
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया पूरा गर्न रुपन्देही प्रस्थान गरेका छन् ।
सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराधसम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी शुक्रबार रुपन्देही जान लागेका हुन् ।
रिहाइको प्रक्रिया अघि बढाउन नख्खु कारागारले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याएको छ। केहीबेरमा उनी विमानमार्फत भैरहवा जानेछन् । जिल्ला अदालत रुपन्देहीबाट छुटपुर्जी लिई धरौटी रकम बुझाएपछि उनी थुनामुक्त हुनेछन् ।
जिल्ला अदालत रुपन्देहीले थुनछेकको क्रममा माग गरेको १ करोड रुपैयाँ धरौटी तथा लामिछानेले पेस गरेको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानतसहित आवश्यक कागजात बुझाएपछि रिहा गर्न बिहीबार आदेश दिएको हो ।
यसअघि लामिछानेले आफ्नो भागको बिगो रकम बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीले उनलाई रिहा गर्न अस्वीकार गरेको थियो। त्यसपछि उनले बिगो बमोजिमको रकम बुझाएर थुनामुक्त भई मुद्दा लड्न पाउने मागसहित उच्च अदालतमा निवेदन दिएका थिए।








प्रतिक्रिया