सरकारले ल्यायो मस्यौराको गुणस्तर सम्बन्धी मापदण्ड, कस्तो बनाउन पाइन्छ ?


काठमाडौं । सरकारले दलहन र खाद्यान्नको सहयोगमा तयार पारिने मस्यौराको गुणस्तर सम्बन्धी मापदण्ड ल्याएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविध तथा गुण नियन्त्रण विभागले तयार पारेको गुणस्तर सम्बन्धी मापदण्ड सोमबार राजपत्रमा प्रकाशित भएको छ ।

राजपत्रमा प्रकाशित भएको गुणस्तर सम्बन्धी मापदण्डअनुसार दलहन र खाद्यान्नको सहयोगमा तयार पारिने खाद्य वस्तुलाई मस्यौराको रुपमा परिभाषित गरेको छ ।

मास (कालो दाल) वा अन्य दलहनलाई भिजाएर त्यसको बोक्रा पूर्ण वा आंशिक रुपमा हटाएर पिसेर लेदो बनाएर त्यसमा बोक्रा हटाएर स-सानो टुक्रा पारिएको पिंडालु, कर्कलो, तरुल, आलु, कुभिण्डो, तरकारी तथा सागपातलगायतका खाद्य पदार्थ मिसाई वा नमिसाई स सानो गोलो डल्लो वा अन्य आकारको बनाई प्राकृतिक रुपमा किण्वन (ब्याक्टेरिया र खमीरद्वारा कार्बोहाइड्रेटको टुक्रिने प्रक्रिया) हुन नदिएर उपयुक्त विधी (घाम, सोलार ड्राइङ्ग वा मेकानिकल ड्राइङ्ग) प्रयोग गरी सुकाएर तयार गरिएको खाद्य पदार्थलाई मस्यौरा भनिने राजपत्रमा उल्लेख छ ।

यस्तो मस्यौरामा मसलाजन्य पदार्थ मिसाएको वा नमिसाइएको हुन सक्छ । मस्यौरामा अन्न, भटमास र त्यसबाट बनेका उत्पादनहरुको प्रयोग गर्न भने नपाइने मापदण्ड तोकिएको छ ।

मानव उपभोगको लागि उत्पादन तथा प्याकेजिङ्ग गरी बिक्री बितरण हुने मस्यौराको हकमा गुणस्तरसम्बन्धी मापदण्ड लागू गरिएको राजपत्रमा उल्लेख छ ।

मस्यौरा स्वच्छ र सफा हुनुका साथै चारित्रिक स्वाद र बास्नादान हुनुपर्ने मापदण्ड तोकिएको छ । यसमा ढुसी तथा किरा लागेको, सडेको तथा नओसिएको हुनुपर्ने छ । साथै यसमा कुनै पनि प्रकारको जैविक तथा अजैविक बाह्य पदार्थको उपस्थिति तथा बाह्य रंगको प्रयोग गर्न नपाइने मापदण्ड तोकिएको छ ।

मस्यौरामा जलांशको मात्रा प्रतिशतमा अधिकतम ११, कूल भष्म प्रतिशत(सुख्खा तौलको आधारमा बढीमा) ४, डाइलुट हाइड्रोक्लोरिक एसिडमा नघुलने भष्म प्रतिशत(सुख्खा तौलको आधारमा बढीमा) ०.१५ र कूल प्रोटिन प्रतिशत(सुख्खा तौलको आधारमा घटीमा) १५ हुनुपर्ने गुणस्तरसम्बन्धी मापदण्ड तोकिएको छ ।

मस्यौरामा अजैविक बाह्य पदार्थ (ढुङ्गा, बालुवा, काँच, प्लास्टिक वा त्यसको टुक्रा, माटो, धातुका टुक्रा) र जैविक बाह्य पदार्थ( कपाल, रौं, भुस, चोकर, परालका टुक्रा, अखाद्य दाना, जिउँदो वा मरेको कीरा, मुसा र पशुजनय अन्य फोहोर) समिश्रण गर्न नपाइने व्यवस्था गरिएको छ ।

मस्यौरामा जीवनाशक बिषादीको अवशेष, हेभी मेटल्स, सुक्षम जीवाणु तथा टक्सिन्सलगायतको हानिकारक तत्वका अवशेषको उपस्थित सरकारले तोकेअनुसारको मापदण्डअनुसार हुने व्यवस्था गरिएको छ ।

मस्यौराको उत्पादन, प्याकेजिङ्ग, ह्याण्डलिङ्ग, भण्डारण तथा ढुवानीमा स्वच्छता तथा गुणस्तर कायमसम्बन्धी सरकारले तोकेअनुसारको मापदण्डअनुसार हुने व्यवस्था गरेको छ ।

उत्पादन भएको मस्यौरामा सफा र सुख्खा खाद्य ग्रेडको प्याकेजिङ्ग सामग्रीमा सिलवन्दी गरी प्याकेजिङ्ग गर्नुपर्ने र प्याकेजिङ्ग गरिएको मस्यौराको लेवलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार तोकेअनुसारको विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मापदण्ड राजपत्रमा प्रकाशित भएको ९१ औं दिनदेखि कार्यानवनयमा आउने उल्लेख गरिएको छ ।