नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ७ औँ वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

वार्षिक साधारण सभाको उदघाट्न बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले गरेका थिए ।

नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले २०५५ साल माघ ७ गते स्थापना भएको एसोसिएसनले हाल देशभर सातै प्रदेश र २७ जिल्लामार्फत दुग्ध व्यवसायीहरूको राष्ट्रिय छाता संगठनका रूपमा काम गरिरहेको जानकारी दिए ।

उनले दूध तथा दुग्धजन्य पदार्थको उत्पादन, उपभोग र प्रवर्द्धनमा निरन्तर सक्रिय रहँदै आएको एसोसिएसनको ‘मोही अभियान’ सफलतापूर्वक अघि बढिरहेको उल्लेख गरे।

साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै बागमती प्रदेश अध्यक्ष टीका प्रसाद घिमिरेले बागमती प्रदेश दुग्ध उत्पादनको दृष्टिले देशकै महत्वपूर्ण क्षेत्रमध्ये एक रहेको बताए।

उनका अनुसार प्रदेशमा वार्षिक ४ लाख ३६ हजार ८२३ मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ ।

जसले रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याएको छ। ठूलो उपभोक्ता बजार, व्यावसायिक तथा सामुदायिक दुग्ध उत्पादन, खरिद–बिक्री र वितरणको व्यापक सञ्जालका कारण बागमती प्रदेश सरकारी तथा निजी डेरी उद्योगको केन्द्रका रूपमा विकास भएको उनले बताए।