
काठमाडौं । नेपालका लागि एप्पल ब्रान्डको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेशनले एकै वर्ष साढे ६ अर्ब रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष ६ अर्ब ५९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।
सन् २०२४ मा ४ अर्ब २९ करोड १० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा २ अर्ब २१ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा ३ अर्ब ५७ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार गत आवमा ५४ प्रतिशतले बढेको जनाएको छ ।
कम्पनीले गत आवमा ३.२३ प्रतिशत खुद नाफा कमाएको छ । त्यसैगरी कम्पनीको कुल सञ्चय नगद उच्च बढेको छ । सन् २०२४ मा ११ करोड रुपैयाँ कुल सञ्चय नगद रहेकोमा गत आवमा बढेर २२ करोड २० लाख रुपैयाँ रहेको जनाएको छ ।
कम्पनी एप्पल ब्रान्डको मात्रै आधिकारिक बिक्रेता नभएर डेल ब्रान्डको पनि आधिकारिक बिक्रेता हो । कम्पनीले दुई वटा कार्यालय अर्थात् ग्राहक सेवा केन्द्रबाट सेवा दिँदै आएको छ ।
कम्पनीले पछिल्ला वर्षहरुमा एप्पल ब्रान्डको सामग्रीको व्यापार उच्च हुन थालेको जनाएको छ ।
सन् २०२३ मा एप्पल ब्रान्डको सामग्रीबाट ५० प्रतिशत व्यापार गरेकोमा अहिले बढेर गत आवमा ९७ प्रतिशत आम्दानी एप्पल ब्रान्डबाट भएको रेटिङमा उल्लेख छ ।
पवनकुमार भिमसरियाको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ३७ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि १ करोड ९० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ३६ करोड रुपैयाँको रेटिङ गराएको हो।








प्रतिक्रिया