काठमाडौं बाहिर पहिलो पटक म्यारियट: लुम्बिनी प्यालेस पाँचतारे रिसोर्टको सम्झौता


भैरहवा । विगत तीन वर्षदेखि निरन्तर नाफामा सञ्चालन भइरहेको लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले विश्वप्रसिद्ध होटल चेन ‘म्यारियट इन्टरनेशनल’सँगको सहकार्यमा आफ्नो सेवालाई स्तरवृद्धि गर्ने भएको छ ।

रुपन्देहीको सियारी वडा नं. ५ मा २०७५ सालदेखि सञ्चालनमा रहेको यस रिसोर्ट अब ‘लुम्बिनी म्यारियट रिसोर्ट एण्ड स्पा’ को ब्राण्डमा पाँचतारे होटलका रूपमा सञ्चालन हुनेछ ।

काठमाडौं उपत्यका बाहिर म्यारियट इन्टरनेशनलको यो पहिलो र एकमात्र उपस्थिति हुनेछ । यसका लागि रिसोर्ट र ग्लोबल हस्पिटालिटी लाइसेन्सिङ म्यारियट इन्टरनेशनलबीच होटल व्यवस्थापन सम्झौता भएको छ ।

सम्झौतामा रिसोर्टको तर्फबाट अध्यक्ष दीपक पाण्डे, प्रबन्ध सञ्चालक रोशन कुमार न्यौपाने लगायत सञ्चालकहरू र म्यारियट इन्टरनेशनलको तर्फबाट एसिया प्यासिफिक प्रमुख सञ्चालन अधिकृत नीरज गोविल, दक्षिण एसिया विकासका सिनियर भाइस प्रेसिडेन्ट किरण एन्डिकोट र भाइस प्रेसिडेन्ट जुही रोय लगायतका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

नेपालकै पहिलो ‘वाटर रिसोर्ट’

रिसोर्टले यसै आर्थिक वर्षको अन्त्यसम्ममा पाँचतारे होटलको सञ्चालन अनुमति लिने लक्ष्य राखेको छ । नेपालको पर्यटन उद्योगमै नयाँ अवधारणासहित यो रिसोर्ट नेपालकै पहिलो र एकमात्र ‘वाटर रिसोर्ट’को रूपमा सञ्चालन हुनेछ ।

यहाँ अत्याधुनिक एवं फ्युचरिस्टिक प्रविधियुक्त वाटर फाउन्टेन, वाटर शो, म्युजिकल फाउन्टेन, थ्रीडी वाटर स्क्रिन, मोटर बोटिङ, मिनी क्रुज, वाटर रेस्टुरेन्ट र वाटर स्पा जस्ता दर्जनौं रोमाञ्चक सुविधाहरू उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।

जलवायु परिवर्तन, ग्लोबल वार्मिङ र पारिस्थितिक असन्तुलनजस्ता विश्वव्यापी चुनौतीलाई मध्यनजर गर्दै रिसोर्टले नेपालको पहिलो ‘ग्रीन सर्टिफिकेसन (गोल्ड)’ सहितको वेलनेस रिट्रिट र इको रिसोर्टको रूपमा आफूलाई विकास गर्ने लक्ष्य लिएको छ । यसका लागि वातावरण संरक्षण, ऊर्जा बचत, दिगो विकास र न्यून प्रदूषणका मापदण्डहरू पूर्ण पालना गरिनेछ कम्पनीले जनाएको छ ।

साथै, प्राकृतिक स्वास्थ्य र नेटुरोथेरापीलाई प्रवद्र्धन गर्दै ‘अर्गानिक सर्टिफिकेसन’ सहित नेपालको पहिलो र एकमात्र ‘अर्गानिक फाइभ स्टार वेलनेस लक्जरी रिसोर्ट’ बनाउने योजना कम्पनीको छ ।

स्पोर्ट्स टुरिजम र बुद्ध दर्शनको प्रवद्र्धन

नेपालमा खेलिने सम्पूर्ण प्रमुख खेलका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय स्तरको पूर्वाधारसहित यसलाई ‘मल्टी स्पेसियालिटी रिसोर्ट’ का रूपमा विकास गरिनेछ, जसले नेपालको खेल पर्यटनलाई ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।

शान्तिका प्रतीक गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिकै रहेकाले यस रिसोर्टमा बुद्ध थिम पार्क, मिनी स्तूप, मिनी बुद्ध म्युजियम, मेडिटेसन जोन र कल्चरल सेन्टरहरूको अद्भुत सम्मिश्रण रहनेछ ।

आईपीओको तयारी

रिसोर्टलाई विश्वस्तरीय गन्तव्य बनाउन अन्तर्राष्ट्रिय होटल व्यवस्थापनमा २७ वर्षभन्दा बढीको अनुभव भएका विजयनानमारन षण्मुगमलाई अपरेशन र एसेट्स डेभलपमेन्टको भाइस प्रेसिडेन्ट (व्यवस्थापन प्रमुख) का रूपमा नियुक्त गरिएको छ । साथै, अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त विज्ञहरूलाई कन्सल्टेन्टका रूपमा समेत नियुक्त गरिएको छ ।

रिसोर्टले अन्तर्राष्ट्रिय स्तरका सभा-सम्मेलन, विवाह र व्यक्तिगत कार्यक्रमका लागि नेपालकै उत्कृष्ट गन्तव्य बन्ने लक्ष्य राखेको छ ।

रिसोर्टले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनको आवश्यक तयारी समेत अघि बढाएको जनाएको छ ।