त्रिशक्तिसहितका तेल उत्पादन गर्ने नारायणी आयलको व्यापारमा उछाल, १२३% ले बढ्यो कारोबार

154
Shares

काठमाडौं । त्रिशक्तिसहित अन्य ६ वटा ब्रान्डका तेल उत्पादन तथा बिक्री गर्दै आएको नारायणी आयल रिफाइनरी उद्योग प्रालिले एकै वर्षमा सवा १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब २१ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो ।

सन् २०२४ मा ४ अर्ब ५८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ६ अर्ब ४१ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीका अनुसार गत आर्थिक वर्षमा व्यापारमा ठूलो सुधार (रिबाउन्ड) आएको हो । अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार करिब १२३ प्रतिशतले बढेको छ ।

कम्पनीको व्यापार बढ्नुमा भारतले भन्सार नीतिमा गरेको परिवर्तन मुख्य कारण मानिएको छ । कम्पनीको कुल आम्दानीमध्ये ६७ प्रतिशत हिस्सा निर्यातबाट प्राप्त भएको रेटिङ रिपोर्टमा उल्लेख छ । सन् २०२४ मा निर्यातको हिस्सा मात्र ४ प्रतिशत रहेकोमा गत वर्ष यसमा व्यापक वृद्धि भएको हो ।

विगतका वर्षहरूमा उच्च खुद घाटा व्यहोर्दै आएको कम्पनीले गत आर्थिक वर्षमा ५.२९ प्रतिशत खुद नाफा कमाउन सफल भएको छ । साथै, कम्पनीको कुल सञ्चित नगद ५७ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

सन् १९८९ मा स्थापना भएको यस उद्योगले विगत तीन दशकदेखि विभिन्न प्रकारका खानेतेल प्रशोधन गरी बिक्री गर्दै आएको छ । कम्पनीले भटमास, पामोलिन, वनस्पति घिउ/तेल, तोरी, सनफ्लावर र पाम आयल प्रशोधन गर्दछ । उद्योगको वार्षिक प्रशोधन क्षमता १ लाख २८ हजार ५ सय मेट्रिक टन रहेको छ ।

कम्पनीले आफ्ना उत्पादनहरू त्रिशक्ति, स्माइल, आरोग्य, श्री, निलम, कुन्दन र निल्कमल ब्रान्डमा आन्तरिक तथा भारतीय बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ५ अर्ब १७ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा १ अर्ब ६५ करोड रुपैयाँ दीर्घकालीन कर्जा र ३ अर्ब ५२ करोड ४० लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि रहेको छ ।

तेल प्रशोधनका लागि आवश्यक कच्चा पदार्थ विभिन्न देशबाट आयात गर्ने यस कम्पनीको कुल कारोबारको ९० प्रतिशत हिस्सा कच्चा पदार्थको आयातमा खर्च हुने गरेको छ । चचन फ्यामिली ग्रुपद्वारा सञ्चालित यस कम्पनीको निर्देशक निखिल चचन हुन् ।