
काठमाडौं । चौधरी ग्रुप (सीजी)को सम्राट सिमेन्ट कम्पनीको व्यापार १४७ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १४७ प्रतिशतले बढेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ७७ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा ४ अर्ब ३६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।
त्यस्तै, कम्पनीले सन् २०२३ मा ३ अर्ब ३७ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा ४ अर्ब ८७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले चालु आवको पहिलो त्रैमासमा ८९ करोड ९० लाख रुपैयाँको व्यापार गरिसकेको छ । कम्पनीअनुसार गत आवमा व्यापार रिबाउन्ड हुँदै गएको जनाएको छ । कम्पनीले गत आवमा उच्च सिमेन्ट बिक्री गर्दा व्यापार पनि रिबाउन्ड भएको उल्लेख गरेको छ ।
कम्पनीले गत आवमा ४ लाख ३१ हजार ९ सय २८ मेट्रिक टन सिमेन्ट बिक्री गरेको छ । सन् २०२४ मा २ लाख १९ हजार ७ सय ६० मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । त्यसैगरी, गत आवमा कम्पनीले ६६ हजार २ सय २६ मेट्रिक टन क्लिङ्कर बिक्री गरेको थियो । सन् २०२४ मा ९ हजार २ सय ५० मेट्रिक टन मात्रै क्लिङ्कर बिक्री गरेको थियो ।
कम्पनीअनुसार गत आवमा सिमेन्टको मूल्य वृद्धि भएको जनाएको छ । गत आवमा कम्पनीले प्रतिबोरा सिमेन्टको मूल्य ४ सय ४० लाख रुपैयाँ तोकेको थियो । सन् २०२४ मा प्रतिबोरा सिमेन्टको मूल्य ३ सय ८८ रुपैयाँ तोकेको थियो । त्यस्तै, कम्पनीले गत आवमा ३४.७३ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा २१.४१ प्रतिशत नाफा कमाएको थियो ।
सन् २०१३ मा स्थापना भएको कम्पनीले दैनिक ३ हजार ६ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । साथै, कम्पनीले सन् २०२१ देखि दैनिक ४ हजार मेट्रिक टन क्षमतामा क्लिङ्कर उत्पादन गर्दै आएको छ । सन् २०२१ बाट क्लिङ्कर उत्पादन सुरु गरी व्यवसायिक कारोबार सुरु गरेको उद्योग निर्माण गर्न १३ अर्ब १२ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च भएको थियो ।
कम्पनीले पीपीसी, ओपीसी सिमेन्ट उत्पादन गरी गजराज, गजराज प्रिमियम, बाज, बाज प्रिमियम, बादशाह, सम्राट र सम्राट प्रिमियममा बिक्री वितरण गर्दै आएको छ । सीजी ग्रुपद्वारा सञ्चालित यस कम्पनीमा दुई जना निर्देशक छन् । निर्वाण चौधरी र बरुण चौधरी निर्देशक रहेको कम्पनीमा ७६ प्रतिशत स्वामित्व सीजी ग्रुपको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १३ अर्ब ९५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १० अर्ब ९३ करोड ९६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब १ करोड रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया