
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेको छ। नयाँ मूल्य निर्धारण भएसँगै छापावाल सुन प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँ पुगेको छ। बिहीबार सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य भने गत पुस १३ गते कायम भएको थियो, जतिबेला सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको थियो। आजको मूल्य सो ऐतिहासिक उचाइभन्दा २ हजार ८०० रुपैयाँ मात्र कम हो।
यता, चाँदीको मूल्यमा भने शुक्रबार गिरावट देखिएको छ। प्रतितोला ५५ रुपैयाँले घटेर चाँदीको मूल्य ४ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
बिहीबार चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
चाँदीले भने केही दिनअघि मात्रै नयाँ रेकर्ड कायम गरेको थियो। गत पुस २३ गते चाँदी हालसम्मकै उच्च प्रतितोला ४ हजार ९३५ रुपैयाँ पुगेको थियो। त्यसयता चाँदीको मूल्यमा क्रमिक गिरावट आइरहेको छ।








प्रतिक्रिया