समृद्ध भेनेजुएलामा खराब शासकका कारण प्राकृतिक स्रोत पनि बन्यो अभिशाप


एजेन्सी । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी न्युयोर्क लगेपछि अहिले धेरैजनालाई उक्त देशप्रति चासो बढेर गएको छ । यहाँ भेनेजुएलाको संक्षिप्त जानकारी दिइएको छ ।

भेनेजुएलाको पूरा नाम बोलिभारियन रिपब्लिक अफ भेनेजुएला हो । स्पेनको शासनविरुद्ध स्वतन्त्रता आन्दोलनको नेतृत्व गर्ने दक्षिण अमेरिकी क्रान्तिकारी सिमोन बोलिभारको सम्मानमा सन् १९९९ मा ह्युगो चाभेजले नयाँ संविधानमा यो नाम राखिएको थियो ।

भेनेजुएला नामको शाब्दिक अर्थ सानो भेनिस हो । सन् १४९९ मा स्पेनी अन्वेषक अलोन्सो डे ओजेडा त्यहाँ पुग्दा उनले माराकाइबो तालमा पानीमाथि खम्बामा ठडिएका आदिवासीका घरहरू देखे । त्यसले उनलाई इटालीको भेनिस शहरको सम्झना दिलायो । यसैकारण उनले यस क्षेत्रको नाम भेनेजियोला राखे ।

भेनेजुएलामा विश्वकै सबैभन्दा अग्लो र निरन्तर खस्ने झरना एन्जल फल्स छ । त्यसको उचाइ ९७९ मिटर (३२ सय १२ फिट) छ । स्थानीय रूपमा साल्टो एन्जेल भनिने यो झरना अयान–तेपुई पर्वतको शिखरबाट खस्छ र यो प्रसिद्ध नियाग्रा फल्सभन्दा करिब १५ गुणा अग्लो छ ।

साउदी अरबलाई उछिनेर भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार छ । यस देशसँग करिब ३०३ अर्ब ब्यारल तेल छ तर यसको धेरैजसो हिस्सा भारी कच्चा तेल छ । त्यसलाई निकाल्न र प्रशोधन गर्न कठिन र महँगो हुन्छ । यो तेलमा अमेरिका र चीनको ठूलो चासो छ ।

भेनेजुएलाको माराकाइबो तालमा विश्वमै सबैभन्दा बढी चट्याङ पर्ने गर्दछ । काटाटुम्बो लाइटनिङ भनिने यो घटना वर्षमा २६० रातसम्म र प्रतिरात करिब १० घण्टासम्म चल्छ । यसले एकै क्षेत्रमा वार्षिक करिब १२ लाखपटक चट्याङ उत्पन्न गर्दछ । यो कुनै पनि मापदण्डमा आश्चर्यजनक छ ।

भेनेजुएला विश्वका १७ मेगाडाइभर्स (अत्यधिक जैविक विविधता भएका) देशहरूमध्ये एक हो । पृथ्वीको सतहको १ प्रतिशतभन्दा कम हिस्सा ओगटे पनि यहाँ विश्वको १० प्रतिशत जैविक विविधता पाइन्छ । यहाँ १४ सयभन्दा बढी चराका प्रजाति, ३५१ स्तनधारी र ३४१ सरीसृप प्रजातिहरू छन् । यो जैविक विविधताका दृष्टिले अत्यन्तै धनी छ ।

विश्वको सबैभन्दा ठूलो मुसा प्रजातिको जीव क्यापिबारा भेनेजुएलाको रैथाने जीव हो । यी अर्धजलीय स्तनधारी प्राणीहरूको तौल ६६ केजी सम्म हुन सक्छ । लेन्ट (ईसाईहरूको उपवासको समय) मा यसलाई विशेष परिकारको रूपमा खाइन्छ किनकि क्याथोलिक चर्चले ऐतिहासिक रूपमा यसलाई माछाको श्रेणीमा राखेको थियो । यो धेरै समय पानीमा बिताउँछ ।

भेनेजुएला सबै प्रकारका अपराधका लागि मृत्युदण्ड उन्मूलन गर्ने पहिलो दक्षिण अमेरिकी देश हो । उसले सन् १८६३ मै यस्तो निर्णय गरेको थियो । उसले धेरैजसो पश्चिमी देशहरूभन्दा दशकौं अगाडि यो कदम चालेको थियो ।

भेनेजुएलाको २८ सय किलोमिटरभन्दा लामो तटरेखा क्यारिबियाली सागर र आन्ध्र महासागर दुवैसँग जोडिएको छ ।

भेनेजुएलाले धेरै क्यारिबियाली टापुहरूमाथि पनि आफ्नो सार्वभौमसत्ता दाबी गर्दछ जसमा पर्यटकीय दृष्टिले निकै लोकप्रिय लस रोक्स टापु समूह पनि पर्दछ ।

भेनेजुएलाको राजधानी काराकासमा विश्वकै सबैभन्दा खतरनाक मध्येको एक केबलकार टेलिफेरिको डे काराकास छ । यो माउन्ट एभिलामा १२ सय मिटरको उचाइमा चढ्छ जसले उत्कृष्ट दृश्य त प्रदान गर्दछ तर यात्रीहरूलाई आफू ठाडो रूपमा माथि गइरहेको महसुस गराउँछ । साहसीहरूले मात्र यसमा चढ्ने प्रयास गर्छन् ।

भेनेजुएलाको राजनीतिक अर्थतन्त्र
आधुनिक इतिहासमा भेनेजुएलाले शान्तिको समयमा सबैभन्दा खराब आर्थिक पतनको सामना गर्यो । सन् २०१३ देखि २०२० को बीचमा यहाँको अर्थतन्त्र करिब ७५ प्रतिशतले खुम्चियो । यो गिरावट अमेरिकाको ग्रेट डिप्रेसन वा सोभियत संघको पतनपछिको रुसको गिरावटभन्दा धेरै बढी थियो ।

भेनेजुएलामा सन् २०१८ मा चरम मुद्रास्फीति अनुमानित १६ लाख ९८ हजार ४८८ प्रतिशत पुगेको थियो जुन दक्षिण अमेरिकी इतिहासकै सबैभन्दा खराब अवस्था हो । सन् २०१६ मा ४५० बोलिभर पर्ने एक कप कफीको मूल्य सन् २०१८ सम्ममा १० लाख बोलिभर पुग्यो । त्यसले त्यहाँको मुद्रालाई लगभग मूल्यहीन बनाइदियो ।

सन् २०१४ देखि ७७ लाखभन्दा बढी भेनेजुएलालीहरूले देश छोडेका छन् । यो कुल जनसंख्याको २५ प्रतिशतभन्दा बढी हो । यो सिरियापछि विश्वकै दोस्रो ठूलो शरणार्थी संकट हो जसमा धेरैजसो मानिसहरू कोलम्बिया, पेरु, चिली र इक्वेडरमा बसोबास गरिरहेका छन् ।

यो आर्थिक अवस्थाका बाबजुद भेनेजुएला कुनै समय दक्षिण अमेरिकाकै सबैभन्दा धनी राष्ट्र थियो । सन् १९५० को दशकमा यसको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन विश्वमै चौथो स्थानमा थियो र सन् १९७० मा यो स्पेन, ग्रीस वा इजरायलभन्दा धनी थियो । तेलको सम्पत्तिका कारण यो देश मानिसहरू बाहिरिने होइन, बरू भित्रिने गन्तव्य थियो ।

विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भए तापनि भेनेजुएलाको तेल उत्पादन सन् १९९८ मा दैनिक ३५ लाख ब्यारलबाट घटेर सन् २०२० मा दैनिक करिब ७ लाख ब्यारलमा सीमित भयो । लगानीको अभाव, कुव्यवस्थापन र विदेशी प्रतिबन्धका कारण उत्पादनमा ८० प्रतिशतको गिरावट आएको हो ।

सन् २००८ देखि त्यहाँको मुद्रा बोलिभरलाई तीनपटक पुनर्मूल्यांकन गरिएको छ जसमा मुद्राबाट कुल १४ वटा शून्यहरू हटाइयो । सरकारले सन् २०१८ मा एउटा डिजिटल मुद्रा (पेट्रो) ल्याएको थियो । त्यसलाई तेल भण्डारले समर्थित भएको दाबी गरिएको थियो तर यसले अन्तर्राष्ट्रिय मान्यता पाउन सकेन ।

सन् २०२१ सम्ममा भेनेजुएलाको न्यूनतम पारिश्रमिक घटेर प्रतिमहिना करिब २ डलर पुग्यो जसले गर्दा कामदारहरूलाई आधारभूत आवश्यकता पूरा गर्न असम्भव भयो । डाक्टर, शिक्षक र इन्जिनियर जस्ता धेरै पेशेवरहरूले आफ्नो पेशा छोडेर अनौपचारिक क्षेत्रमा काम गर्न थाले वा विदेश पलायन भए । त्यसले गर्दा देशमा ठूलो प्रतिभा पलायन भएको छ ।

भेनेजुएलाको सरकारी तेल कम्पनी पिडिभिसा कुनै समय विश्वकै सबैभन्दा राम्रोसँग सञ्चालित तेल निगमहरूमध्ये एक मानिन्थ्यो । सन् २००२–२००३ को तेल हडतालपछिको सामूहिक बर्खास्ती र वर्षौंसम्म राजनीतिक संरक्षणका लागि गरिएको दुरुपयोगपछि यो प्राविधिक रूपमा टाट पल्टियो र उत्पादन कायम राख्न अक्षम भयो ।

भेनेजुएलामा खाद्य अभाव यति गम्भीर बन्यो कि सन् २०१७ सम्ममा ८७ प्रतिशत जनसंख्या गरिबीमा बाँच्न बाध्य भए र प्रतिव्यक्ति ८ देखि ११ केजीसम्म तौल अनायासै घट्यो । यस घटनालाई मदुरो डाइटको संज्ञा दिइयो । यो कुपोषणले विशेषगरी बालबालिकामा दशकौंदेखिको जनस्वास्थ्यको उपलब्धिलाई उल्टाइदियो ।

प्राकृतिक स्रोतको सम्पत्तिले मात्र समृद्धिको ग्यारेन्टी गर्न सक्दैन भन्ने विषयमा भेनेजुएला उत्कृष्ट उदाहरण हो । कुनै समय दक्षिण अमेरिकाको सबैभन्दा धनी राष्ट्र रहेको यस देशले अहिले ठूलो मानवीय संकटको सामना गरिरहेको छ । साथै, अहिले पछिल्लो अमेरिकी आक्रमण र राष्ट्रपति मदुरो र उनकी पत्नीको पक्राउको सामना गरिरहेको छ ।