नेपाली संस्थापक रहेको भारतको लेनदेन क्लबले आइपीओ जारी गर्दै

63
Shares

काठमाडौं । भारतको सबैभन्दा ठूलो पियर–टु–पियर ऋण बजार लेनदेनक्लबको सञ्चालक भार्टिस प्लेटफर्मले आगामी १८ देखि ३६ महिनाभित्र साधारण सेयर जारी गर्ने तयारी गरिरहेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत भाविन पटेलले यसबारे जानकारी दिएका हुन् ।

‘हामी तयारी अवस्थामा छौं र हामी आगामी १८ देखि ३६ महिनाको समयसीमाभित्र यसलाई लक्षित गर्न सक्छौं,’ पटेलले बुधबार रोयटर्सलाई भनेका छन् । लेनदेनक्लब सेयर बजारमा सूचीकृत हुने भारतको पहिलो पीटुपी ऋणदाता बन्न सक्ने उनको भनाइ छ।

नेपाली युवा दीपेश कार्की लेनदेन क्लबका सहसंस्थापक हुन् जुन भारतको सबैभन्दा ठूलो पी–टु–पी कर्जा प्लेटफर्म हो । कार्की कम्पनीका प्रमुख टेक्नोलोजी अधिकृत हुन् । विराटनगरका कार्कीले सन् २०२५ मा साथी भविन पटेलसँग मिलेर मुम्बईमा लेनदेन क्लब स्थापना गरेका थिए ।

पियर–टु–पियर लेन्डिङले बैंक तथा अन्य वित्तीय संस्थाहरूलाई बाईपास गर्दै व्यक्तिगत ऋणदाताहरूलाई सिधै ऋणीहरूसँग जोड्ने काम गर्छ ।

सूचीकरण यस क्षेत्रका लागि एक कोसेढुंगा साबित हुनेछ । सन् २०२४ मा रिजर्भ बैंक अफ इन्डियाले नियमहरू कडा बनाएपछि यस क्षेत्रले सुस्त वृद्धि र उच्च अनुपालन लागतको सामना गरिरहेको छ । आरबीआईका कडा नियमहरूमा स्रोतसम्बन्धी कठोर मापदण्ड र सुनिश्चित प्रतिफलमा प्रतिबन्ध समावेश थिए ।

भार्टिसले आईपीओअघि दुईवटा आन्तरिक लक्ष्यहरू निर्धारण गरेको छ । १ अर्ब भारतीय रुपैयाँभन्दा बढी वार्षिक नाफा कमाउने र सूचीकृत समकक्षीहरूसँग मेल खाने गरी लेखा अभ्यासहरूको पुनःसंरचना गर्ने लक्ष्य छ ।

‘धेरै आन्तरिक संरचनाहरू मिलाउन बाँकी छ । हामीले विगत केही त्रैमासिकदेखि नै यो काम सुरु गरिसकेका छौं,’ पटेलले भने।

वेबसाइटका अनुसार, मुम्बईमा रहेको यस कम्पनीले आर्थिक वर्ष २०२५ मा २ अर्ब ४० करोड भारु राजस्व र करिब ३४ करोड भारु नाफा कमाएको थियो ।

पटेलका अनुसार, चालू आर्थिक वर्षका लागि कम्पनीले ३ अर्ब २० करोड देखि ३ अर्ब ५० करोड भारु राजस्व र ५० करोड देखि ६० करोड भारु नाफा हुने अपेक्षा गरेको छ ।

आर्थिक वर्ष २०२४ मा आरबीआईको कडाइले ऋण प्रवाह र नाफामा असर पारेको उनले बताए । तर, लेनदेनक्लबले त्यसयता आफ्नो प्लेटफर्मलाई सुधार गरेको छ र अहिले भारतको पीटुपी ऋणको करिब ९५ प्रतिशत हिस्सा ओगटेको छ ।

भार्टिस प्लेटफर्मले ऋण बजार इन्स्टामनी र यसको प्राविधिक शाखा भार्टिस वन पनि सञ्चालन गर्दछ । अर्था क्यापिटल र टस्कन भेन्चर्सको लगानी रहेको यस कम्पनीले पछिल्लो पटक सन् २०२१ मा कोष जुटाएको थियो ।

फिनटेक कम्पनीहरू पाइन ल्याब्स र ग्रो सहित ३०० भन्दा बढी सूचीकरणहरूले गर्दा भारतको आईपीओ बजार अर्को कीर्तिमानी वर्ष बन्ने तरखरमा छ । कोष संकलन गत वर्षको २०.५ अर्ब डलरभन्दा बढी हुने अपेक्षा गरिएको छ ।