१ लाखभन्दा कम बचत रहेका ३५० जनाको पैसा फिर्ता गर्दै पोखरा सहकारी

112
Shares

पोखरा । पोखराको नयाँबजारस्थित पोखरा बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा सुरू गर्ने तयारी गरेको छ ।

सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहितका सञ्चालकहरूले आफ्नो जायजेथाबाटै भए पनि रकम फिर्ता गर्ने सहमति गरेपछि पहिलो चरणमा एक लाख रुपैयाँभन्दा कम बचत रहेका ३५० जना सदस्यलाई आइतबारदेखि रकम दिन लागिएको हो ।

सहकारी ठगीको आरोपमा १९ कात्तिकमा पक्राउ परेका अध्यक्ष गोदार, उपाध्यक्ष शम्भुराज बाँस्तोला, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहालसहित आठजना सञ्चालक एवं कर्मचारी कास्की प्रहरीबाट गत १४ मंसिरमा रिहा भएका थिए ।

तीन महिनाभित्र बचत फिर्ता गर्ने र प्रत्येक साता गरेको कामको प्रगति प्रतिवेदन प्रहरीलाई बुझाउने सर्तमा उनीहरूलाई मुद्दा नचलाई छोडिएको थियो । सोही प्रतिबद्धताअनुसार सञ्चालकहरूले साना बचतकर्ताबाट भुक्तानी प्रक्रिया थालनी गरेका हुन् ।

पहिलो चरणमा साना बचतकर्ताको करिब एक करोड रुपैयाँ फिर्ता भएपछि दोस्रो चरणमा एक लाखभन्दा बढी बचत रहेका २७४ जनाको रकम फिर्ता गरिनेछ ।

ठूला बचतकर्तालाई करिब ३६ करोड ५० लाख रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व सहकारीमाथि छ ।

हाल सहकारीको खातामा ४ करोड ५० लाख रुपैयाँ मौज्दात रहे पनि बाह्य ऋण र करबापतको एक करोड १८ लाख रुपैयाँ व्यवस्थापन गरेर बाँकी रकम बचतकर्तालाई बाँड्न लागिएको हो ।

सहकारीको समस्या समाधानका लागि बचतकर्ता गञ्जमान गुरुङको संयोजकत्वमा गठित समन्वय समितिले बन्द रहेको खाता सञ्चालन गर्ने निर्णय गरेसँगै भुक्तानीको बाटो खुलेको हो ।

संस्थाले ऋण असुलीलाई पनि उत्तिकै तीव्रता दिएको छ । ऋणबापत प्राप्त ८ करोड रुपैयाँको चेक बाउन्स भएपछि सहकारीले कारबाहीका लागि ती चेकहरू प्रहरीमा बुझाएको छ । त्यस्तै, ऋण नतिर्ने र सम्पर्कमा नआउने ऋणीहरूको १२ करोड बराबरको धितो लिलामी प्रक्रियासमेत अगाडि बढाइएको अध्यक्ष गोदारले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले सञ्चालकहरूले प्रतिबद्धताअनुसार काम सुरु गरेको र यसलाई प्रहरीले कडा निगरानीमा राखेको बताएका छन् ।