन गरिने व्यवस्था गरिएको छ।