
विराटनगर । ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नारासहित पोखराका पर्यटन व्यवसायीहरू कोशी प्रदेशका विभिन्न सहरमा निम्तो बाँड्दै छन् ।
अढाई दशकदेखि अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरामा आयोजना गरिँदै आएको ‘पोखरा सडक महोत्सव’ लाई यस वर्ष पनि निरन्तरता दिने तयारीस्वरूप पोखराका पर्यटन व्यवसायीहरू आइतबार औद्योगिक नगर विराटनगर आइपुगेका हुन् ।
विगत २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको ‘पोखरा सडक महोत्सव’ यस वर्ष पनि भव्यताका साथ आयोजना हुने भएको छ । रेस्टुरेन्ट एन्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा यही पुस १३ देखि १७ गतेसम्म (डिसेम्बर अन्तिम साता) फेवाताल किनारमा महोत्सव हुँदैछ ।
उक्त महोत्सवमा सहभागी हुन औद्योगिक नगर विराटनगरका बासिन्दालाई निम्तो दिँदै यहाँ आइपुगेका महोत्सव संयोजक वसन्त गौतमले सञ्चारकर्मीलाई जानकारी दिए । महोत्सवको प्रचार–प्रसार तथा निम्तो बाँड्न देश दौडाहामा निस्केको आयोजक टोली आइतबार विराटनगर आइपुगेको हो । यो टोली सुनसरीको धरान, इटहरी, मधेश प्रदेशको जनकपुर, चितवन र काठमाडौँसम्म पुगेर निम्तो दिने गौतमले बताए ।
पोखराको लेकसाइडस्थित करिब साढे ३ किलोमिटर क्षेत्रमा सञ्चालन हुने यस महोत्सवको मूल नारा ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ रहेको छ । संयोजक तथा रेवान पोखराका प्रथम उपाध्यक्ष गौतमका अनुसार पोखराको पर्यटनलाई विश्वभर चिनाउन र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न महोत्सव कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ ।
विगतमा अंग्रेजी नयाँ वर्ष मनाउन भारतको गोवा वा थाइल्यान्ड जाने परम्परालाई तोड्दै यो महोत्सवले पोखरालाई नै ‘न्यु इयर डेस्टिनेसन’ का रूपमा स्थापित गरेको आयोजकको दाबी छ । पाँच दिनसम्म चल्ने महोत्सवमा विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको छ ।
पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ को पूर्वसन्ध्यामा आयोजित यो महोत्सवले भ्रमण वर्षलाई सफल बनाउन रणनीतिक भूमिका खेल्ने आयोजकको विश्वास छ । महोत्सवले पोखरालाई बाह्रै महिना पर्यटकीय गन्तव्यका रूपमा चिनाउने र ‘खुला संग्रहालय’ को अवधारणालाई मूर्तरूप दिने बताइएको छ ।
महोत्सवमा स्थानीय कृषि उपज, हस्तकला र घरेलु सामग्रीको प्रदर्शनले ग्रामीण अर्थतन्त्रलाई टेवा पुग्ने र विदेशी पर्यटक मार्फत विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने आयोजकले जनाएको छ । भूकम्प, कोरोना महामारी र आर्थिक मन्दीजस्ता संकटपछि सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न यो महोत्सवले सञ्जीवनीको काम गर्ने अपेक्षा गरिएको महोत्सवका अर्का संयोजक गोपी भट्टले बताए ।
‘पोखरा आफैँमा पर्यटकीय स्थल हो । यो महोत्सवले यसको समृद्धि झन् बढाएको छ,’ भट्टले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आउने हो भने पोखराको पर्यटन व्यवसाय झन् मौलाउने थियो ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचलेकोमा चिन्ता व्यक्त गर्दै उनले पोखराको हवाई सम्बन्ध विराटनगर, भैरहवा, जनकपुर र भद्रपुरसँग जोड्ने हो भने पर्यटन व्यवसायमा थप विकास हुने बताए ।
औद्योगिक नगर विराटनगरका होटल तथा पर्यटन व्यवसायीहरू पर्यटकीय नगरी पोखरासँग पर्यटन विकासका लागि सहकार्य गर्न तयार भएको ‘कोशी पर्यटन वर्ष २०८२’ का सहसंयोजक भविश श्रेष्ठले प्रतिक्रिया दिए । विराटनगरका उद्योगी तथा पर्यटन व्यवसायीहरू पोखरासँग सहकार्य गर्न तत्पर भए पनि सरकारी नीति र व्यवहार बाधक रहेको श्रेष्ठको गुनासो थियो ।
‘पोखरासँग विराटनगर र भद्रपुरको हवाई सम्बन्ध जोड्न सरकार र उसका नीति बाधक बन्दै आएका छन् । त्यसका कारण यस क्षेत्रका पर्यटक लामो बस यात्रा गरेर पोखरा पुग्न बाध्य छन्,’ श्रेष्ठले भने, ‘पोखरासँग क्षेत्रीय हवाई सम्बन्ध हुने हो भने पोखरा घुम्न जाने र विराटनगरको औद्योगिक क्षेत्र अवलोकन गर्न आउने पर्यटकमा बढोत्तरी हुने पक्का थियो ।’
हाल विराटनगर, धरान र काँकरभिट्टाबाट पोखराका लागि रात्रि सेवाका बसको मात्र व्यवस्था छ । पोखरा घुम्न जाने पर्यटकको मागलाई मध्यनजर गरेर दिवा सेवाका बस पनि सञ्चालन गर्ने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए ।
महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा.लि. रहेको छ भने प्रवर्द्धकमा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिका रहेको आयोजकले जनाएको छ ।







प्रतिक्रिया