अशोक स्टिलको व्यापार २१ प्रतिशतले बढ्यो, साढे ४ अर्बको कारोबार


काठमाडौं । अशोक स्टिल इन्डष्ट्रिजको व्यापार २१ प्रतिशतले बढेको छ ।

कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा २१ प्रतिशतले व्यापार बढेको हो ।

सन् २०२४ मा ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२५ मा ४ अर्ब ३४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२३ मा ६ अर्ब ६६ करोड रुपैयाँको व्यापार गरेको थियो । गत आवमा कम्पनीको व्यापारमा केही सुधार आएको देखिन्छ । कम्पनीले गत आवमा ७ प्रतिशत नाफा कमाएको छ ।

सन् १९८४ मा स्थापना भएको कम्पनीले डण्डी उत्पादन गर्दै आएको छ । कम्पनीले वार्षिक १ लाख मेट्रिक टन क्षमतामा डण्डी उत्पादन गर्दै आएको छ ।

कम्पनीले डण्डीसँगै स्पञ्ज आइरन र स्क्रयाप आइरन कच्चा पदार्थ प्रयोग गरी एमएस बिलेट उत्पादन गर्दै आएको छ ।

कम्पनीले उत्पादन गरेको डण्डी अशोक टीएमटी ब्रान्डमा बिक्री गर्दै आएको छ ।

कम्पनीले गरेको व्यापारमध्ये ७६ प्रतिशत हिस्सा कच्चा पदार्थको रहेको उल्लेख छ । सन् २०२४ मा ७२ प्रतिशत हिस्सा कच्चा पदार्थको थियो ।

पुनमचन्द अग्रवाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ४३ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ७९ करोड २३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ६३ करोड ७७ लाख रुपैयाँको रेटिङ गराएको हो ।