
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा जहाज उडाएर करिब पौने ६ अर्ब रुपैयाँ कमाएको छ । निगमले सार्वजनिक गरेको साउनदेखि कात्तिकसम्मको तथ्यांक अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा २ लाख २४ हजार १६ यात्रु उडाउँदा निगमले ५ अर्ब ७१ करोड ९१ लख ६९ हजार ८५ रुपैयाँ आम्दानी गरेको छ ।
वायुसेवा निगमले गत वर्ष २०८१/८२ को पहिलो चार महिनामा गरेको अन्तर्राष्ट्रिय उडानबाट १ लाख ५८ हजार यात्रु उडाउँदा ४ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गरेको थियो । निगमको यस्तो आम्दानी गत वर्षको तुलनामा यो वर्ष १ अर्ब १६ करोड ५७ लाख ८ हजार १३४ रुपैयाँले बढी हो ।
निगमले गत वर्ष आर्थिक वर्षका पहिलो चार महिनामा अन्तर्राष्ट्रिय उडाना गरेको यस्तो आम्दानी २५.७९ प्रतिशतले बढी हो ।
वायुसेवा निगमका अनुसार गत वर्षको पहिलो चौमासमा निगमको दुईवटै न्यारोबडी इन्जिन मर्मतको लागि गएको र त्यो बेला ८० दिन एउटै जहाज थन्किएको थियो । यो वर्ष कुनै पनि हजहाजको सीचेक नभएकोले गत वर्ष वर्ष भन्दा यो वर्ष आम्दानी बढ्ने अपेक्षा निगमको छ ।
यस्तो आम्दानीमा निगमले आन्तरिक उडानमा जम्मा ५ हजार ६७८ यात्रु उडाउँदा ३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानी पछिल्लो चार महिनाको औषतमा मासिक ८७ लाख रुपैयाँ कमाएको छ । निगमसँग आन्तरिक उडानमा २ वटा मात्रै ट्वीनअटर छ । यसले पनि दुर्गम क्षेत्रमा सेवामूलक उडानमात्रै गर्ने गरेकोले यसकाे यात्रु उडान र आम्दानी तुलनात्मक रुपमा कम देखिएको हो ।
यो बाहेक निगमको आम्दानीको सबैभन्दा ठूलो हिस्सा अन्तर्राष्ट्रिय उडान नै हो । अन्तर्राष्ट्रय उडानका लागि निगमसँग २ वटा वाइडबडी र २ वटा न्यारोबडी गरेर जम्मा ४ वटा जहाज छ ।
निगमले अन्तर्राष्ट्रिय उडानका विभिन्न ११ वटा गन्तव्यमा गरेको उडानबाट २ लाख १८ हजार ३३८ यात्रुलाई सेवा दिएको छ । यस्तो अन्तर्राष्ट्रिय उडानबाट गरेको आम्दानी पछिल्लो चार महिनाको कुल ५ अर्ब ६८ करोड रुपैयाँ भएको पनि निगमले जानकारी दिएको छ ।
निगमको तथ्यांक अनुसार सबैभन्दा बढी आम्दानी गर्ने गन्तव्य जापान छ । निगमले जापानमा गरेको उडानबाट १ अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानीका लागि निगमले २३ हजार ९२२ यात्रुलाई सेवा दिएको पनि तथ्यांकले देखाएको छ ।
निगमले काठमाडौंबाट जापानमा पछिल्लो ४ महिनामा १२ हजार १४९ यात्रु लगेको र त्यसबाट ८९ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ भने जापानबाट काठमाडौंमा ११ हजार ७७३ यात्रु ल्याउँदा ७९ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको पनि तथ्यांकले देखाएको छ ।
निगमले जापानमा साताको तीन उडान गर्छ । यो गन्तव्यमा हरेक मंगलबार, शुक्रबार र आइतबार उडान गर्ने गरेको निगमले जानकारी दिएको छ । जापानबाट फर्कने तालिका भने बुधबार, शनिबार र सोमबार रहेको छ ।

निगमको जापानपछिको अर्को आकर्षक गन्तव्य कतारको दोहा हो । निगमले दोहामा ४६ हजार ६८० यात्रुलाई उडान सेवा दिएवापत १ अर्ब २८ करोड रुपैयाँ आम्दानी गरेको छ । निगमले काठमाडौंबाट कतारको दोहामा २५ हजार यात्रु लैजादा ७८ करोड रुपैयाँ आम्दानी गरेको छ भने दोहाबाट २१ हजार यात्रु ल्याउँदा गरको आम्दानी ४९ करोड रुपैयाँ मात्रै छ ।
दोहामा निमगले सातामा ५ उडान गर्छ । नेपाल श्रमिकको आकर्षक गन्तव्य भएको यो मुलुकमा निगमले श्रमिकलाई सेवा दिने गरी हरेक सोमबार, मंगलबार, बुधबार, विहीबार र शनिबार उडान गर्दै आएको छ ।
निगमले पछिल्लो समय थप गरेको ग्वाञ्जाओको उडानमा ६५१ यात्रुलाई सेवा दिएको छ । यो सेवाबाट निगमले १ करोड ७० लाख रुपैयाँमात्रै कमाएको छ । निगमल ग्वाञ्जाओमा साताको ३ उडान गर्दै आएको छ । निगमले यो गन्तव्यमा हरेक बुधबार, शुक्रबार र शनिबार उडान गर्छ ।
उडान संख्याका हिसावले भने निगमले भारको दिल्लीमा साताको ७ उडान गर्र्छ । दैनिक एक उडान हुने यो गन्तव्यमा निगमले पछिल्लो चार महिनामा ४७ हजार यात्रुलाई सेवा दिएको छ । यसबाट निगमले गरेको आम्दानी ४३ हजार ६३ लाख रुपैयाँ रहेको छ ।
यस्तौ निगमले पछिल्लो चार महिनामा दुबाईमा ३८ हजार यात्रु उडाउँदा ८१ करोड २ लाख, मलेसियामा १६ हजार यात्रु उडाउदा ३९ करोड ३५ लाख, बैंककमा ११ हजार यात्रु उडाउँदा ३० करोड ६४ लाख आम्दानी गरेको छ ।
निगमले हङकङमा ६ हजार ६ सय यात्रु उडाउदा २५ करोड ९३ लाख, मुम्मैमा ८ हजार १ सय यात्रु उडाउँदा १० करोड ४० लाख, बैंगलोरमा १० हजार यात्रु उडाउदा १३ करोड ५० लाख र दामममा ९ हजार यात्रु उडाउदा २४ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
निगमले अन्तर्राष्ट्रिय उडानमा गरेकाे यात्रु र आम्दानीको औषत आम्दानी भने २६ हजार ३४ रुपैयाँ रहेको छ । निगमले गरेको अन्तर्राष्ट्रिय उडानको कुल आम्दानी ५ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । यो आम्दानीलाई कुल यात्रु २ लाख १८ हजार ३३३ बाट औषत आम्दानी २६ हजार भएको देखिएको छ ।
वायुसेवा निगमको हालको विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका











प्रतिक्रिया