विमान नउडेपछि काठमाडौं एयरपोर्टमा कुर्दै रवि लामिछाने


भैरहवा । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त प्रक्रिया पूरा गर्न भैरहवा आउन काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ पुगे पनि रोकिएका छन् ।

मौसम खराबीका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण अवरुद्ध भएपछि लामिछाने काठमाडौंमै रोकिएका हुन् ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले थुनामुक्त गर्न आदेश जारी गरेको थियो । बिहीबार ढिला गरि आदेश आएको र आदेशअनुसार आवश्यक प्रक्रिया पूरा गरी थुनामुक्त हुन समय लाग्ने भएपछि लामिछाने आज रुपन्देही आउन लागेका थिए ।

काठमाडौंस्थित नख्खु कारागारमा रहेका लामिछानेलाई विमानमार्फत भैरहवा ल्याएर जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराउने तयारी छ । त्यसका लागि लामिछाने विहान ९ बजेआसपास नै काठमाडौंस्थित विमानस्थल पुर्‍याइएका भए पनि विमानको उडान हुन नसकेको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बाक्लो हुस्सु लागेकाले विमानस्थल हालसम्म नखुलेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतको भनाइ छ । मौसममा सुधार आउनासाथ विमानस्थल खुल्ने भए पनि त्यसका लागि केही समय लाग्न सक्ने उनले बताए ।