ट्रम्पको जस्तै हाउभाउ देखाएर नाचेकाले मदुरो सत्ताच्युत भएको दाबी


एजेन्सी । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको नृत्युमुद्राको नक्कल गरेकाले ट्रम्पको टोलीलाई उनीविरुद्ध कारबाहीका लागि उक्साएको स्रोतहरूलाई उद्धृत गर्दै द न्युयोर्क टाइम्सले दाबी गरेको छ ।

शनिबार काराकासस्थित आफ्नो निवासबाट अमेरिकी कमान्डोद्वारा पक्राउ पर्नुअघिका साताहरूमा मदुरोले गीत गाउने र नाच्ने गरी भिडियो प्रसारण गरेका थिए ।

द न्यूयोर्क टाइम्सलाई भित्री स्रोतहरूले बताएअनुसार, मदुरोले यस्तो हल्का व्यवहार देखाएर ट्रम्प प्रशासनलाई चिढ्याएको निष्कर्ष निकाल्दै उनीविरुद्धको कारवाही अघि बढाएको हो ।

मदुरोले ट्रम्पको प्रसिद्ध मुड्की पारेर कम्मर हल्लाउने शैलीको नक्कल गरेको देखिन्थ्यो । गत डिसेम्बर महिनामा इन्टरनेशनल स्कुल फर वुमेन्स लिडरसिपको उद्घाटनका क्रममा उनको नृत्य देखिएको थियो । त्यतिबेला मदुरोले आफ्नै भाषण नो वार, यस पिस (युद्ध होइन, शान्ति) को इलेक्ट्रोनिक रिमिक्समा नाच्न सुरु गरेका थिए ।

दुई देशबीच शान्तिको कामना गरिएको सो उत्साहजनक गीतमा मदुरोले आफ्नी पत्नीसँगै नृत्य गरेका थिए ।

मदुरोले नाचगानलाई आफ्नो दिनचर्या नै बनाएका थिए र यसअघि नोभेम्बरमा जोन लेननको क्लासिक गीत इमेजिन पनि गाएका थिए ।

‘जोन लेननले भनेझैं शान्तिका लागि सबै कुरा गर्नुहोस्, होइन त ?’ भीडलाई सम्बोधन गर्दै मदुरोले भनेका थिए, ‘यो सबै समयका लागि प्रेरणा हो । यो सबै युग र पुस्ताका लागि एउटा गान हो जुन जोन लेननले मानवतालाई उपहारको रूपमा छोडेका छन् ।’
अमेरिकी सेनाले नियन्त्रणमा लिइसकेपछि पनि मदुरोले हल्का व्यवहार जारी राखे । उनलाई हतकडी लगाएर लगिँदै गर्दा ह्याप्पी न्यू इयर (नयाँ वर्षको शुभकामना) भने ।

लागूऔषध र हतियारको मुद्दामा सुनुवाइका लागि न्युयोर्क शहर पुग्दा पनि मदुरोले पिस साइन (शान्तिको संकेत) देखाउने र दुवै बुढी औंला उठाएर संकेत गर्ने काम जारी राखे ।

मदुरो र पत्नी सिलिया फ्लोरेस अहिले ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा हिरासतमा छन् । उक्त थुनाकेन्द्र दयनीय अवस्थाका लागि कुख्यात छ । त्यहाँ हालै लुइगी म्यानगियोन र सिन डिडी कोम्ब्सलाई पनि राखिएको छ ।

यसैबीच, अमेरिकाले भेनेजुएलालाई अनिश्चितकालसम्म शासन गर्ने ट्रम्पले बताएका छन् । उनले त्यहाँकी लोकप्रिय विपक्षी नेत्री मारिया कोरिना मचादोलाई सत्ता सुम्पने सम्भावनालाई अस्वीकार गर्दै उनीसँग पर्याप्त समर्थन नभएको दाबी गरे ।

मचादोले नोबेल शान्ति पुरस्कार पाएको ट्रम्पले पचाउन सकेका थिएनन् । द वाशिङटन पोस्टका अनुसार, मचादोले पाएको पुरस्कार अस्वीकार गरेर त्यसका लागि ट्रम्प नै हकदार छन् भनेको भए अहिले उनी भेनेजुएलाकी राष्ट्रपति हुने थिइन् ।

हुन त मचादोले पुरस्कार पाएपछि ट्रम्पलाई समर्पण गर्दै उनको निकै प्रशंसा गरेकी थिइन् । तर, ट्रम्पलाई त्यतिले पुगेन । उनले त्यो पुरस्कार परित्याग गरेर ट्रम्पलाई सुम्पिनुपर्थ्यो ।