
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ को आम निर्वाचनबाट सक्षम र योग्य युवाहरू संसदमा पुग्नु लोकतन्त्रका लागि सकारात्मक संकेत भएको बताएका छन्।
कोइरालाले युवाहरू राष्ट्रको परिवर्तनका वाहक भएको उल्लेख गर्दै आगामी संसदमा नीति निर्माणका क्रममा उनीहरूको भूमिका देख्न पाइने विश्वास व्यक्त गरेका छन् ।
‘यसै लोकतान्त्रिक पद्धतिलाई आत्मसात गरेर सक्षम र योग्य युवाहरू भर्खरै सम्पन्न निर्वाचनमा विजयी हुनुभएको छ । युवाहरू जो यो राष्ट्रको परिवर्तनका वाहक हुन्, भावी संसदमा हामी उनीहरूलाई नीति निर्माणमा पुगेको देख्नेछौं । यो खुशीको कुरा हो,’ उनले जारी गरेको वक्तव्यमा उल्लेख गरेका छन्।
फागुन २१ गते सम्पन्न आम निर्वाचनपछि देश अब सरकार निर्माणको दोस्रो चरणमा प्रवेश गरेको उल्लेख गर्दै कोइरालाले लोकतान्त्रिक निर्वाचनले जित–हारभन्दा माथि उठेर राजनीतिक संस्कार र संस्कृतिको विकास गर्ने बताएका छन् । उनका अनुसार लोकतान्त्रिक पद्धतिबाट आम नागरिकको भरोसा जितेको सरकारले मात्र राष्ट्रको एकता, अखण्डता र सार्वभौमिकताको रक्षा र संवर्द्धन गर्न सक्छ।
यसैबीच उनले मोरङ जिल्ला क्षेत्र नम्बर ६ बाट अत्यधिक मतका साथ विजयी भएकी रुविना आचार्य लाई बधाई दिएका छन् । आचार्यले आफ्नो कार्यकालमा क्षेत्रका जनताको सेवा, सुधार र समृद्धिका लागि गर्ने काममा आफ्नो साथ र समर्थन रहने उनले बताएका छन् ।
कोइरालाले आफूलाई मत दिएर विश्वास व्यक्त गर्ने क्षेत्र नम्बर ६ का मतदाताप्रति आभार व्यक्त गर्दै निर्वाचन शान्तिपूर्वक सम्पन्न गराउन भूमिका खेल्ने प्रशासन र सुरक्षा निकायलाई पनि धन्यवाद दिएका छन् ।








प्रतिक्रिया