प्रभु महालक्ष्मी लाइफको अध्यक्षबाट शिक्षा भट्टचनले दिइन् राजीनामा


काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष शिक्षा भट्टचलनले राजीनामा दिएकी छन् । भट्टचनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी हुन् ।

शिक्षा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनकी छोरी हुन् ।

बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि सीआईबीले कर्जा अपचलन सम्बन्धी मुद्दामा अनुन्धान गरिरहेको छ । करिब १ अर्ब रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीका आधारमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

देवीप्रकाश भट्टचनको मूख्य लगानीमा स्थापना भएको रेमिट्यान्स सेवाप्रदायक कम्पनी प्रभु मनी ट्रान्सफरको ‘सुपर एजेन्ट’ कम्पनीका रूपमा भट्टचन, कुसुम लामा र दक्ष पौडेलसमेत सेयरधनी भएर प्रभु म्यानेजमेन्ट स्थापना भएको थियो । भट्टचनले प्रभु म्यानेजमेन्टलाई मनि ट्रान्सफरको सुपर एजेन्टको सम्झौता गर्दै म्यानेजमेन्टबाट करिब ५ हजार सहकारीसँग रेमिट्यान्स भुक्तानी एजेन्टका रूपमा छुट्टाछुट्टै करार सम्झौता गरेर कारोबार गरेको थियो । यस्तो सम्झौतापछि प्रभु म्यानेजमेन्टले सहकारीहरूबाट आफूखुशी फरक–फरक धरौटी उठाएको थियो ।

प्रभु म्याजेमेन्टमा भट्टचनले व्यवसायिक साझेदारका रुपमा कुसुम लामालाई बनाएका थिए । अहिले कसुम लामा प्रभु म्याजमेन्टकी अध्यक्ष छिन् भने भट्टचन प्रभु म्यानेजमेन्टबाट कानुनी रुपमा बाहिरिसकेका छन् । उनले आफ्नो सेयर छोरी शिक्षासहित विभिन्न व्यक्ति हुँदै प्रभु म्यानेजमेन्टका कर्मचारीहरुको नाममा ट्रान्सफर गरेर बाहिरिएका हुन् ।

प्रहरी अनुसन्धानका क्रममा शिक्षा प्रभु म्यानेजमेन्टको मुख्य सेयरधनी थिइन् । २०७७ असार १६ देखि उनको नाममा १५ प्रतिशत सेयर रहेको देखिन्छ । उनका बुबा देवि प्रकाशले आफ्नो नाममा रहेको सेयर नेपाल राष्ट्र बैंकको कारबाहीबाट बच्न र स्वार्थको द्वन्द्व लुकाउन छोरी शिक्षा भट्टचनको नाममा नामसारी गरिदिएका थिए ।

शिक्षा भट्टचनको नाममा रहेको शेयर खरिद–बिक्री गर्दा ठूलो रकम अपचलन भएको प्रहरी अनुसन्धानमा पाइएको छ । देवि प्रकाशले प्रभु म्यानेजमेन्टको रकम कर्मचारीहरूको व्यक्तिगत खातामा ’पेश्की’ का रूपमा पठाएर छोरी शिक्षाको सेयर खरिद गर्न लगाएका थिए । ५ जुलाई २०२० मा शिक्षाको नाममा सेयर खरिद गर्न भनी प्रभु म्यानेजमेन्टबाट श्रुर्तिका तामाङको खातामा १ करोड ८० लाख र हेम कुमार महाजुको खातामा १ करोड ८ लाख पठाइएको थियो । सोही रकमबाट शिक्षा भट्टचनलाई भुक्तानी दिई सेयर नामसारी गरिएको देखाइएको थियो ।

देवि प्रकाश प्रभु बैंकको अध्यक्ष रहँदा प्रभु बैंकबाट प्रभु म्यानेजमेन्टले ऋण लिएको थियो । यसमा संलग्नता लुकाउन उनले शिक्षाको नाममा सेयर राखेका थिए । अमेरिकामा शिक्षा भट्टचनको नाममा रेमिट्यान्सको कारोबार गर्ने कम्पनी छ । पछि राष्ट्र बैंकले कैफियत औंल्याउने भएपछि शिक्षाको नामको सेयर पुनः अन्य कर्मचारीको नाममा नामसारी गर्न लगाइएको थियो ।
प्रहरी अनुसन्धानका क्रममा सहकारी संस्थाहरूले रेमिट्यान्सबापत जम्मा गरेको धितो र सर्वसाधारणको बचत रकम अपचलन गरी शिक्षा भट्टचन र परिवारका अन्य सदस्यका नाममा सेयर राख्ने, जग्गा किन्ने र व्यक्तिगत लाभ लिने काम भएको छ ।