
काठमाडौं । रुङ्गटा ग्रुपका चार वटा कम्पनीले एकै वर्ष साढे २८ अर्ब रुपैयाँको व्यापार गरेका छन् । ग्रुपका चार वटा कम्पनीले गत आर्थिक वर्षमा २८ अर्ब ५२ करोड ७० लाख रुपैयाँको व्यापार गरेका हुन् ।
ग्रुपको ओसीबी फुड्स एन्ड फिडले ११ अर्ब ९३ करोड २० लाख रुपैयाँ, बारामा जिल्लामा रहेको ओम काओ बिरो फिड इन्डस्ट्रिजले ७ अर्ब ११ करोड ४० लाख रुपैयाँ, मोरङमा रहेको ओम काओ बिरो फिड इन्डस्ट्रिजले ७ अर्ब ८ करोड ४० लाख रुपैयाँ र ओम एग्रो प्रोडक्टले २ अर्ब ३९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो।
१. ओसीबी फुड्स एन्ड फिड
दिव्य ब्रान्डमा विभिन्न प्रकारका तेल बेच्ने ओसीबी फुड्स एन्ड फिडले एकै वर्ष करिब १२ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ११ अर्ब ९३ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा ४ अर्ब ७९ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा ८ अर्ब १२ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१६ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका कच्चा तेल प्रशोधन गर्दै आएको छ । कम्पनीले वार्षिक १ लाख २० हजार मेट्रिक टन क्षमतामा सोल्भेन्ट एक्स्ट्रयाक्सन प्लान्ट र ६० हजार मेट्रिक टन रिफाइनरी प्लान्ट सञ्चालन गर्दै आएको छ ।
सोल्भेन्ट एक्स्ट्रयाक्सन प्लान्टले भटमासको दाना प्रशोधन गर्छ । त्यसैगरी, रिफाइनरी प्लान्टबाट कच्चा सनफ्लावर तेल, पामोलिन र भटमासको तेल प्रशोधन हुन्छ । कम्पनीले उक्त प्रशोधन गरेको तेल दिव्य ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले उत्पादन गर्ने तेल आन्तरिक बजारमा बिक्रीसँगै भारतमा पनि निर्यात गर्दै आएको छ । कम्पनीका अनुसार भारत सरकारले तेलमा बढाइएको भन्सार दरले गर्दा नेपालबाट तेल निर्यात उच्च बढेको जनाएको छ ।
कम्पनीले गत आवमा विशेषगरी भटमासको तेल, सनफ्लावर तेल, पामोलिन आयलसहित सोया हाइप्रो, सेया पिनाबाट उच्च कारोबार गरेको छ ।
रुङ्गटा ग्रुपद्वारा सञ्चालित यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७ अर्ब ६३ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७ अर्ब ६२ करोड रुपैयाँको रेटिङ गराएको हो ।
ओसीबीमा ६ जना बोर्ड निर्देशक छन् । कम्पनीको अध्यक्ष प्रदिपकुमार रुङ्गटा र शिवकुमार रुङ्गटा निर्देशक छन् । कम्पनीले कच्चा तेल अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, मलेसिया र युक्रेनबाट आयात गर्दै आएको छ ।
ओम काओ बिरो फिड इन्डस्ट्रिज, बारा
रुङ्गटा ग्रुपको बारा जिल्लामा रहेको ओम काओ बिरो फिड इन्डस्ट्रिजले गत आवमा ७ अर्ब ११ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ६ अर्ब २३ करोड ५० लाख रुपैयाँ र सन् २०२३ मा ५ अर्ब ६० करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २००७ मा स्थापना भएको कम्पनीले पोल्ट्री, माछा र अन्य जीवजन्तुको दाना उत्पादन गर्दै आएको छ । कम्पनीले दैनिक ५ सय मेट्रिक टन क्षमतमा विभिन्न प्रकारका दाना उत्पादन गर्दै आएको छ । कम्पनीले विशेषगरी ब्रोइलर र लेयर्स कुखुराका लागि दाना उत्पादन गरी पोषक पलेट दाना ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ९१ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ९० करोड रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीको देशभर होलसेलर र खुद्रा व्यापारमार्फत् उपलब्ध छ ।
ओम काओ बिरो फिड इन्डस्ट्रिज, मोरङ
मोरङ जिल्लामा रहेको ओम काओ बिरो फिड इन्डस्ट्रिज प्रालिले गत आवमा ७ अर्ब ८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ६ अर्ब ३ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा ५ अर्ब ३८ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो।
सन् २०१२ मा स्थापना भएको कम्पनीले पोल्ट्री, माछा र अन्य जीवजन्तुको सवारी साधन उत्पादन गर्दै आएको छ । कम्पनीले दैनिक ४ सय मेट्रिक टन क्षमतामा दाना उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको दाना पोशाक पलेट दाना ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । रुङ्गटा ग्रुपद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७१ करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दाना उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्वदेशी र विदेशबाट आयात गर्ने गरेको रेटिङमा उल्लेख छ । कम्पनीले भारत, चीन, थाइल्यान्डलगायत अन्य देशबाट आयात गर्ने गरेको छ ।
ओम एग्रो प्रोडक्ट
ओम एग्रो प्रोडक्ट प्रालिले गत आवमा २ अर्ब ३९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा २ अर्ब २४ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा २ अर्ब १२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनी अनुसार गत आवमा प्रशोधन गरेको चामलले मूल्य पाउँदा व्यापार बढेको उल्लेख छ । देशभर ८० वटाभन्दा बढी डिलर रहेको कम्पनीको देशभर वितरणको नेटवर्क छ ।
सन् २००५ मा स्थापना भएको कम्पनीले धान प्रशोधन गरी चामल उत्पादन गर्दै आएको छ । बारामा उद्योग रहेको कम्पनीले दैनिक ३ सय मेट्रिक टन क्षमतामा सञ्चालन गरिरहेको छ । कम्पनीले प्रशोधित चामल पर्ल ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
रुङ्गटा ग्रुपद्वारा सञ्चालित यस कम्पनीमार्फत् दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९५ करोड रुपैयाँको रेटिङ गराएको छ ।








प्रतिक्रिया