
काठमाडौं । तेज ब्रान्डको सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको कसमस सिमेन्ट इन्डस्ट्रिजको व्यापार लयमा फर्किएको छ । कम्पनीले एकै वर्षमा १ अर्ब ५४ करोड ८० लाख रुपैयाँको सिमेन्ट बिक्री वितरण गरेको हो ।
कसमस सिमेन्ट इन्डस्ट्रिजमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीप जंग पाण्डे, नेपाल सिमेन्ट उत्पादक संघका निवर्तमान अध्यक्ष ध्रुब थापासमेतको लगानी छ ।
कसमसले सन् २०१९ को १ अर्ब ५३ करोड ८० लाखको सिमेन्ट बिक्री गरेको थियो । त्यसयता त्यति ठूलो व्यापार गर्न सकेको थिएन । सन् २०२३ र २०२४ मा त कुल कारोबार १ अर्बभन्दा तल झरेको थियो । कम्पनीले सन् २०२५ मा गरेको व्यापार अहिलेसम्मकै धेरै हो ।
कम्पनीले सन् २०२४ मा ८९ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा ८४ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब १९ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३८ करोड रुपैयाँको कारोबार गरेको थियो ।
पछिल्लो विवरणअनुसार कसमसको व्यापार गत आवमा ७४ प्रतिशतले बढेको छ । साथै, कम्पनीले कारोबारबाट २८ प्रतिशत नाफा कमाएको छ । जुन पछिल्लो ५ वर्षको सबैभन्दा बढी हो ।
सन् २००० मा स्थापना भएको कम्पनीले क्लिङ्कर र सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले वार्षिक ३ लाख मेट्रिक टन क्षमतामा क्लिंकर र ३ लाख ९० हजार क्षमतामा ग्रान्डिङ सिमेन्ट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीमा अध्यक्ष पाण्डे सहित सञ्चालक ध्रुव थापा, हर्षमान श्रेष्ठ र प्रदीका छोरा प्रवलजङ पाण्डे लगायत सात जना व्यक्तिको स्वामित्व छ । कसमसको फ्याक्ट्री धनुषाको नक्टाझिज भन्ने ठाउँमा छ ।
कसमसले ओपीसी सिमेन्ट तेज गोल्ड सिमेन्ट ब्रान्ड र पीपीसी सिमेन्ट तेज सिमेन्ट र कस्मस सिमेन्ट ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको सिमेन्ट विशेषगरी कोशी र मधेस प्रदेशमा बढी बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ४० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब २ करोड ३४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३७ करोड ६५ लाख रुपैयााको रेटिङ गराएको हो ।








प्रतिक्रिया