
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विघटित प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति सभापति सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा नेपाली कांग्रेसका नेता तथा निवर्तमान सांसद चालिसेविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
चालिसेले ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको आयोगको दाबी छ।
सोही रकम बराबरको बिगो कायम गरी स्रोत नखुलेको सम्पत्ति जफत गर्न तथा कैद सजायको मागसहित आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
चालिसे गोकर्णेश्वर नगरपालिकाका तत्कालीन मेयरसमेत हुन् । उनी २०७४ जेठ ८ गते मेयर पदमा निर्वाचित भएका थिए।
सार्वजनिक पदमा प्रवेश गरेदेखि २०७९ असार ३२ गतेसम्मको जाँच अवधिमा चालिसे र उनको परिवारको नाममा रहेको सम्पत्ति आयभन्दा व्यय बढी देखिएको अख्तियारको ठहर छ ।
सोही अवधिमा चालिसे तथा उनको परिवारको नाममा रहेको सम्पत्तिमध्ये ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँको स्रोत पुष्टि गर्न नसकेको आयोगको दाबी छ ।
चालिसे २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित भएका थिए । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-३ बाट उनको नाम एकल सिफारिस भएको छ ।









प्रतिक्रिया