काठमाडौंका स्कुलले विद्यार्थीको कपाल जथाभावी काट्न नपाउने, महानगरले रोक्यो ‘मुन्डन ज्यादती’


काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूलाई विद्यार्थीको कपाल जथाभावी मुण्डन नगर्न र नकाट्न कडा निर्देशन दिएको छ । विद्यालयहरूमा अनुशासनको नाममा लामो कपाल भएका छात्रहरूको कपाल जबरजस्ती काटिदिने वा मुण्डन गरिदिने प्रवृत्ति बढेको गुनासोपछि महानगरले बुधबार एक सर्कुलर जारी गर्दै यस्तो रोक लगाएको हो ।

महानगरपालिकाको शिक्षा विभागद्वारा जारी सर्कुलरमा भनिएको छ, ‘महानगरपालिका अन्तर्गतका केही विद्यालयहरूमा छात्रको कपाल लामो भएको भनी विद्यालयमा जथाभावी मुण्डन गरिदिने कार्यले छात्रलाई मनोवैज्ञानिक असर परेको भनी जनगुनासा प्राप्त भएको छ ।’

कक्षाकोठामै साथीहरूको अगाडि वा विद्यालय परिसरमा जबरजस्ती कपाल काटिदिँदा बालबालिकामा हिनताबोध हुने र मानसिक असर पर्ने भन्दै अभिभावकहरूले असन्तुष्टि जनाउँदै आएका थिए ।

महानगरले विद्यालयहरूलाई पत्र लेख्दै शिक्षा नियमावली, २०५९ का कानुनी प्रावधानहरूबारे स्मरण गराएको छ ।

महानगरका अनुसार, शिक्षा नियमावलीको नियम २५ (ट) मा विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागू गर्न सक्ने व्यवस्था छ। विद्यालयले अनुशासन कायम गर्न नियम बनाउन त सक्छन्, तर नियम १३३ (१) (ट) ले विद्यार्थीलाई विद्यालयभित्र शारीरिक वा मानसिक यातना दिन नहुने स्पष्ट व्यवस्था गरेको छ ।

महानगरले भनेको छ, ‘कानुनी व्यवस्था समेत रहेको सन्दर्भमा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नहुने गरी आचार संहिता पालना गर्न गराउन हुन अनुरोध छ ।’

यो निर्देशनपछि अब काठमाडौंका कुनै पनि स्कुलले ‘डीआई’ वा शिक्षक लगाएर विद्यार्थीको कपाल जबरजस्ती काट्न वा मुण्डन गर्न पाउने छैनन् । विद्यालयले आचारसंहिता पालना गराउन अन्य सुधारात्मक उपाय अपनाउनुपर्नेछ तर विद्यार्थीको आत्मसम्मानमा चोट पुग्ने गरी यातना दिन पाउने छैनन् ।

Skip This