
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीन कार्ड चिट्ठा कार्यक्रम (डीभी लटरी) स्थगित गरेको घोषणा गरेका छन् ।
अमेरिकामा ऐतिहासिक रूपमा कम आप्रवासन दर भएका देशका नागरिकहरूलाई स्थायी बसोबासका लागि आवेदन दिन अनुमति दिने डाइभर्सिटी भिसा (डीभी लटरी) अस्थायी रूपमा बन्द गरिएको हो । ट्रम्प प्रशासनले सन् २०२७ को डिभी लटरी प्रवेश प्रक्रियामा परिवर्तन गर्ने बताएको एक महिनापछि यो घोषणा आएको हो ।
डिपार्टमेन्ट अफ होमल्यान्ड सिक्योरिटी मन्त्री क्रिस्टी नोमले यो निर्णय ट्रम्पको निर्देशनमा लिइएको र अमेरिकी नागरिकता तथा आप्रवासन सेवालाई कार्यक्रम रोक्न भनिएको बताइन् ।
यही कार्यक्रमले ब्राउन युनिभर्सिटी र एमआईटी गोलीकाण्डका आरोपितलाई अमेरिका आउन अनुमति दिएको र यस्तो हिंस्रक व्यक्तिलाई अमेरिकामा कहिल्यै प्रवेश गर्न दिनु हुँदैनथ्यो भनी नोमले सामाजिक सञ्जाल एक्समा पोस्ट गरिन् ।
डीभी लटरीलाई प्रायः ग्रीन कार्ड चिट्ठा भनिन्छ । यसले प्रत्येक वर्ष ५५ हजारसम्म आप्रवासी भिसाहरू उपलब्ध गराउँछ । यी भिसाहरू अमेरिकामा आप्रवासनको न्यून स्तर भएका देशका आवेदकहरूलाई गोलाप्रथा प्रक्रियामार्फत जारी गरिन्छ ।
छनोट भएका आवेदकहरूले स्थायी बसोबासको अनुमति पाउनुअघि शिक्षा वा कार्य अनुभवको आवश्यकताहरू पूरा गर्नुपर्छ र सुरक्षा तथा पृष्ठभूमि जाँचहरू पास गर्नुपर्छ ।
यस कार्यक्रममा नेपाल सहित धेरै देशका नागरिकमा उच्च चासो छ । सन् २०२५ को भिसा लटरीका लागि करिब २ करोड मानिसले आवेदन दिएका थिए । तीमध्ये १ लाख ३१ हजारभन्दा बढी व्यक्तिहरू छनोट भएका थिए । त्यसमा मुख्य निवेदकका दम्पती र आश्रितहरू पनि सामेल छन् ।
छनोट भएपछि निवेदकहरूले अमेरिका प्रवेशको अनुमति पाउनुअघि अन्तर्वार्ता र सुरक्षा जाँच प्रक्रिया पूरा गर्नुपर्छ ।
गत महिना ट्रम्प प्रशासनले सन् २०२७ को चक्रका लागि डिभी लटरी प्रवेश प्रक्रिया परिमार्जन गर्ने योजना बनाएको घोषणा गरेको थियो । ती प्रस्तावित परिवर्तनहरूको विवरण अझै सार्वजनिक गरिएको छैन ।
गत डिसेम्बर १३ मा रोड आइल्यान्डको प्रोभिडेन्सस्थित ब्राउन युनिभर्सिटीमा शरदकालीन सेमेस्टरको अन्तिम परीक्षाको दोस्रो दिन सामूहिक गोलीकाण्ड भएको थियो । एक बन्दुकधारीले स्कूल अफ इन्जिनियरिङमा प्रवेश गरी परीक्षा अगाडिको एउटा तयारी सत्र चलिरहेका बेला गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु हुनुका साथै नौजना घाइते भएका थिए ।
त्यसको दुई दिनपछि डिसेम्बर १५ मा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका भौतिकशास्त्रका प्राध्यापक नुनो गोमेस लौरेरोलाई म्यासाचुसेट्सको ब्रुकलीनस्थित उनको घरबाहिर धेरैपटक गोली हानिएको थियो । चोटका कारण पछि उनको मृत्यु भयो ।
यी गोलीकाण्डपछि संघीय अनुसन्धान ब्यूरो (एफबीआई) र स्थानीय प्रहरीले पाँच दिनसम्म ठूलो खोजी अभियान चलाएका थिए । खोजीका क्रममा अधिकारीहरूले मास्क लगाएका आरोपित क्लाउडियो भालेन्तेका तस्बिर र भिडियोहरू सार्वजनिक गरेका थिए ।
त्यसबेला अनुसन्धानकर्मीहरूले लौरेरोको हत्या ब्राउन युनिभर्सिटीको गोलीकाण्डसँग सम्बन्धित रहेको विश्वास गरेका थिए । न्यु ह्याम्पशायरको एक भण्डारण इकाइभित्र पोर्चुगाली मूलका भालेन्ते मृत अवस्थामा फेला परेपछि खोजी कार्य समाप्त भएको थियो ।
डीभी कार्यक्रममार्फत कयौं नेपाली अमेरिका पुगेका छन् । तर आगामी वर्षका लागि यो कार्यक्रम बन्द हुने भएपछि नेपाली पनि प्रभावित हुने छन् ।








प्रतिक्रिया