
काठमाडौं । मार्जिन कारोबार सम्बन्धी व्यवस्था कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन कारोबार सम्बन्धी व्यवस्था कार्यान्वयनमा लैजाने अन्तिम तयारी गरेको हो । बोर्डले २०८२ मंसिर ८ गते ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२’ (प्रारम्भिक मस्यौदा) तयार गर्दै सात दिनभित्र राय सुझाव पेस गर्न आग्रह गरेको थियो ।
त्यसपछि हाल बोर्डले मार्जिन कारोबार सम्बन्धी व्यवस्था कार्यान्वयनको अन्तिम तयारी गरेको सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले जानकारी दिए । ‘हामी मार्जिन कारोबार सम्बन्धी व्यवस्था कार्यान्वयनमा लैजाने अन्तिम चरणमा छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘अबको केही समयमा नै यो कार्यान्वयनमा जानेछ ।’
उनले यसअघिको मस्यौदामा सुझावअनुसारका आवश्यक सुधार गरी कार्यान्वयनको अन्तिम तयारीमा रहेको जानकारी दिए । यद्यपि, नेपाल धितोपत्र बोर्डले निर्देशन जारी गरी कार्यान्वयनको घोषणा गरेपनि व्यवहारीक रुपमा यो कति प्रभावकारी ढंगमा लागू हुने? लगानीकर्ता आकर्षित हुन्छन् वा हुँदैनन्? भन्ने प्रश्न भने कायमै छ ।
स्टक ब्रोकरहरुले समेत हाल धितोपत्र बोर्डले ल्याएको नयाँ निर्देशनमा धेरै विषय सुधार भएपनि लगानीकर्ताको आकर्षण बढाउन र कार्यान्वयनमा जान भने कठिन भएको तर्क गरिरहेका छन् । यसका लागि थप सुधार र सहुलियत प्रदानको काम नगरे धितोपत्र बोर्डले निर्देशन लागू भएको घोषणा गर्दैमा कार्यान्वयनमा नजाने उनीहरुको दाबी छ ।
लगानीकर्ता किन आकर्षित नहुन सक्छन्?
सेयर धितो कर्जा र मार्जिन कारोबार दुई अलग विषय हुन् । तथापि, नेपालमा मार्जिन कारोबार नहुने भएकाले सेयर धितो कर्जा र मार्जिन कारोबारलाई एकै रुपमा बुझ्ने र परिभाषित गर्ने गरिन्छ । अझ भनौं, मार्जिन कारोबार लागू नभएकाले सेयर धितो कर्जालाई नै मार्जिन कारोबारको रुपमा बुझेको पाइन्छ ।
साधारणतया सेयरमा लगानी गर्नका लागि बैंकबाट लिने कर्जा सेयर धितो कर्जा हो भने सोही प्रयोजनका लागि स्टक ब्रोकर कम्पनीबाट सेयर खरिद बिक्रीकाे लागि उपलब्ध गराउने सीमा मार्जिन कारोबार हो । यसरी उपलब्ध गराउने मार्जिन सीमामा लगानीकर्ताले सेयर खरिद गर्छ र उसले लिएकाे सीमाअनुसार ब्याज भुत्तानी गर्नुपर्ने हुन्छ । यी दुईबीच आधारभूत र व्यावहारिक रुपमै थुप्रै भिन्नता छ ।
नेपालको कानुनी व्यवस्था बमोजिम बैंकले कुनै पनि व्यक्तिलाई सेयर कारोबारका लागि कर्जा उपलब्ध गराउन सक्छ, उक्त कर्जा नै सेयर धितो कर्जा हो । बैंकले आफ्नो व्यवस्थाअनुसार कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको पुरानो सेयर वा आगामी दिनमा खरिद गर्ने सेयरलाई धितोको रुपमा राखेर कर्जा प्रवाह गर्न सक्दछ ।
बैंकले धितोमा राख्ने सेयरको मूल्यांकन (भ्यालुएसन) गरेर त्यसको जोखिम मूल्यांकन गरी कर्जा उपलब्ध गराउँछ । लगानीकर्ताले आफ्नो पुँजी लगानी नगरी बैंकबाट लिएको कर्जाबाट नै सेयर कारोबार गर्ने काम यसमा हुन्छ ।
त्यस्तै, मार्जिन कारोबार भने ब्रोकर कम्पनीहरूमार्फत् लिइने कर्जा हो । यसमा ब्रोकरको कर्जा मात्रै नभएर लगानीकर्ताले पनि केही हिस्सा पुँजी लगाउनुपर्ने हुन्छ । जस्तैः तपाईंले कुनै एक कम्पनीको एक लाख रुपैयाँको सेयर खरिद गर्न लाग्नु भएको छ भने त्यो पूरा एक लाख रुपैयाँ कर्जाको रुपमा तपाईंले पाउनु हुन्न ।
अर्थात्, सेयर धितो कर्जाजस्तो एक लाख रुपैयाँ कर्जा लिएर आफ्नो पुँजी नलगाई सोही एक लाखको सेयर खरिद गर्न तपाईंले यसमा पाउनु हुन्न । एक लाखको निश्चित प्रतिशत पुँजी तपाईंले पनि लगाउनुपर्ने हुन्छ, जसलाई इनिसियल मार्जिन भनिन्छ ।
यदि, एक लाख रुपैयाँको सेयर खरिद गर्दा त्यसको ६० प्रतिशत इनिसियल मार्जिन तोकिएको छ भने सो अनुसारको ६० हजार रुपैयाँ लगानीकर्ता तथा कर्जा लिने व्यक्तिले हाल्नुपर्छ । यसपछि ४० हजार रुपैयाँ भने ब्रोकरले कर्जाको रुपमा प्रवाह गर्दछ ।
यसका अलावा मार्जिन कारोबारमा खरिद गरिएको सेयर व्यक्तिको नाममा मात्रै हुँदैन । यो ब्रोकरको नाममा हुन्छ । मार्जिन कारोबारमा ब्रोकरले कर्जा प्रवाह गरेबापत् निश्चित प्रतिशत ब्याज पनि लिन सक्छ । ब्रोकरले बैंकबाट कर्जा ल्याएर लगानीकर्तालाई प्रवाह गर्ने भएकाले बैंकबाट ल्याएको दरभन्दा केही बढी ब्याज ब्रोकरले लिनुपर्ने अवस्था हुन्छ ।
त्यसैले ब्रोकरले मार्जिन कारोबारका लागि बैंकबाट पाउने कर्जाको ब्याजदरमा सहुलियत नभएमा सेयरधितो कर्जा भन्दा मार्जिन कारोबार महँगो पर्न जान्छ जसले गर्दा लगानीकर्ता आकर्षित नहुन सक्छन् ।
स्टक ब्रोकर एसोसिएसन नेपालका पूर्व अध्यक्ष धर्मराज सापकोटा मार्जिन कारोबारमा ब्रोकरले बैंकबाट ऋण लिएर लगानीकर्तामा कर्जा दिने भएकाले बैंकको भन्दा केही महँगो ब्याजदर पर्न जाँदा लगानीकर्ता आकर्षित हुन नसक्ने बताउँछन् ।
‘ब्रोकरले पनि बैंकबाट नै कर्जा लिएर मार्जिन कारोबारका लागि कर्जा प्रवाह गर्ने हुन् । यदि मार्जिन कारोबारका लागि ब्रोकरलाई ब्याजदर सहज नबनाए अन्य खर्च जोड्दा सेयरधितो कर्जाको भन्दा महँगो पर्न जान्छ,’ सापकोटाले भने, ‘यसर्थ, ब्रोकरले यस कारोबारका लागि भने केही कम ब्याजदरमा कर्जा पाए मात्रै लगानीकर्ता आकर्षित हुन सक्छन् ।’
उनले यो व्यवहारीक पाटोलाई हेरेर अघि बढेमा मात्रै मार्जिन कारोबार प्रभावकारी हुनसक्ने बताए । मार्जिन कारोबारमार्फत् खरिद गरिएको सेयरको दैनिक मार्क–टू मार्केट गर्नुपर्ने हुन्छ । ब्रोकरले इक्विटी कति छ? बढिरहेको छ वा घटिरहेको छ? लगायत कुरा मूल्यांकन गर्छ । जस्तै, तपाईंको ६० हजार रुपैयाँ इक्विटी छ भने त्यो बढेको वा घटेको कुन अवस्थामा छ भन्ने कुरा ब्रोकरले निरन्तर हेर्दछ । ब्रोकरले आफ्नो हरेक ग्राहकको खातामा कति रकम बाँकी छ? कति प्रतिशतमा झर्यो वा बढ्यो? भनेर हेर्दछ ।
यदि सेयर मूल्य बढेर गयो भने उक्त सेयर बिक्रीबाट लिएको कर्जा तिर्ने काम हुन्छ । तर, खरिद गरिएको कम्पनीको सेयर मूल्य घटेर मार्जिन कम भयो भने ब्रोकर अप्ठ्यारोमा पर्न सक्छ । यसैले, ब्रोकरले अर्को मेन्टेनान्स मार्जिन भन्ने सीमा पनि तोकेको हुन्छ । यसमा लगानीको तल्लो तहको मार्जिन राखेअनुसार सो बिन्दुसम्म सेयर मूल्य घटेमा मार्जिन कल गरिन्छ ।
सेयर खरिद गर्न बैंकबाट लिएको कर्जामा अर्थात् सेयर धितो कर्जामा भने इक्वीटी राखिएको हुँदैन । उनीहरूले ऋण लिएर सेयरमा लगानी गरेका हुन्छन्। तर, मार्जिन कारोबारमा भने इक्वीटी राखिएको हुन्छ । यस्तै, मार्जिन कारोबार धितोपत्र बोर्डबाट निर्देशित हुन्छ भने सेयर धितो कर्जा राष्ट्र बैंकबाट निर्देशित हुन्छ ।
‘हालको मार्जिन कारोबार सम्बन्धी नयाँ मस्यौदामा कतिपय कुराहरु परिमार्जन गरिएका छन् । तर, अझै सहज भएको जस्तो भने देखिँदैन,’ सापकोटा भन्छन्, ‘कम्पनी दुई वर्ष नाफामा गएको भन्ने पनि छ र लाभांश बाँडेको हुनुपर्ने भन्ने पनि छ । नाफा राखेपछि लाभांशको कुरा नराखेको भए हुने थियो ।’
उनले पहिला भन्दा मस्यौदा थप राम्रो भएर आएको भए पनि कार्यान्वयनका लागि भने मुख्य विषय स्रोत व्यवस्थापन भएको बताए । ब्रोकरले प्रवाह गर्ने कर्जाका लागि आवश्यक पुँजी कति सहज ढंगमा प्राप्त हुन्छ भन्ने विषय यो कार्यान्वयनको प्रभावकारीतासँग जोडिने उनले बताए ।
‘मार्जिन कारोबारको कुरा गर्दै गर्दा यसको रिकभरीको विषय पनि मुख्य हो । हाम्रोमा रिकभरीको कानून र प्रणाली बलियो छैन,’ सापकोटा भन्छन्, ‘हामीले ऐन नभए नियमावली बनाएर भएपनि यसलाई सम्बोधन गरेर जानुपर्ने विषय उठाउँदै आएका छौं । अन्यथा, धितोपत्र बोर्डले कार्यान्वयनमा आयो भनेर भन्दैमा व्यवहारीक रुपमा कार्यान्वयनमा जाँदैन ।’ उनले रिकभरीको विषयलाई नियामक र सम्बन्धीत निकायले अझ प्रभावकारी ढंगमा हेर्न आवश्यक रहेको बताए ।
मार्जिन कारोबारका लागि योग्य कम्पनी
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पछिल्लो पटक २०८० माघ २९ गते मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीको सूची सार्वजनिक गरेको थियो । जसअनुसार ११२ वटा सूचीकृत कम्पनी मार्जिन कारोबारका लागि योग्य रहेको देखिन्ट ।
नेप्सेले कारोबारयोग्य भनेर सार्वजनिक गरेमध्ये १९ वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा फाइनान्स र १६ वटा हाइड्रोपावर समूहका कम्पनी छन् । यस्तै, जीवन बिमा समूहबाट ७ वटा, निर्जीवनबाट ९ र ४० लघुवित्त कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेको सूचीमा उल्लेख छ ।
जलविद्युत् लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष, हिमालन डिस्टिलरी, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बिमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिन कारोबारका लागि योग्यको सूचीमा सूचीकृत छन् ।
मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीको सूची नेप्सेले सो समयमा प्रकाशन गरेको थियो ।
नेप्सेले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य धितोपत्रको सूची सार्वजनिक गर्ने गर्दछ । यस्तो सूची आर्थिक वर्ष सुरु भएको सात महिनाभित्र अद्यावधिक गरिसक्नुपर्ने कार्यविधिमा उल्लेख छ । सोहीअनुसार नेप्सेले सूची सार्वजनिक गर्ने गर्दछ ।
नेप्सेले हरेक वर्ष मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनी छनोट गरे पनि मार्जिन सुविधा कार्यान्वयनमा आउन सकेको छैन । मार्जिन कारोबार भन्नाले धितोपत्र दलाल व्यवसायीमार्फत तोकिएको मार्जिन राखेर सेयर खरिद–बिक्री गर्ने काम हो । सामान्य अर्थमा पुँजी बजारका लगानीकर्ताले आफूसँग भएको रकमभन्दा बढी रकमको सेयर खरिद गर्न पाउने सुविधा मार्जिन कारोबारमा हुन्छ ।
मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशनका प्रावधान
तोपत्र दलाल व्यवसायी मार्फत् लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउने उद्देश्यले बोर्डले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२’को मस्यौदा तयार गरेको थियो ।
निर्देशनअनुसार कम्तिमा ५० लाख कित्ता सर्वसाधारण सेयर सूचिकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर र सो भन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष लाभांश वितरण गरेको, प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत् निष्काशन भएको सेयर सूचिकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको र धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पालना गरेको सूचिकृत संगठित संस्थाको सेयर मार्जिन कारोबार सुविधाको लागि योग्य हुनेछ ।
मार्जिन कारोवार सुविधा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायीको योग्यता पनि बोर्डले तोकेको छ । जसमा चुक्ता पुँजी कम्तिमा २० करोड रुपैयाँ भएको, राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्यता प्राप्त गरेको, र धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पालना गरेको धितोपत्र दलाल व्यवसायीले यो सुविधा पाउनेछन् ।
प्रारम्भिक मार्जिन र सम्भार मार्जिन सम्बन्धी व्यवस्थामा धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवासायीले सूचिकृत संगठित संस्थाको सेयरको १८० दिनको औषत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको न्यूनतम अनुसूची–१ बमोजिमको प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग प्रारम्भिक मार्जिनको रुपमा लिनु पर्नेछ ।
मार्जिन कारोबार सुविधा अन्र्तगत खरिद गरिएको सेयरको विवरण तथा मार्जिन रकमको विवरण ग्राहकको छुट्टाछुट्टै अभिलेख बनाई राख्नु पर्नेछ र प्रारम्भिक मार्जिनको रुपमा लिइएको सेयर र मार्जिन सुविधा अन्तर्गत खरिद भएको सेयरको मूल्यांकन दैनिक रुपमा मार्कंट टु मार्केटको आधारमा गर्नुपर्नेछ व्यवस्था पनि बोर्डले गरेको छ । तर, उक्त सेयरको मूल्यमा भएको बृद्धिको आधारमा थप सुविधा दिन पाइने छैन ।
ग्राहकको जोखिम मूल्यांकन, बजारको अवस्था तथा सूचिकृत संगठित संस्थाको शेयरमा निहित जोखिमलाई दृष्टिगत गरी धितोपत्र दलाल व्यवसायीले मार्जिनभन्दा बढी मार्जिन माग गर्न सक्नेछ भने धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्तासँग न्यूनतम हुन आउने रकम सम्भार मार्जिन कायम राख्नुपर्नेछ व्यस्था मस्यौदामा प्रस्ताव गरिएको छ ।
यसअघि धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४ जारी गरेको थियो जुन कार्यान्वयन नभएपछि हाल नयाँ निर्देशनको मस्यौदा तयार गरिएको हो । अब यसलाई कार्यान्वयनमा लैजाने तयारी बोर्डले गरेको हो ।
मार्जिन कारोबार सुविधा प्रदान गर्न सकिने अधिकतम सीमाः
(१) धितोपत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन कारोवार सुविधा उपलब्ध गराउन सक्ने छ ।
(२) धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढिमा २० प्रतिशतभन्दा बढी मार्जिन कारोवार सुविधा उपलब्ध गराउन सक्ने छैन ।
(३) धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा प्रदान गर्दा लगानी विविधिकरणलाई समेत ध्यान दिनुपर्नेछ ।
मार्जिन कारोवारको राफसाफ सम्बन्धी व्यवस्थाः
(१) धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा अन्तर्गत खरिद भएको शेयर दैनिक रुपमा कारोवार गर्दा वा कारोवार पश्चात् वा राफसाफको समयमा पहिचान गरी राख्नुपर्नेछ ।
(२) मार्जिन कारोवार सुविधा प्राप्त गर्ने लगानीकर्ताले धितोपत्र दलाल व्यसायी मार्फत छुट्टै मार्जिन कारोवार खाता र मार्जिन कारोवार हितग्राही खाता खोल्नुपर्नेछ ।
(३) धितोपत्र दलाल व्यवसायीले राफसाफ प्रयोजनका लागि केन्द्रीय निक्षेप कम्पनीमा मार्जिन कारोवार राफसाफ हितग्राही खाता खोल्नुपर्नेछ ।
(४) मार्जिन कारोवार गर्ने लगानीकर्ताको मार्जिन कारोवार हितग्राही खातालाई धितोपत्र दलाल व्यसायी मार्फत खोलिएको मार्जिन कारोवार खाता र राफसाफ सदस्यको मार्जिन कारोवार राफसाफ हितग्राही खातासँग आबद्ध गर्नुपर्नेछ ।
(५) लगानीकर्तालाई मार्जिन कारोवार सुविधा प्रदान गर्दा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार खाता र मार्जिन कारोवार हितग्राही खाता संचालन सम्बन्धी अधिकृत वारेसनामा लिन सक्नेछ।
(६) लगानीकर्ताले मार्जिन कारोबार सुविधा वापत लिएको रकम चुक्ता नगरेमा वा सम्भार मार्जिन कायम गर्न नसकेमा शेयर बिक्री तथा राफसाफ गर्ने प्रयोजनका लागि मात्र उपदफा (५) बमोजिम लिईको अधिकृत वारेसनामा धितोपत्र दलाल व्यवसायीले प्रयोग गर्नुपर्नेछ । यससम्बन्धी भएको कार्यको विवरण धितोपत्र बजारलाई समेत जानकारी गराउनुपर्नेछ ।
(७) यस दफामा जुनसुकै कुरा लेखिएको भएतापिन धितोपत्र दलाल व्यवसायीको कारोबार प्रणालीमा रहेको लगानीकर्ताको कारोबार खाताबाट नै मार्जिन कारोवार सुविधा दिन सकिने अवस्था भएमा छुट्टै मार्जिन कारोबार खाताको आवश्यकता पर्नेछैन








प्रतिक्रिया