
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन कारोबार सम्बन्धी व्यवस्था अघि बढाएको छ । बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२ (प्रारम्भिक मस्यौदा) तयार गर्दै मार्जिन कारोबार सम्बन्धी व्यवस्था अघि बढाएको हो ।
धितोपत्र दलाल व्यवसायी मार्फत् लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउने उद्देश्यले बोर्डले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२’को मस्यौदा तयार गरेको हो ।
निर्देशनअनुसार कम्तिमा ५० लाख कित्ता सर्वसाधारण सेयर सूचिकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर र सो भन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष लाभांश वितरण गरेको, प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत् निष्काशन भएको सेयर सूचिकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको र धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पालना गरेको सूचिकृत संगठित संस्थाको सेयर मार्जिन कारोबार सुविधाको लागि योग्य हुनेछ ।
मार्जिन कारोवार सुविधा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायीको योग्यता पनि बोर्डले तोकेको हो । जसमा चुक्ता पुँजी कम्तिमा २० करोड रुपैयाँ भएको, राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्यता प्राप्त गरेको, र धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पालना गरेको धितोपत्र दलाल व्यवसायीले यो सुविधा पाउनेछन् ।
प्रारम्भिक मार्जिन र सम्भार मार्जिन सम्बन्धी व्यवस्थामा धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवासायीले सूचिकृत संगठित संस्थाको सेयरको १८० दिनको औषत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको न्यूनतम अनुसूची–१ बमोजिमको प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग प्रारम्भिक मार्जिनको रुपमा लिनु पर्नेछ ।
मार्जिन कारोबार सुविधा अन्र्तगत खरिद गरिएको सेयरको विवरण तथा मार्जिन रकमको विवरण ग्राहकको छुट्टाछुट्टै अभिलेख बनाई राख्नु पर्नेछ र प्रारम्भिक मार्जिनको रुपमा लिइएको सेयर र मार्जिन सुविधा अन्तर्गत खरिद भएको सेयरको मूल्यांकन दैनिक रुपमा मार्कंट टु मार्केटको आधारमा गर्नुपर्नेछ व्यवस्था पनि बोर्डले गरेको छ । तर, उक्त सेयरको मूल्यमा भएको बृद्धिको आधारमा थप सुविधा दिन पाइने छैन ।
ग्राहकको जोखिम मूल्यांकन, बजारको अवस्था तथा सूचिकृत संगठित संस्थाको शेयरमा निहित जोखिमलाई दृष्टिगत गरी धितोपत्र दलाल व्यवसायीले मार्जिनभन्दा बढी मार्जिन माग गर्न सक्नेछ भने धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्तासँग न्यूनतम हुन आउने रकम सम्भार मार्जिन कायम राख्नुपर्नेछ व्यस्था मस्यौदामा प्रस्ताव गरिएको छ ।
यसअघि धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४ जारी गरेको थियो जुन कार्यान्वयन नभएपछि हाल नयाँ निर्देशनको मस्यौदा तयार गरिएको हो ।
मार्जिन कारोबार सुविधा प्रदान गर्न सकिने अधिकतम सीमाः
(१) धितोपत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन कारोवार सुविधा उपलब्ध गराउन सक्ने छ ।
(२) धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढिमा २० प्रतिशतभन्दा बढी मार्जिन कारोवार सुविधा उपलब्ध गराउन सक्ने छैन ।
(३) धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा प्रदान गर्दा लगानी विविधिकरणलाई समेत ध्यान दिनुपर्नेछ ।
मार्जिन कारोवारको राफसाफ सम्बन्धी व्यवस्थाः
(१) धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा अन्तर्गत खरिद भएको शेयर दैनिक रुपमा कारोवार गर्दा वा कारोवार पश्चात् वा राफसाफको समयमा पहिचान गरी राख्नुपर्नेछ ।
(२) मार्जिन कारोवार सुविधा प्राप्त गर्ने लगानीकर्ताले धितोपत्र दलाल व्यसायी मार्फत छुट्टै मार्जिन कारोवार खाता र मार्जिन कारोवार हितग्राही खाता खोल्नुपर्नेछ ।
(३) धितोपत्र दलाल व्यवसायी ( राफसाफ सदस्य) ले राफसाफ प्रयोजनका लागि केन्द्रीय निक्षेप कम्पनीमा मार्जिन कारोवार राफसाफ हितग्राही खाता खोल्नुपर्नेछ ।
(४) मार्जिन कारोवार गर्ने लगानीकर्ताको मार्जिन कारोवार हितग्राही खातालाई धितोपत्र दलाल व्यसायी मार्फत खोलिएको मार्जिन कारोवार खाता र राफसाफ सदस्यको मार्जिन कारोवार राफसाफ हितग्राही खातासँग आबद्ध गर्नुपर्नेछ ।
(५) लगानीकर्तालाई मार्जिन कारोवार सुविधा प्रदान गर्दा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार खाता र मार्जिन कारोवार हितग्राही खाता संचालन सम्बन्धी अधिकृत वारेसनामा लिन सक्नेछ।
(६) लगानीकर्ताले मार्जिन कारोबार सुविधा वापत लिएको रकम चुक्ता नगरेमा वा सम्भार मार्जिन कायम गर्न नसकेमा शेयर बिक्री तथा राफसाफ गर्ने प्रयोजनका लागि मात्र उपदफा (५) बमोजिम लिईको अधिकृत वारेसनामा धितोपत्र दलाल व्यवसायीले प्रयोग गर्नुपर्नेछ । यससम्बन्धी भएको कार्यको विवरण धितोपत्र बजारलाई समेत जानकारी गराउनुपर्नेछ ।
(७) यस दफामा जुनसुकै कुरा लेखिएको भएतापिन धितोपत्र दलाल व्यवसायीको कारोबार प्रणालीमा रहेको लगानीकर्ताको कारोबार खाताबाट नै मार्जिन कारोवार सुविधा दिन सकिने अवस्था भएमा छुट्टै मार्जिन कारोबार खाताको आवश्यकता पर्नेछैन ।








प्रतिक्रिया