
काठमाडौं । सरकारले वैदेशिक रोजगारीका नाममा बढ्दो ठगी नियन्त्रण गर्न र आप्रवासी श्रमिकलाई सही सूचना प्रवाह गर्न ‘हेल्प टु हेल्प १० सेल’ (हेल्प टु हेल्प १० सेल ) सञ्चालनमा ल्याउने भएको छ ।
मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. कृष्णहरी पुस्करले आगामी पुस ८ गतेदेखि यो विशेष संयन्त्र कार्यान्वयनमा आउने जानकारी दिए ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको सन्दर्भ पारेर मन्त्रालयले श्रमिकको सुरक्षा र सुसूचित निर्णयका लागि यो पहल सुरु गर्न लागेको उनले बताए ।
सचिव पुस्करका अनुसार सेलले देशभरका ७५३ वटै स्थानीय तहमा रहेका रोजगार सूचना केन्द्र, सातै प्रदेशका श्रम कार्यालय, वैदेशिक रोजगार विभाग र मन्त्रालयको ‘समाधान कल सेन्टर’ लाई एकीकृत रूपमा परिचालन हुनेछ । सेवाग्राहीले यी सेवाबाट १० वटा आधारभूत र महत्त्वपूर्ण प्रश्नको जवाफसहित आवश्यक सहयोग प्राप्त गर्न सक्नेछन् ।
पछिल्लो समय टिकटक, फेसबुक रिल्स लगायतका सामाजिक सञ्जालमार्फत ‘यति लाख कमाइन्छ’, ‘सजिलै विदेश पठाइदिन्छौँ’ भन्ने जस्ता भ्रामक विज्ञापन र ‘डिजिटल ट्र्याप’बढेको भन्दै सचिव पुस्करले चिन्ता व्यक्त गरे ।
‘श्रमिकहरू राज्यको आधिकारिक सूचनाभन्दा सामाजिक सञ्जालका हल्लाको पछि लाग्दा ठगीमा परिरहेका छन्,’ सचिव पुस्करले भने, ‘श्रमिकलाई यस्ता पासोबाट जोगाउन र उनीहरूलाई राज्यको आधिकारिक सूचना संयन्त्रमा जोड्न यो सेल प्रभावकारी हुनेछ ।’
‘हेल्प टु हेल्प १० सेल’ मार्फत वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्तिले आफू जान लागेको देश र कामबारे १० वटा प्रमुख प्रश्नको उत्तर पाउनेछन् । यसमा रोजगारीको माग यथार्थ हो/होइन, म्यानपावर कम्पनीको आधिकारिकता, आवश्यक योग्यता, उमेर हद, तालिम, स्वास्थ्य परीक्षण, लाग्ने वास्तविक खर्च, भुक्तानी प्रक्रिया, र सुरक्षित आप्रवासनका विधि लगायतका विषय समेटिएका छन् ।
मन्त्रालयले यो सेवा पूर्ण रूपमा निःशुल्क हुने र यसले श्रमिकलाई बिचौलियाको भर पर्नुपर्ने बाध्यताबाट मुक्त गर्ने विश्वास लिएको छ ।
यसैबीच मन्त्रालयले डिसेम्बर १८ मा मनाइने २५ औं अन्तर्राष्ट्रिय आप्रवासन दिवसलाई सप्ताहव्यापी रूपमा मनाउने भएको छ ।
यस वर्ष ‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन’ भन्ने राष्ट्रिय नारासहित पुस १ देखि ७ गतेसम्म विभिन्न चेतनामूलक कार्यक्रम गरी दिवस मनाइँदैछ ।








प्रतिक्रिया