त्रिभुवन विमानस्थलबाट ११ महिनामा ७८ लाख यात्रु उडे

कुन विमानस्थलबाट कति ?


काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पछिल्लो ११ महिना (सन् २०२५ को जनावरीदेखि नोभेम्बर)सम्ममा ७८ लाख यात्रुले सेवा लिएका छन् ।

काठमाडौंबाट विभिन्न देशमा जाने र आउने अन्तर्राष्ट्रिय उडानका हवाई यात्रुको संख्या ४० लाख ९८ हजार छ भने आन्तरिक यात्रुको संख्या ३७ लाख १८ हजार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

तथ्यांक अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने यात्रुको संख्या २० लाख ९४ हजार रहेका छन भने नेपाल भित्रने यात्रुको सख्या भने २० लाख ३ हजार मात्रै रहेको छ । यो यात्रु सेवाका लागि नेपालमा उडान गरिरहेका विभिन्न ३० वटा वायुसेवा कम्पनीले २८ हजार २५१ उडान गरेका छन ।

नेपालमा हिमालयन, नेपाल एयरलाइन्स र बुध्दले मात्रै अन्तर्राष्ट्रिय उडान गरेका छन् भने बाँकी २७ वटा विदेशी एयरलाइन्सले नेपालमा यात्रु लाने र लैजाने गरिरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गतको आन्तरिक टर्मिनल भवन प्रयोग गरेर भएको उडानका यात्रु भने ३७ लाख १८ हजार मध्ये १७ लाख ८२ हजार काठमाडौं भित्रिएका र १९ लाख ३६ हजार बाहिरिएका यात्रु छन् ।

विमानस्थल कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार हाल उडानमा प्रयोग भइरहेका ७ वटा नियमित उडान गर्ने फिक्स विंग्सका जहाज कम्पनी छन् । बुध्द, यती, श्री, तारा, सिता, समिट र नेपाल एयरलाइन्सले आन्तरिक उडान गरिरहेका छन् । यीमध्ये जहाज संख्या र यात्रु क्षमताका हिसावले बजारको प्रमुख हिस्सा बुध्द एयरले लिएको छ ।

आन्तरिक उडानमा हेलिकप्टर सेवा दिने थप १२ कम्पनीले दिएका यात्रुसेवालाईसमेत आन्तरिक यात्रुसेवामा जोडेर विमानस्थल कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ । नियमति उडानका जहाज कम्पनीको तुलनामा हेलिकप्टरको यात्रु संख्या न्यून हुने भएपनि सेवाको दृष्टिले भने महत्वपूर्ण हुने गरेको छ ।

हाल हेलिकप्टर उडानमा एयर डाइनेष्टि, अल्टिच्यूड, अन्नपूर्ण, फिस्टेल, हेलि एभरेष्ट, कैलाश, मनाङ, माउन्टेन, प्रभु, श्री र सिम्रिक एयरले उडान गरिरहेका छन् ।

आन्तरिक उडानमा सबैभन्दा धेरै यात्रु त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुने गरेको छ । यो विमानस्थलबाट देशैभरका विमानस्थलमा उडान र अवतरण सेवा हुने गर्छ ।

यात्रु सेवाको हिसावले काठमाडौं बाहिरका ३२ वटा सञ्चालनमा रहेका र यात्रु सेवा दिइरहेका यात्रुको आकर्षणमा पोखरा विमानस्थल पर्छ । पोखर विमानस्थलमा काठमाडौंबाट जाने र फर्कने यात्रुको संख्या ७ लाख ९८ हजार रहेको छ।

यो विमास्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ लाख ८३ हजार यात्रुको उडान गरेका छन भने ४ लाख १५ हजारले अवतरण गरेको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

यात्रु चापका हिसावले दोस्रो व्यस्त विमाननस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा पर्छ । यसमा ६ लाख ७५ हजार यात्रुले आन्तरिक उडानको सेवा लिएका छन् । यो विमानस्थलमा भएको अन्तर्राष्ट्रिय उडान भने १३ हजार ४३२ मात्रै रहेको पनि तथ्यांकले देखाएको छ ।

पूर्वको व्यस्त विमानस्थलमा पर्ने विराटनगरमा पछिल्लो ११ महिनामा ६ लाख ६९ हजार यात्रुले उडान अवतरणको सेवा लिएका छन ।

कुन विमानस्थलबाट कति यात्रु उडान ?