९० लाख खर्चेर महानगरले बनाएको खुलामञ्च आजदेखि खुल्दै, हरियाली घाँसे मैदानमा ध्यान शिविर आयोजना


काठमाडौं । एक दशकपछि आजदेखि सर्वसाधारणको लागि खुलामञ्च खुला हुने भएको छ । काठमाडौं महानगरपालिकाले ९० लाख रुपैयाँ खर्च गरेर नेपाली दुवो रोपेको खुलामञ्च आइतबार मध्यान्हदेखि खुला हुने भएको हो ।

आज खुलामञ्चमा काठमाडौं महानगर र भविष्यका लागि युवाको आयोजनामा ध्यान शिविरसमेत हुने भएको छ । महानगरका अनुसार ध्यान गर्न इच्छुकले १ बजेदेखि ध्यान शिविरमा सहभागी हुन सक्नेछन् । ध्यान शिविरमा जोसुकै गएर पनि सहभागी हुन पाउने छन् ।

खुलामञ्च २०७२ वैशाखको पहिलोसातामा गएको भूकम्पका कारण क्षतिग्रस्त भएको थियो । त्यसयता खुलामञ्च प्रयोगमा आएको थिएन । यसअघि सोही स्थानमा सिमेन्टेण्ड बसपार्कसमेत बनाइएको थियो ।
अहिले भने उक्त स्थानलाई नेपाली दुबोसहितको चौर बनाइएको छ । प्राकृतिक दुबोसहितको घाँसे चउर र वरिपरि खुल्ला पैदल मार्ग निर्माण गरिएको छ ।

खुल्ला मञ्चको चउरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ ।

महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधारमा काम गर्न, ६ करोड ९८ लाख ७० हजार रुपियाँ विनियोजन भएको थियो । यही कार्यक्रमबाट खुल्ला मञ्चको चउरमा दुबो रोपिएको हो ।

यसका लागि करिब ९० लाख रुपियाँ खर्च भएको छ । चउरको वरिपरि ४ मिटर चौडा पैदलमार्ग बनाइएको छ । सहरका विभिन्न ठाउँका पैदल मार्ग स्तरोन्नति गर्दा निकालिएका हेक्जागोनल ब्लकहरु ल्याएर यस ठाउँको पैदल मार्ग बनाउन प्रयोग गरिएको छ ।