
एजेन्सी । पहिलोपटक पाकिस्तानको इस्लामिक गणतन्त्रमा कक्षाकोठाहरूमा संस्कृतको पठनपाठन थालिएको छ ।
लाहोर युनिभर्सिटी अफ म्यानेजमेन्ट साइन्सेस (एलयूएमएस) ले यो शास्त्रीय भाषामा कोर्स सुरु गरेको छ । तीन महिनाको सप्ताहान्त कार्यशालाको रूपमा सुरु भएको यो कार्यक्रमले अत्यधिक सकारात्मक प्रतिक्रिया पाएपछि बिस्तारै पूर्ण चार क्रेडिट सहितको विश्वविद्यालय कोर्समा परिणत भयो ।
गुरमानी सेन्टरका निर्देशक डा अली उस्मान कासमीका अनुसार, पञ्जाब विश्वविद्यालयको पुस्तकालयमा संस्कृतका सबैभन्दा धनी तर कम अध्ययन गरिएका अभिलेखहरूमध्ये एक पाकिस्तानमा छ ।
‘सन् १९३० को दशकमा विद्वान जेसीआर वुलनरले संस्कृतका ताडपत्रका पाण्डुलिपिहरूको महत्त्वपूर्ण संकलन सूचीकृत गरेका थिए । तर, सन् १९४७ पछि कुनै पनि पाकिस्तानी प्राज्ञिकले यो संकलन चलाएका छैनन् । केवल विदेशी अनुसन्धानकर्ताहरूले यसको प्रयोग गर्छन् । स्थानीय रूपमा विद्वानहरूलाई तालिम दिँदा त्यो अवस्था परिवर्तन हुनेछ,’ उनले भने ।
एलयूएमएसले महाभारत र श्रीमद्भगवद्गीतामा पनि कोर्सहरू सञ्चालन गर्ने योजना बनाएको छ । ‘आशा छ यसले एउटा गति तय गर्नेछ,’ डा कासमी भन्छन्, ‘१०–१५ वर्षमा हामी गीता र महाभारतका विद्वानहरू पाकिस्तानमा देख्न सक्नेछौं ।’
सुरुमा विद्यार्थी, अनुसन्धाता, वकिल र प्राज्ञ लगायत सबैका लागि खुला गरिएको सप्ताहान्त कार्यक्रम प्रस्ताव गरिएको डा कासमी बताउँछन् । ‘त्यसमा सकारात्मक प्रतिक्रिया देखेपछि हामीले यसलाई उचित विश्वविद्यालय कोर्सको रूपमा सुरु गर्ने निर्णय गर्यौं । विद्यार्थीहरूको संख्या अझै कम भए पनि आगामी केही वर्षहरूमा यो बढ्ने आशा गरेका छौं । सबै कुरा मिल्दै गएमा सन् २०२७ को वसन्त ऋतुसम्ममा हामी यसलाई वर्षभरि चल्ने कोर्सको रूपमा पढाउन सक्षम हुनुपर्छ ।’
यस पहलको केन्द्रमा फर्मन क्रिश्चियन कलेजका समाजशास्त्रका सहप्राध्यापक डा शाहिद रशिद छन् । संस्कृतप्रति उनको रुचि एलयूएमएसले सम्पर्क गर्नुभन्दा धेरै अघि सुरु भएको थियो ।
‘शास्त्रीय भाषाहरूमा मानवजातिका लागि धेरै ज्ञान हुन्छ । मैले अरबी र फारसी सिकेपछि संस्कृत पढें,’ उनले बताए । स्थानीय शिक्षक वा पाठ्यपुस्तकहरू नभएपछि उनले अनलाइन प्ल्याटफर्महरूको सहारा लिए । क्याम्ब्रिजका संस्कृत विद्वान् एन्टोनिया रुपेल र अस्ट्रेलियन इन्डोलोजिस्ट म्याकोमस टेलर अन्तर्गत अध्ययन गरे ।
‘शास्त्रीय संस्कृत व्याकरण कभर गर्न झन्डै एक वर्ष लाग्यो र म अझै अध्ययन गर्दैछु,’ उनले थपे ।
डा कासमीले सम्पर्क गरेपछि डा रशिदले एलयूएमएसमा यो कोर्स पढाउन एफसी कलेजबाट बिदा लिए । ‘म मुख्यतया व्याकरण पढाउँछु । म ‘सुभाषित’ अर्थात् ज्ञानका श्लोकहरू पढाउँदै थिएँ । धेरै उर्दू शब्दहरू संस्कृतबाट आएका हुन् भन्ने थाहा पाएपछि मेरा धेरै विद्यार्थीहरू छक्क परे । कतिपयलाई त संस्कृत हिन्दीभन्दा फरक हो भन्ने पनि थाहा थिएन । पहिलो हप्तामा उनीहरूलाई यो भाषा चुनौतीपूर्ण लाग्यो । तर, उनीहरूले यसको तार्किक संरचना बुझेपछि रमाइलो मान्न थाले । कुनै गाह्रो कुरा समाधान गर्नुको आनन्द असीम हुन्छ,’ उनी भन्छन् ।
‘आधुनिक भाषाहरू शास्त्रीय परम्पराहरूबाट आएका हुन् । त्यहाँ केवल एउटा पर्दा छ जसले तिनीहरूलाई अलग गर्छ । तपाईंले त्यसलाई पार गरेपछि ती सबै हाम्रै हुन् भनी तपाईंले महसुस गर्नुहुन्छ,’ डा रशिद थप्छन् ।
यो पहल विश्वविद्यालयको फराकिलो भाषा इकोसिस्टमसँग पनि मेल खाने डा कासमी बताउँछन् । त्यसमा सिन्धी, पस्तो, पञ्जाबी, बलोची, अरबी र फारसी समावेश छन् ।
“हामी यो अविश्वसनीय परम्परासँग जोडिनुको महत्त्व बुझ्छौं जुन पाकिस्तानी–भारतीय विश्वव्यापी सम्पदाको हिस्सा हो । हाम्रा धेरै साहित्य, कविता, कला र दर्शन वैदिक युगसँग जोडिन्छन् । वेदहरू यही क्षेत्रमा लेखिएको धेरै इतिहासकारहरू मान्छन् । त्यसैले शास्त्रीय ग्रन्थहरूलाई तिनको मूल भाषामै पढ्नु झन् महत्त्वपूर्ण हुन्छ ।’
राजनीतिक संवेदनशीलताका बाबजुद दुवै विद्वानहरू बौद्धिक वातावरण परिवर्तन भइरहेको मान्छन् । डा रशिद आफ्नो भाषा अध्ययनबारे मानिसहरूको जिज्ञासाको सामना गर्छन् ।
‘म किन संस्कृत सिक्दैछु भनी मानिसहरू मलाई सोध्छन् । म उनीहरूलाई भन्छु, हामीले किन नसिक्ने ? यो सम्पूर्ण क्षेत्रलाई जोड्ने भाषा हो । संस्कृत वैयाकरण पाणिनिको गाउँ यही क्षेत्रमा थियो । सिन्धु घाटीको सभ्यताको समयमा धेरै लेखन कार्य यहीँ भएको थियो । संस्कृत एउटा पहाड जस्तै हो, एक सांस्कृतिक स्मारक । हामीले यसको अपनत्व लिनुपर्छ । यो हाम्रो पनि हो । यो कुनै एक विशेष धर्मसँग मात्र बाँधिएको छैन ।’
‘हामी मानिसहरू नजिक आउन् भन्ने चाहन्छौं भने हाम्रा समृद्ध शास्त्रीय परम्पराहरूलाई बुझ्न र आत्मसात गर्न आवश्यक छ । कल्पना गर्नुहोस्, भारतमा धेरै हिन्दू र सिखहरूले अरबी सिक्न थाले र पाकिस्तानमा धेरै मुस्लिमहरूले संस्कृत पढ्न थाले भने यो दक्षिण एसियाका लागि एक नयाँ आशाजनक सुरुवात हुन सक्छ जहाँ भाषाहरू अवरोधको सट्टा पुल बन्न सक्छन्,’ डा रशिद निष्कर्षमा भन्छन् ।







प्रतिक्रिया