
काठमाडौं । दरबारमार्गस्थित नेपाल ट्रष्टको नाममा रहेको बहुमूल्य जग्गा यती होल्डिङ्स अन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिँदा राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याउने गरी मिलेमतो भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानले पुष्टि गरेको छ । अनुसन्धान प्रतिवेदन अनुसार तत्कालीन नेपाल ट्रष्टका पदाधिकारी र व्यवसायीको मिलेमतोमा बोलपत्रको अंक गणितीय फरबदल गर्नेदेखि सूचनामै नभएको जग्गासमेत सम्झौतामा घुसाएर राज्य दोहन गरेको पाइएको छ ।
यस प्रकरणको सबैभन्दा गम्भीर पक्ष आर्थिक हिनामिना हो । थामसेर्कु ट्रेकिङ प्रालिले ३० वर्षको लिज अवधिका लागि ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ (निर्माण खर्च र भाडा सहित) कबोल गरेको थियो । आर्थिक प्रस्ताव मूल्यांकन समितिले सोही रकम स्वीकार गर्न सिफारिस गरेको थियो ।
तर, सम्झौता गर्दा भने चलखेल गरी जम्मा १ अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ मा मात्र सम्झौता गरिएको पाइएको छ । ‘अंकगणितीय त्रुटि सच्याउने’ बहानामा मूल्यांकन समितिले सिफारिस गरेको रकमलाई लत्याउँदै झण्डै ५ अर्ब रुपैयाँ कममा सम्झौता गरी नेपाल ट्रष्ट (सरकारी निकाय) लाई हानी र थामेशेर्कुलाई फाइदा पुर्याइएको सीआईबीको ठहर छ ।
सार्वजनिक खरिद ऐन र नियम मिचेर सूचनामै ननिकालिएको जग्गा पनि थामसेर्कुलाई सुम्पिएको खुलेको छ । नेपाल ट्रष्टले सुरुमा कित्ता नं. ४६०६ (क्षेत्रफल १-१४-०-३.५६ रोपनी) को जग्गा मात्र लिजमा दिने सूचना निकालेको थियो । तर, २०७४/०२/१४ मा थामसेर्कुसँग सम्झौता गर्दा सूचनामै नभएको र बाटोको रूपमा प्रयोग भइरहेको उत्तरतर्फको कित्ता नं. ४६०५ (क्षेत्रफल ०-३-३-०.९४ रोपनी) जग्गा पनि थप गरी सम्झौता गरियो । यसका लागि ट्रष्ट सञ्चालक समितिबाट कुनै निर्णय समेत नभएको पाइएको छ ।
कानूनतः प्रस्तावको वैधता अवधि ९० दिनको हुनेमा, २०७३ असार २८ गते पेश भएको प्रस्ताव स्वीकृत गरी झण्डै १ वर्षपछि २०७४ जेठ १४ मा सम्झौता गरिएको छ । म्याद सकिसकेको प्रस्तावलाई आधार मानेर सम्झौता गर्नु गैरकानूनी रहेको अनुसन्धानले देखाएको छ ।
थामसेर्कु ट्रेकिङले सम्झौतामा उल्लेख भएभन्दा २ तल्ला थप निर्माण गरेको पाइएको छ। तर, ती थपिएका तल्लाहरूको भाडा नेपाल ट्रष्टलाई नबुझाई उल्टै राज्यलाई नोक्सानी पुर्याउने कार्य गरेको अभियोग पत्रमा उल्लेख छ ।
सीआईबीले अनुसन्धानका आधारमा निम्न व्यक्तिहरूलाई मुख्य दोषी (प्रतिवादी) ठहर गरिएको छ:
१. लेख बहादुर कार्की (तत्कालीन सह-सचिव, नेपाल ट्रष्ट)
कसुर: आर्थिक प्रस्ताव मूल्यांकन समितिले ६ अर्ब ४५ करोडको प्रस्ताव स्वीकार गर्न सिफारिस गर्दागर्दै, त्यसलाई पुनरावलोकन नगरी १ अर्ब ५९ करोडमा सम्झौता गर्ने निर्णय र हस्ताक्षर गरेको ।
आरोप: पदको दुरुपयोग गरी राज्यलाई हानी हुने गरी कम रकममा सम्झौता गराएको र सूचनामा नभएको जग्गा पनि सम्झौतामा समावेश गरेको ।
२. अर्जुन कुमार कार्की (तत्कालीन सचिव, नेपाल ट्रष्ट)
कसुर: सह-सचिव लेख बहादुर कार्कीले पेश गरेको त्रुटिपूर्ण टिप्पणी र आदेश (कम रकममा सम्झौता गर्ने प्रस्ताव) लाई सदर गरेको ।
आरोप: सबैभन्दा बढी कबोल गर्नेको प्रस्ताव स्वीकृत गर्ने भन्दै भाषा लेखे पनि, व्यवहारतः ६ अर्बको सट्टा १ अर्ब ५९ करोडको प्रस्ताव स्वीकृत गरी ठगी कार्यमा मतियार भएको ।
३. ल्हाक्पा सोनम शेर्पा (सञ्चालक, थामसेर्कु ट्रेकिङ प्रालि) र थामसेर्कु कम्पनी
कसुर: आफूले कबोल गरेको ६ अर्ब ४५ करोडको सट्टा कर्मचारीसँगको मिलेमतोमा १ अर्ब ५९ करोडमा सम्झौता गरेको ।
आरोप: सूचनामा नभएको जग्गा समेत लिजमा लिएको, नक्सा पास विपरीत थप २ तल्ला भवन बनाएर त्यसको भाडा नतिरी राज्य दोहन गरेको र ठगी गरेको ।
नेपाल ट्रस्टसँग भाडामा लिएको सो जग्गामा हाल थामसेर्कु ट्रेकिङले वान दरबार मल निर्माण गरेको छ ।








प्रतिक्रिया