ब्राण्ड एम्बास्डर बनेसँगै रोहितले एनपीएलमा जितेको गाडीको कर कम्पनीले नै तिरिदिने

175
Shares

काठमाडौं । दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)को उत्कृष्ट खेलाडी बनेर पाएको गाडी पुरस्कारमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल कर तिर्नु नपर्ने भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका पौडेललाई ब्राण्ड एम्बास्डर बनाउँदै गाडी दिने कम्पनीले नै कर तिरिदिने भएसँगै उनले राहत पाएका हुन् । पुरस्कार पाए बापत उनले कर तिर्नुपर्ने बारे क्लिकमान्डुले समाचार प्रकाशन गरेको थियो।

कप्तान पौडेलको उत्कृष्ट अलराउन्ड प्रदर्शन प्रेरित लुम्बिनी लायन्सले एनपीएलमा कमब्याक गर्दै उपाधी जितेको थियो । रोहितले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको रूपमा गाडी र सर्वाधिक रन बनाउने नेपाली खेलाडी बन्दै मोटरसाइकल जितेका थिए । उनले गाडी र बाइक आफ्नो नाममा नामसारी गर्न साढे १६ लाख रुपैयाँ कर तिर्नुपर्ने भएको थियो ।

रोहित नै नेपाली खेलाडीहरूमध्ये सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका थिए । उनले प्रतियोगिताभर कुल २७६ रन प्रहार गरे भने बलिङतर्फ फाइनल खेलमा ह्याट्रिकसहित १० विकेट लिए । रोहितले कारसहित उत्कृष्ट ब्याटर बनेर पल्सर मोटरसाइकल पनि जितेका छन् ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले पाएको जेको जे ५ कारको मूल्य ६१ लाख ९९ हजार रूपैयाँ रहेको छ । साथै उनले जितेको पल्सर बाइकको मूल्य ४ लाख २० हजार रूपैयाँ रहेको छ । यसरी उत्कृष्ट खेलाडी बनेर रोहितले जितेको कार र बाइकको कुल मूल्य ६६ लाख १९ हजार रूपैयाँ हुन्छ ।

आयकर ऐनको दफा ८८ ‘क’ यसरी प्राप्त गरेको आकस्मिक लाभमा २५ प्रतिशत कर तिर्नु पर्नेछ । अर्थात् रोहितले पाएको कार र बाइकको मूल्यमा २५ प्रतिशत कर तिर्नुपर्ने भएको हो ।

ऐनको दफा ८८’क’ को उपदफा १ मा साहित्य, संस्कृति, खेलकुद, पत्रकारिता, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुर्‍याए बापत प्राप्त हुने राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका ५ लाख रुपैयाँसम्मको पुरस्कारमा आकस्मिक लाभ कर लाग्ने छैन भनिएको छ । यसअनुसार उनले विगतमा ५ लाख सम्मको पुरस्कार पाएको अवस्थामा ६६ लाख ९९ हजारको २५ प्रतिशत अर्थात् १६ लाख ५४ हजार ७५० रुपैयाँ कर तिर्नु पर्ने थियो । यसअघि ५ लाख बराबरको पुरस्कार पाइ नसकेको भए कार र बाइकको १५ लाख ३५ हजार रुपैयाँ कर बुझाउनु पर्ने थियो ।

आयकर ऐन अनुसार नेपाल सरकारले पुरस्कारमा लाग्ने करमा छुट भने दिन सक्छ । नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरी पुरस्कारमा कर छुट दिने सक्ने व्यवस्था आयकर ऐनमा छ ।

अर्थमन्त्री रामेश्वर खनालले क्लिकमान्डुसँगको कुराकानीमा खेलाडीलाई करछुट नदिने स्पष्ट पारेका थिए ।

शारडा ग्रुपका निर्देशक पवनकुमार शारडाले कम्पनीले गाडीको सबै कर तिरेर खेलाडीलाई हस्तान्तरण गरेको भन्दै आयकर तिर्ने जिम्मेवारी पुरस्कार पाउने खेलाडीकै रहेको बताएका थिए । तर खेलाडीले कम्पनीको ब्राण्ड एम्बास्डर बने आयकर तिरदिने उनको भनाइ थियो ।

गत वर्ष ऐरीले शारडा ग्रुपसँग ब्राण्ड एम्बास्डरको बन्ने सर्त मानेर आयकर आफैं तिर्नबाट जोगिएका थिए । शारडाको प्रस्तावअनुसार क्रिकेटर पौडेलले कम्पनीको ब्राण्ड एम्बास्डर बन्न तयार भएसँगै उनले गाडी वापतको कर भने तिर्नु नपर्ने भएको हो । बाइकको हकमा भने उनले कर तिर्नुपर्ने छ ।

कम्पनीले नेपाल क्रिकेट संघ क्यानसँग पुरस्कार पाउने खेलाडीले ३ वर्षका लागि कम्पनीको ब्राण्ड एम्बास्डर रहने सम्झौता गरे पुरस्कार पाएको गाडीको सरकारलाई तिर्नुपर्ने आयकर कम्पनीले नै तिर्ने विषयमा सम्झौता नै गरेको शारडाले बताए ।

शुक्रबार शारडा ग्रुपले पौडेललाई आफ्नो नयाँ ब्राण्ड एम्बेसडरको रुपमा आधिकारिक सम्झौता घोषणा गरेको छ ।

जेको जे५ हस्तान्तरण कार्यक्रमका बीच यस्तो घोषणा गरिएको हो जहाँ ब्रान्डका पुराना एम्बेसडर तथा उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई पनि सम्मान गरिएको थियो ।