
काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले सन् २०२५ मा नेपालबाट सर्वाधिक खोजिएका (टप सर्च) शब्द तथा विषयहरूको सूची सार्वजनिक गरेको छ ।
यो सूचीले नेपाली प्रयोगकर्ताहरू टिकटकलाई केवल रमाइलोका लागि मात्र नभई दैनिक जीवनका निर्णय, नयाँ कुरा सिक्न र जानकारी लिने ‘सर्च इन्जिन’का रूपमा समेत प्रयोग गरिरहेको देखाएको छ ।
टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नवीदका अनुसार नेपालमा टिकटक ‘सर्च’ गर्ने प्रवृत्ति भिडियो हेर्नेमा मात्र सीमित छैन ।
सेलेब्रिटीहरूको खोजीमा यस वर्ष पुराना र नयाँ दुवै पुस्ताको वर्चस्व देखिएको छ । शोबिजतर्फ प्रियंका कार्की, राजेश हमाल, स्वस्तिमा खड्का, रेखा थापा र मदनकृष्ण श्रेष्ठ सर्वाधिक खोजिएका छन् । त्यस्तै, टिकटक क्रिएटरतर्फ सिम्पल खरेल, आश्मा विश्वकर्मा, रचना रिमाल, अनमोल केसी र आना शर्मा शीर्ष स्थानमा रहेका छन् ।
खेलकुद विधामा नेपाली फुटबलकी स्टार साम्बा (साबित्रा भण्डारी), विमल घर्ती मगर र क्रिकेटका दीपेन्द्र सिंह ऐरी सर्वाधिक खोजिएका खेलाडी बनेका छन् । अन्तर्राष्ट्रिय खेलाडीतर्फ केलियन एम्बाप्पे र लियोनेल मेस्सीको खोजी बढी भएको छ ।
पर्यटकीय गन्तव्यतर्फ मुस्ताङ, मनाङ र नर्थ अन्नपूर्ण बेस क्याम्प नेपालीको पहिलो रोजाइमा परेका छन् । धार्मिक स्थलहरूमा पशुपतिनाथ र भीमसेनस्थान मन्दिरबारे धेरै सर्च गरिएको टिकटकको तथ्याङ्क छ ।
चलचित्र र टिभी शोतर्फ ‘बिग बस’, ‘परान’, ‘जेरी अन टप’, ‘जारी २’ र ‘रोडिज सिजन ७’ को खोजी बढी भएको छ । ट्रेन्डिङ क्षणहरूमा तीज र कुकुर तिहार जस्ता चाडपर्वसँगै मिस ग्राण्ड नेपाल र क्रिकेटको एनपीएल (एनपीएल) सिजन २ ले चर्चा पाएको छ । सूचना प्रवाहका लागि चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ पनि टिकटकमा सर्वाधिक खोजिने सूचीमा परेको छ ।
संगीततर्फ ‘ठुमक ठुमक जानीए माहिए दे नाल’, ‘आइसक्रिम खाउँगी’, ‘माया गर्नु ल’, ‘वाक्क लाग्दो संसार’ र ‘सारी लायर आएँ भने’ जस्ता गीतहरू धेरै खोजिएका छन् । यस्तै, भान्साका लागि हत्क्युला फ्रुट, स्टिम चिकेन, सेलरोटी, सिंगडा र पक्कु रेसिपीहरू नेपाली प्रयोगकर्ताका प्रमुख रुचि बनेका छन् ।
टिकटकले यो सूचीले नेपालीको अहिलेको रुचि, सांस्कृतिक लगाव र दैनिक आवश्यकतालाई प्रतिविम्बित गर्ने जनाएको छ । अब मानिसहरू वास्तविक समयमा जानकारी, सिफारिस र सन्दर्भ खोज्नका लागिसमेत टिकटकमा निर्भर हुन थालेको कम्पनीको दाबी छ ।








प्रतिक्रिया