
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ एग्री–फाइनान्स ३६०’ कार्यक्रम गरेको छ । बैंक २०औँ वर्ष प्रवेशको अवसरमा कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि र किसानको दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम शुक्रबार सम्पन्न गरेको हो ।
बैंकको सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपक्षी विकासमन्त्री डा। मदन परियार थिए । उनले सरकारका तर्फबाट कृषि क्षेत्रको विस्तार गर्न सबै सरोकारवालामा उत्प्रेरणात्मक वातावरण निर्माण हुनुपर्ने बताए ।
कृषि लगानी विस्तार तथा कर्जा गुणस्तर सुदृढ बनाउन क्रेडित ग्यारेन्टी, वित्तीय साक्षरता, कृषि बिमा, मूल्य शृंखलामा समन्वय, सहकारी तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिने नीति र योजना बनाउन सकेमा मात्र कृषि क्षेत्रको ठोस विकास हुन सक्ने उनको भनाइ थियो । महिलामैत्री कृषिको विकास गरिनुपर्ने, कृषिलाई प्रविधिसँग जोडेर युवालक्षित स्वरोजगारीको व्यवस्था गर्नुपर्ने, साना किसानमा वित्तीय पहुँच अझै विस्तार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बैंकिङ विशेषज्ञ अजय श्रेष्ठले ‘नेपालमा कृषि उद्यम लगानीको चुनौती र अवसर’ विषयमा प्रस्तुति दिए । उनले कृषि ऋणमा उच्च जोखिम, कमजोर कर्जा गुणस्तर, उत्पादनशीलता र मूल्य शृंखलामा संरचनागत कमजोरीलाई प्रमुख चुनौतीका रूपमा औँल्याएका थिए ।
सोही कार्यक्रममा सामूहिक छलफल चलेको थियो । नेपाल राष्ट्र बैंक, नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेल, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्रका अध्यक्ष डिबी बस्नेत तथा कृषक तथा कृषि उद्यमी विमला आचार्य दहालसँग पूर्वबैंकर भुवन दाहालले संवाद गरेका थिए ।








प्रतिक्रिया