
काठमाडौं । सामसङ इनोभेसन क्याम्पस नेपालले आफ्नो एआई तथा बिग डेटा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । डिसेम्बर २९, २०२५ मा पुल्चोक क्याम्पसमा आयोजित एक विशेष समारोहका बीच स्नातक भएका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिनुका साथै कोडिङ तथा प्रोग्रामिङको नयाँ ब्याचको सुरुवात समेत गरिएको छ ।
सन् २०२३ देखि ‘टुगेदर फर टुमोरो, इनेबलिङ पिपल’ भन्ने नाराका साथ सञ्चालित यस कार्यक्रमले नेपाली युवाहरूलाई भविष्यका लागि आवश्यक डिजिटल सीपहरू प्रदान गर्दै आएको छ । जुन २७ देखि डिसेम्बर ३१ सम्म चलेको यस सत्रमा विद्यार्थीहरूले व्यवहारिक सिकाइ, उद्योग सान्दर्भिक ज्ञान र अत्याधुनिक प्रविधिको प्रत्यक्ष अनुभव हासिल गरेका थिए ।
कार्यक्रममा बोल्दै सामसङ नेपालका म्यानेजिङ डाइरेक्टर चाङ उक जङले भने, ‘हामी युवालाई नेपालको डिजिटल प्रगतिको प्रमुख शक्तिका रूपमा हेर्छौं । उनीहरूलाई भविष्य–तयार सीपले सुसज्जित गर्नु देशको दीर्घकालीन प्रगतिमा गरिएको लगानी हो ।’
यो पाठ्यक्रम प्राविधिक ज्ञानमा मात्र सीमित नरही सफ्ट स्किल्स, समस्या समाधान क्षमता र रोजगारीयोग्यता अभिवृद्धिमा केन्द्रित रहेको छ । विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा र आईओटी जस्ता प्रविधि प्रयोग गरी वास्तविक जीवनका चुनौतीहरू समाधान गर्ने परियोजनाहरूमा समेत काम गरेका छन् ।
पुल्चोक क्याम्पसमा आयोजित उक्त समारोहमा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग के.सी., इन्स्टिच्युट अफ इन्जिनियरिङका डिन डा. सुशील बी. बज्राचार्य र क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती लगायतको उपस्थिति रहेको थियो ।
सामसङले यस पहल मार्फत नेपालमा एक सशक्त डिजिटल इकोसिस्टम निर्माण गर्ने र युवाहरूलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि तयार पार्ने लक्ष्य राखेको छ ।








प्रतिक्रिया